साप्ताहिक संवाददाता
ह्यातमा नमस्ते कन्सर्ट
नयाँ वर्षलाई स्वागत गर्न नमस्ते इन्टरटेन्मेन्टले चैत ३० सोमबार साँझ ह्यात होटलको चौरमा 'नमस्ते कन्सर्ट' शीर्षकको कार्यक्रम आयोजित गर्दैछ । कार्यक्रममा गीत-संगीत प्रस्तुत गर्न इन्डियन आइडल-४ का उपविजेता कपिल थापा काठमाडौं आउँदैछन् । उक्त अवसरमा गायक एडि्रयन प्रधान, एपि शेर्पा, मिङ्स लामा, गायिका मौसमी गुरुङ, मञ्जु पौडेलले पनि गीत-संगीत प्रस्तुत गर्नेछन् । मध्यरातसम्म सञ्चालन हुने कार्यक्रमको उत्तरार्द्धमा डिजे तेन्जिङले उपस्थित दर्शकहरूलाई नचाउनेछन् ।
ढकाल सुमधुर साँझ
न्यू इयर इभकै दिन सोमबार साँझ ललितपुरको भैंसेपाटीस्थित विनायक कोलनीमा गायक रामकृष्ण ढकालको एकल गायन कार्यक्रम हुने भएको छ । ढकाल सुमधुर साँझ शीर्षकको उक्त कार्यक्रममा गायक ढकाललाई गायिका रिमा गुरुङले साथ दिनेछिन् । कार्यक्रममा दीपकराज गिरीको हास्य प्रस्तुति पनि रहनेछ ।
चितवनमा कन्सर्ट
नयाँ वर्षलाई स्वागत गर्न चितवनको भरतपुर क्यान्सर अस्पतालको अडिटोरियमा शुभकामना साँझ शीर्षकको कार्यक्रम आयोजना हुँदैछ । भोलि शनिबार साँझ सम्पन्न हुने उक्त कार्यक्रममा गायक रामकृष्ण ढकाल, दीपक लिम्बू तथा गायिका मल्लिका कार्कीले आफ्ना लोकप्रिय गीत-संगीत प्रस्तुत गर्नेछन् । गायक रामकृष्ण ढकाल नयाँ वर्षको पहिलो दिन पाँचथरमा आयोजना हुने एउटा सांगीतिक कार्यक्रममा पनि सहभागी हुनेछन् ।
रिदम नाइट्स
नयाँ वर्ष-२०७२ को पूर्वसन्ध्यामा काठमाडौंको होटल र्याडिसनमा रिदम नाइट्स शीर्षकको कार्यक्रम हुँदैछ । बेटर ग्यालेक्सीले व्यवस्थापन गर्ने यो कार्यक्रममा गायक नविन के भट्टराई आफ्नो लाईभ ब्यान्डसहित प्रस्तुत हुनेछन् । कार्यक्रममा सांगीतिक समूह अतृप्तसहित गायिका शशि रावल तथा सुमन गुरुङले पनि आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्नेछन् । बेटर ग्यालेक्सीका मोडलहरूले फेसन शोसमेत प्रस्तुत गर्ने उक्त कार्यक्रममा 'भद्रगोल' श्रृंखलाका बले र कक्रोजले हास्यप्रस्तुति दिनेछन् । साँझ ६ बजे प्रारम्भ भएर राति २ बजे टुंगिने यो कार्यक्रमको उत्तरार्द्धमा डिजे रेले दर्शकहरूलाई नचाउनेछन् ।
अमेरिकामा धमाका
नयाँ वर्षको स्वागत गर्न अमेरिका पुगेका आधादर्जन कलाकारले 'नयाँ वर्ष धमाका-२०७२' शीर्षकको कार्यक्रममा सहभागिता जनाइरहेका छन् । नयाँ वर्ष आउनु एक साताअघिदेखि नै अमेरिकाका विभिन्न सहरमा प्रस्तुत भैरहेका गायक प्रमोद खरेल, लोक गायक पशुपति शर्मा, लोक गायिका संगीता थापा मगरको साथमा हास्य जोडी सीताराम कट्टेल धुर्मुस तथा कुञ्जना घिमिरे सुन्तलीले दर्शकहरूलाई पर्याप्त मनोरञ्जन प्रदान गरिरहेका छन् । न्यू इयर इभको दिन भने उनीहरूले बोस्टनमा बसोबास गर्ने नेपालीहरूसंगै नयाँ वर्षको स्वागत गर्नेछन् ।
रसियामा सांस्कृतिक साँझ
नयाँ वर्ष-२०७२ लाई स्वागत गर्ने क्रममा गायक हेमन्त शर्मा रुस पुग्दैछन् । एनआरएन रसियाले आयोजना गर्ने 'नव वर्ष २०७२ सांस्कृतिक साँझ' मा गायक शर्माले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्नेछन् ।
दिल्लीमा न्यू इयर फेस्ट
भारतको नयाँ दिल्लीमा अध्ययनरत नेपाली विद्यार्थीहरूको संस्था हातेमालो नेपाली स्टुडेन्ट्स ग्रुपले नयाँ वर्ष-२०७२ लाई स्वागत गर्न पर्सि आइतबार भारतको नयाँ दिल्लीमा 'हातेमालो प्राइम सिए न्यू इयर फेस्ट' शीर्षकको कार्यक्रम आयोजित गर्दैछ । उक्त कार्यक्रममा गायिका इन्दिरा जोशी, गायक कमल खत्री, सञ्जय चौधरी, सांगीतिक समूह इथोसका साथमा हास्य कलाकार जितु नेपालले समेत प्रस्तुति दिनेछन् । कार्यक्रम लक्ष्मीनगरको लभ्ली पब्लिक स्कुलमा सम्पन्न हुनेछ ।
बोस्टनमा नीमा रुम्बा
पप गायक नीमा रुम्बाले भने अमेरिकाको बोस्टनमा हुने एउटा कार्यक्रममार्फत नयाँ वर्षलाई स्वागत गर्नेछन् । हाल अमेरिकामा रहेका गायक रुम्बाले वैशाख १ गते बोस्टनमा सम्पन्न हुने 'नेपाली न्यू इयर-२०७२' शीर्षकको उक्त कार्यक्रममा स्थानीय गायक-गायिका तथा डिजेहरूको समेत सहभागिता रहनेछ ।
कतारमा मिलन
लोक गायक मिलन लामाले नयाँ वर्ष-२०७२ को अवसरमा कतारमा आयोजना हुने सांगीतिक कार्यक्रममा सहभागिता जनाउँदैछन् । कतारको कार्यक्रममा सहभागिता जनाएपछि गायक लामा स्विट्जरल्यान्डको जुरिचमा हुने नयाँ वर्ष विशेष कार्यक्रममा प्रस्तुत हुनेछन् ।
क्यानाडा पुगिन् देविका
नयाँ वर्षको अवसर पारेर गायिका देविका केसी क्यानाडा पुगेकी छिन् । एकल र सामूहिक सांस्कृतिक कार्यक्रममा प्रस्तुति दिन क्यानाडा गएको गायिका केसीले बताएकी छिन् । नेपाली नयाँ वर्ष सेलिब्रेसन इभेन्टमा आफ्ना लोकप्रिय गीतहरू गाएर क्यानाडा टुर सुरु गर्ने देविकाको भनाइ छ । देविकाका अनुसार उनले यसपटक करिब १ दर्जन कार्यक्रममा सहभागिता जनाउनेछिन् । क्यानाडा टुर पछि नेपाल आएर कतार हुँदै अमेरिका टुरको कार्यक्रम निश्चित भैसकेको देविकाले बताइन् ।