साप्ताहिक संवाददाता
प्रियंका कार्की
आवरण, पुन्टे परेड, मेरो बेस्ट फ्रेण्ड, सुन्तली, माला, षडङ्ग, नाइँ नभन्नु ल-३
चलचित्रमा अभिनयले मात्र होइन, चर्चा र विवादले समेत नायिका प्रियंका कार्की यो वर्ष सर्वाधिक चर्चामा रहिन् । त्यसो त उनी नायिका रहेका अधिकांश चलचित्र व्यावसायिक रूपमा असफल सावित भए । आवरणदेखि षडङ्गसम्ममा उनको अभिनय र नृत्यको प्रशंसा गरिएपनि ती चलचित्रमा दर्शकले चासो दिएनन् । चलचित्र नचल्दासमेत प्रियंका मिडियामा छाइरहिन् । हँसिया, मिसन पैसा रिलोडेड जस्ता चलचित्रमा पनि अतिथि कलाकारका रूपमा नाच्न भ्याएकी प्रियंकाका ती चलचित्र पनि चलेनन् । आज -चैत २७, २०७१)मा प्रदर्शन हुने उनको अर्को चलचित्र 'नाइँ नभन्नु ल-३' बाट निकै आशा गरिएको छ किनभने यसअघि उक्त चलचित्रको अघिल्लो श्रृंखलामा पनि उनी थिइन् र उक्त चलचित्र सुपरहिट भएको थियो । हेर्नु छ- 'नाइँ नभन्नु ल-२' जसरी 'नाइँ नभन्नु ल-३'ले पनि प्रियंकाको करियर अघि बढाउन मदत गर्छ कि ?
रेखा थापा
तथास्तु, दमदार, हिम्मतवाली
रेखा थापाले मुख्य भूमिका निर्वाह गरेको चलचित्रमा नायकहरू समेत ओझेलमा पर्छन । रेखा एक्लै चलचित्र हाँक्न सक्ने खुबी बोकेकी नायिका हुन् । पर्दामा बाहेक पर्दा बाहिर पनि उनका हरेक गतिविधिले सञ्चार माध्यमहरूमा स्थान पाउने गरेका छन् । त्यसो त रेखा चर्चामा आउने गतिविधिका लागि खप्पिस मानिन्छिन् । यद्यपिवर्ष २०७१ भने उनले सोचे जस्तो भएन । अघिल्लावर्षको तुलनामा यो वर्ष उनको आफ्नै निर्माण एवं निर्देशनको चलचित्र 'हिम्मतवाली'ले आशातीत व्यापार गरे पनि रेखाले अभिनय गरेका अरु चलचित्रले उत्साहप्रद व्यवसाय गर्न सकेनन् । अब फेरि उनी आफ्नै लगानीमा अर्को चलचित्र निर्माण गर्दैछिन् । वर्ष २०७२ रेखाका लागि उनले चाहे जस्तो हुन्छ कि ?
केकी अधिकारी
श्री ५ अम्बरे, माई प्रमिस, पुनर्जन्म
ठिक्कको कद, हल्का कालो वर्ण भएर पनि हँसिली नायिका केकी अधिकारी नृत्य एवं अभिनय दुवैमा पोख्त छिन् । यसैले पनि उनको माग निरन्तर छ । चलचित्र प्रदर्शनका हिसाबले वर्ष २०७१ भने केकीका लागि फापेन । वर्षभरि व्यस्त भए पनि प्रदर्शनमा आएका चलचित्रले दर्शक नपाउँदा नायिका अधिकारी खिन्न हुनु स्वाभाविक हो, तर चलचित्र नचलेपनि केकीको अभिनयको प्रशंसा हुने गरेकाले उनी वर्षभरि नै चर्चामा रहिन् ।
निशा अधिकारी
आभाष, मेरो भ्यालेन्टाइन, मुखौटा, भीमदत्त, मिसन पैसा रिलोडेड
क्रिकेटर शरद भेषवाकरसँगको सामीप्यतादेखि फेसबुक स्ट्याटसका कारण पनि वर्ष २०७१मा समाचार एवं गसिपहरूमा छाएकी निशा अधिकारीले यो वर्ष अभिनय गरेका चलचित्र व्यवसायिक रूपमा असफल भए । सामान्यतया: चलचित्र नचलेपछि नायिकाको करियर पनि ओरालो लाग्नुपर्ने हो, तर नेपाली चलचित्रमा त्यस्तो हुँदैन । यसैले गर्दा पनि निशा आगामी वर्षका लागि समेत व्यस्त छिन् । लभस्टोरीकी लभर गर्लदेखि एक्सन चलचित्रकी एक्सन लेडीसम्मको भूमिकामा देखिए पनि सफलताको स्वाद चाख्न नपाएकी सुन्दर मुहारकी धनी यी नायिकाले वर्ष ०७२मा के पो गर्ने हुन् ?
श्वेता खड्का
कोहिनुर
श्वेता खड्कामाथि यो वर्ष बज्रपात नै पर्यो । विवाह भएको एक महिना नबित्दै नायक श्रीकृष्ण श्रेष्ठको निधनले मर्माहत श्वेता नायक स्व. श्रेष्ठको अन्तिम चलचित्र 'कोहिनुर'की नायिका हुन् । नायक श्रेष्ठको निधनपछि एकाएक दर्शकको रोजाइमा परेको चलचित्र 'कोहिनुर' वर्षभरिकै सबैभन्दा बढी आय-आर्जन गर्न सफल चलचित्र सावित भयो । नेपाली चलचित्रको इतिहासमै सर्वाधिक कमाउने चलचित्रका रूपमा कीर्तिमान राखेको 'कोहिनुर'की मुख्य नायिका श्वेताले अब भविष्यमा चलचित्रलाई नै आफ्नो कर्मक्षेत्र बनाउँछिन् कि बनाउँदिनन्, प्रतिक्षाकै विषय भएको छ ।
नम्रता श्रेष्ठ
नोभेम्बर रेन, ताण्डव, सम्बोधन, सोल सिस्टर्स
गतवर्ष अलिक व्यस्त नै रहिन्, नायिका नम्रता श्रेष्ठ । उनका चलचित्र पनि केही महिनाको अन्तरालमा आइरहे भने उनी आफैले पनि चलचित्र बनाइन् । गीत गाउने, रेस्टुराँ व्यवसायलाई परिस्कृत गर्नेमात्र नभै व्यस्तताका कारण स्वास्थ्य समस्या देखिएर अस्पतालसमेत भर्ना हुनुपर्यो उनले । वर्षको पूर्वार्धमा प्रदर्शित चलचित्र नोभेम्बर रेनले सफलताको स्वाद चखाए पनि अरू चलचित्रमा उनको भूमिका राम्रो हुँदाहुँदै पनि ती सबै असफल भए । नम्रताले आफंै निर्माण गरेको चलचित्र सोल सिस्टर्सले पनि दर्शक पाउन सकेन् ।
नीता ढुंगाना
भुलभुलैया
गत वर्षको सुपरहिट 'छ एकान छ'की नायिका निता ढुंगानाले उक्त चलचित्रको सफलतासँग आफ्नो सफलता जोडन सकिनन् । 'छ एकान छ'का निर्देशक दिनेश डिसीले उनलाई आफ्नो होम प्रोडक्सन 'फूलै फूलको मौसम तिमीलाई'मा लिए । निता उक्त चलचित्रका नवनायक आमेश भण्डारीसँग यति नजिक हुन पुगिन कि उनले भण्डारीसँग विवाह गर्ने निधो नै गरिसकेकी छिन् । हाल आमेशसँगको प्रेमसम्बन्धका कारण पनि चर्चामा रहेकी नीताको करियर यो वर्षको उत्तरार्धमा प्रदर्शित चलचित्र 'भुलभुलैया'ले केही हदसम्म जोगाएको छ ।
ऋचा शर्मा
टलकजङ् भर्सेज टुल्के, जिन्दगी रक्स
हक्की स्वभावकी ऋचा शर्मा फरक धारका चलचित्रमा बढी देखिन्छिन् । अभिनयमा अब्बल ऋचा 'लुट'बाट चर्चा कमाएका निर्देशक निश्चल बस्नेतको दोस्रो चलचित्र 'टलकजङ् भर्सेज टुल्के'मा मुख्य अभिनेत्रीका रूपमा देखा परिन् । उक्त चलचित्रमा उनको अभिनयलाई धेरैले स्वभाविक माने । त्यसपछि उनी चलचित्र 'जिन्दगी रक्स' मा विशेष भूमिकामा देखा परिन् । 'मिडिया फ्रेण्डली' ऋचाको अभिनयका साथै विनय श्रेष्ठसंगको ब्रेकअप र निश्चलसँगको गसिपका कारण पनि यो वर्ष चर्चामा रहिन् ।
गरिमा पन्त
ठूली, रंग बैजनी
गएको वर्ष चलचित्र 'झोला'बाट प्रशंसा एवं सम्मान बटुलेकी गरिमा पन्त यो वर्ष सेलाइन् । धेरै वर्षपछि निर्देशनमा उत्रिएका पुराना निर्देशक शम्भु प्रधानको चलचित्र 'रंग बैजनी'मा मुख्य भूमिकामा देखिए पनि उक्त चलचित्रले दर्शकको माया पाउन सकेन । पन्त त्यसपछि चलचित्र 'ठूली' को शीर्ष भूमिकामा देखा परिन् । उक्त चलचित्रको गीत निकै घन्कियो, तर चलचित्रले राम्रो व्यवसाय गर्न नसक्दा गरिमाले यो वर्ष त्यतिमै चित्त बुझाउनु परेको छ ।
मेनुका प्रधान
झिग्राना, उत्सव, टलकजङ् भर्सेज टुल्के
फरक धारका चलचित्रमा बढी देखिने नायिका मेनुका प्रधानलाई प्राय: डरलाग्दा र तर्साउने चलचित्रमा लिइन्छ । 'एकदिन एकरात', 'भिजिलान्ते' पछि यो वर्ष पनि उनी त्यस्तै चलचित्र 'झिग्राना'मा देखिइन् । धेरैले उनको अभिनयको प्रशंसा पनि गरेका छन् । चलचित्र 'उत्सव'मा उनको कामको प्रशंसा भयो । प्रधानमा नृत्यमा पनि विशेषगरी आइटम डान्स गर्न सक्ने खुबी छ । चलचित्र 'टलकजङ् भर्सेज टुल्के'मा मेनुकाले गरेको नृत्य देखेर नायक निखिल उप्रेतीले आफ्नो निर्देशनको चलचित्र 'भैरव' मा पनि उनलाई आइटम डान्स गराएका छन् । मेनुकालाई यो वर्ष चलचित्र 'रेशम फिलिली'मा पनि देख्न सकिनेछ । उनी यो चलचित्रकी मुख्य नायिका हुन् ।
वर्षका दस चर्चित अभिनेता
नेपालमा 'स्टारडम' घट्दै गएको छ । कुनै बेला नायक तथा नायिकाको नाममा चलचित्र हेर्न दर्शक ओइरिन्थे । अहिलेका चर्चित अनुहार हुँदा पनि दर्शक पाउन गाह्रो छ । कुनै बेला पोस्टरमा टाउको राखेको भरमा चलचित्रलाई हिट तथा सुपरहिट बनाउने खुबी भएका राजेश हमाल, भुवन केसी, दिलीप रायमाझी, शिव श्रेष्ठजस्ता नायकका चलचित्रलाई अहिले आएर 'फ्लप'को ट्याग भिराउनुपर्ने अवस्था छ । दर्शकहरूमा चलचित्र हेर्ने रुची घटेको हो वा कलाकारहरूले आफ्नो ख्याति सम्हाल्न नसकेको हो, खोजीकै विषय हुनसक्छ । यो वर्ष चलचित्र 'हिट' भएर भन्दा पनि सञ्चार माध्यमहरूमा चर्चा कमाएका एवं वर्षभरि व्यस्त केही अभिनेता:
दयाहाङ् राई
कबड्डी, मुखौटा, नागबेली, टलकजंग भर्सेज टुल्के, सम्बोधन
नेपाली चलचित्रमा मंगोलियन अनुहारका नायकले ख्याति कमाउन सक्दैनन् भन्ने पुरानो तर्कको गतिलो जवाफ बनेर आएका छन्— दयाहाङ राई । मनोज पण्डितको चलचित्र 'दासढुंगा'मा अमर लामाको चरित्र निर्वाह गरेर चलचित्र क्षेत्रको यात्रा थालेका रंगकर्मी दयाहाङ्लाई सुपरडुपर हिट चलचित्र 'लुट'मा गरेको गोफ्लेको भुमिकाले व्यस्त बनायो । आफुलाई नायकभन्दा पनि अभिनेता भन्न रुचाउने राईको उचाइ यो वर्षको सफल चलचित्र 'कबड्डी'मा निर्वाह गरेको नायक वीरकाजीको भूमिकाले अझ बढाएको छ । त्यसबाहेक मुखौटामा भ्रष्ट प्रहरी, नागबेलीमा सहयोगी आप्रवासी, टलकजंग भर्सेज टुल्केमा गुण्डाका नाइके तथा सम्बोधनमा केन्दि्रय अनुसन्धान ब्युरोका अधिकृतको भूमिकामा दर्शकले निकै रुचाएका छन् ।
आर्यन सिग्देल
नोभेम्बर रेन, लज्जा, नाइके, अलविदा, माला, पुनर्जन्म, नाइँ नभन्नु ल-३
आज चैत २७ गते देशभर प्रदर्शनमा आउने चलचित्र 'नाइँ नभन्नु ल-३' लाई प्रदर्शन अगावै आर्यन सिग्देलको यो वर्षको तेस्रो सफल चलचित्र मानिँदैछ । वर्षको पूर्वार्धमा फरक खालको प्रेमकथामा निर्माण भएको चलचित्र 'नोभेम्बर रेन'को सफलताले उनको चर्चा बढायो । छवीराज प्रोडक्सनको 'लज्जा'ले पनि उनको प्रतिष्ठा जोगायो, तर यही वर्ष आएका नाइके,अलविदा र मालाले सफलताको स्वाद नचाख्दा अब आर्यनकादिन गए भन्ने कुरा पनि सुनिए । चलचित्र 'स्टारडम'ले होइन, प्रस्तुतिले चल्छ भन्ने कुरा आर्यनको हकमा पनि लागू हुन्छ । त्यसको उदाहरण भएर आयो— 'पुनर्जन्म', जसले आर्यनको करियरलाई ठूलो राहत दियो । 'माला'मा उनको अभिनय धेरैले मनपराए, तर चलचित्र अनुमान विपरित चलेन । अब उनलाई 'नाइँ नभन्नु ल-३'कै भर छ ।
अनमोल केसी
जेरी
कुनै बेला भुवन केसीको नामैले चलचित्र चल्थ्यो र सफलताको कीर्तिमान राख्थ्यो । बाबुको त्यो गुण छोरा अनमोल केसीमा पनि छ भन्ने प्रमाणित भयो । सदाबहार बाबुका चकलेटी छोरा अनमोलको पहिलो चलचित्र 'होस्टेल' सफल भएपछि दोस्रो चलचित्र 'जेरी'ले पनि सफलताको झन्डा गाढ्यो । अनमोल युवा-युवतीबीच बढी चर्चित भए । आफ्नो ठूलो सफलताका बाबजुद अनमोल भने छानेर मात्र चलचित्रमा अभिनय गर्ने मुडमा छन् । नेपाली चलचित्रमा नयाँ अनुहारहरू देखा पर्ने क्रम बढिरहेको छ जुन सूचीमा अनमोल नै सबैभन्दा अगाडि छन् । आगामी वर्ष उनी बाबु भुवन केसीद्वारा निर्देशित चलचित्रमा देखा पर्दैछन् ।
सौगात मल्ल
मुखौटा, उत्सव, श्री ५ अम्बरे, षडङ्ग
समकर्मीहरू भन्छन्-'सौगात चरित्रमा डुबेर अभिनय गर्छन ।' उत्कृष्ट अभिनय गर्ने सौगात मल्ल पछिल्ला नायकहरूमध्ये व्यस्तको सूचीमा पर्छन । अभिनयकै लागि जन्मिएको बताइए पनि उनले अभिनय गरेका चलचित्र एकपछि अर्को गर्दै असफल भैरहेका छन्, तर त्यसको विपरित सौगातको चर्चा एवं व्यस्तता दिनानुदिन बढ्दो छ । यद्यपि 'लुट'को हाकुकालेको उनको छवि कायमै छ । हाकुकाले जस्तो चर्चित चरित्रमा उनी दोहोरिन सकेका छैनन् । यो वर्ष पनि सौगातले मुख्य भूमिका निर्वाह गरेकाचलचित्रले चर्चा पाए पनि सफलता पाएनन् । हेरौं आगामी वर्ष केही हुन्छ कि ?
जीवन लुइँटेल
शिशा, ठूली, स्टुपिड मन, भुलभुलैया
एकवर्षअघि जीवन लुइँटेलका हरेक जसो चलचित्रले सफलताको स्वाद चाखेका थिए । यो वर्ष भने जीवनको चर्चा सञ्चार माध्यमहरूमा जति भयो, चलचित्रमा उनको उपस्थिति त्यति जम्न सकेन । प्रदर्शनमा आएका चलचित्रहरू मध्ये गत साता प्रदर्शित 'भुलभुलैया'ले केही सफलता पाए पनि यो वर्ष आएका बाँकी चलचित्रले संख्या थप्ने काम मात्र गरे । 'भुलभुलैया'को प्रदर्शनका लागि अमेरिका पुगेका जीवनले उतै बस्ने निधो पनि गरिसकेका छन् । अन्य कलाकारहरूले झैं जीवनले पनि अमेरिकामा बसोबास गर्न ग्रीन कार्ड लिने प्रयास गरिरहेको बताइन्छ ।
सुवास थापा
सरी ल, बिर्खेलाई चिन्छस्, तथास्तु, रंगमञ्चबाट चलचित्रमा आएका मध्ये केहीले मात्र चर्चा पाएका छन् । ती मध्ये एक हुन्— सुवास थापा । आलोक नेम्बाङ्को चलचित्र 'कोही मेरो'बाट चलचित्रको पर्दामा उदाएका सुवासका चारवटा चलचित्र प्रदर्शनमा आए । आफ्नै लगानीमा बनेको चलचित्र 'बिर्खेलाई चिन्छस्' लगायत तीनवटै चलचित्रले सामान्य व्यवसाय मात्र गरे । यद्यपि अभिनयमा दख्खल भएका सुवासको चर्चा भने वर्षैभरिनै भैरह्यो ।
गजित विष्ट
लभ यु बाबा, पुनर्जन्म
नायक गजित बिष्ट यो वर्ष अभिनयका कारणले भन्दा छोरा सौगात विष्टका कारण चर्चामा रहे । नृत्य, द्वन्द्व, अभिनय सबै कलामा पोख्त यी अभिनेताका ८ वषर्ीय छोरा सौगातले निर्देशन गरेको चलचित्र 'लभ यू बाबा'मा गजित नै मुख्य भूमिकामा थिए । होम प्रोडक्सनको उक्त चलचित्रपछि सौगात गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा संसारकै सबैभन्दा कान्छा निर्देशकका रूपमा दर्ता भए । त्यसबाहेक गजितलाई नायक आर्यन सिग्देलसँग चलचित्र 'पुनर्जन्म'मा निकै रुचाइयो । उक्त चलचित्रमा सैनिकका रूपमा उनले गरेको अभिनयको निकै प्रशंसा भयो । अगामी वर्ष प्रदर्शन हुने चलचित्रले सफलता पाए गजित लामो रेसको घोडा सावित हुन सक्छन् ।
किशोर खतिवडा
पिपल, तथास्तु, हवल्दार सुन्तली
रेखा थापा र छवी ओझाको खोज नायक किशोर खतिवडा एक्सन भूमिकाका लागि नै बनेकाहुन् भन्न सकिन्छ । आफूभन्दा अग्रज अभिनेत्री अरुणिमा लम्सालसँग 'पिपल' र रेखा थापासँग 'तथास्तु'मा उनको अभिनय रुचाइए पनि ती दुबै चलचित्रले चाहे जस्तो व्यवसाय गर्न सकेनन् । यद्यपि आज प्रदर्शनमा आउने छवी ओझाको चलचित्र 'हवल्दार सुन्तली'को प्रदर्शन अगावैको चर्चाले किशोरलाई फाइदा पुर्याएको छ । यो चलचित्र सफल भयो भने किशोरको उडानले अझ उचाइ लिने विश्वास गर्न सकिन्छ ।
बाबु बोगटी
हमजाएगा, मेरो भ्यालेन्टाइन
मुलत: गायक हुन् बाबु बोगटी, तर उनमा अभिनय गर्ने रहर पहिलेदेखि नै थियो । बाबु यो वर्ष दुई चलचित्र 'हम जाएगा' र 'मेरो भ्यालेन्टाइन' मा देखा परे । यी दुवै चलचित्र व्यवसायिक रूपमा असफल रहे । यद्यपि बाबुको चर्चा कम भएन । गायनमा भन्दा अभिनयमा सक्रिय रहेकाले उनको करियर अभिनयतिरै मोडिएको अनुमान गरिन्छ ।
गौरव पहारी
उत्सव, सम्बोधन (बिशेष भुमिका)
'मञ्जरी'मा राम्रो अभिनय गरेपछि गौरवलाई सबैले मन पराए । उक्त चलचित्रमा सोझो केटोको भुमिका निर्वाह गरेकाले उनलाई त्यस्तै खालको भूमिकामा प्रस्तुत गरिँदै आएको छ । 'मञ्जरी'पछि 'होस्टेल'मा पनि उनी सोझो केटोकै रूपमा देखा परे। यद्यपि यो वर्षको चलचित्र 'उत्सव'मा भने उनले फरक भुमिका निर्वाह गरेका छन् । वर्ष ०७२मा प्रदर्शन हुने 'अधकट्टी' र 'रातोघर'ले गौरवको करियरलाई नयाँ गति दिने अनुमान गर्न सकिन्छ ।