साप्ताहिक संवाददाता
कान्छो छोरो
न्वारनको नाम हिजोआज विवाह गर्दा पनि चाहिँदैन । नागरिकता बनाउँदा पनि चाहिंदैन भने तपाईंलाई किन चाहियो, मैले बुझ्न सकिनँ । आजकाल न्वारनको नाम चाहिने भनेको न्वारनलाई नै हो । न्वारनलाई थाहा छ, बस यत्ति भए भैगो नि ।
आफ्नो डायलग फेर्नुपर्छ जस्तो लाग्दैन ? सधैं एउटै डायलग भन्दा-भन्दा वाक्क भइएन ?
राजेश ढकाल
मलाई मात्र लागेर हुँदैन । तपाईंहरूजस्ता दर्शकलाई त्यस्तो लाग्छ भने डायलग मात्र होइन, सबै कुरा फेर्न तयार छु । एउटै नामको सिरियल र एउटै नामको पात्र लामो समयसम्म निरन्तर आइरहेकाले त्यस्तो लाग्नु स्वाभाविक हो । अब आइन्दा तपाईंहरूको चाहनालाई मध्यनजर गरेर अघि बढ्नेछु ।
आर्थिक हिसाबले कलाक्षेत्रमा मात्र निर्भर रहनु कत्तिको उचित हुन्छ ? कि अरू काम पनि गर्नुहुन्छ ?
द्रोण आचार्य
कलाकार मात्र भएर अझै पनि आत्मनिर्भर हुने अवस्था छैन । लेखक, निर्देशक, निर्माता वा कार्यक्रम प्रस्तोता बन्न जरुरी छ । त्यसबाहेक म अहिले बाख्रापालनमा पनि आबद्ध छु । सिन्धुपाल्चोकमा हाम्रो सुनकोसी कृषि र्फम पनि छ ।
तपाईंको मासिक आम्दानी कति छ ? अनि भविष्यको कुनै विशेष योजना ?
अद्भुत शक्ति
मेरो मासिक आम्दानी यत्ति नै भन्ने छैन । कार्यक्रअनुसार हुन्छ । कुनै महिना राम्रो भए कुनै महिना ठण्डाराम हुन्छ । भविष्यको खासै ठूलो योजना छैन । काम गर्दै जाने, दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्दै जाने ।
जीरे खुर्सानी अब कहिले हेर्न पाइन्छ ?
दीपक गैरे
अबको १/२ हप्तामा हेर्न पाइन्छ कि ! पहल भैरहेको छ, प्रक्रियामा पनि गएको छ, अब चाँडै नै टुंगो लाग्ला, प्रतीक्षा गरौं ।
तपाईंको जस्तै मुन्द्रा सबैले लगाए भने नेपाल कस्तो हुन्छ ?
दुर्गा काफ्ले
नेपाल मुन्द्रेहरूको देश हुन्छ । नेपालमा मुन्द्राको व्यापार फस्टाउँछ । सबैका कान धनी हुन्छन् ।