साप्ताहिक संवाददाता
वैशाख ६, २०७२
बेटर ग्योलक्सी इन्टरटेनमेन्ट तथा फेम नेपालको व्यवस्थापनमा नयाँ वर्षको स्वागतमा अघि बढेको साँझलाई सांगीतिक समूह थर्ड च्याप्टरले प्रारम्भ गरेको थियो भने स्टेज प्रस्तुतिलाई पूर्णविराम दिने कार्य सांगीतिक समूह अतृप्त एवं गायक नवीन के भट्टराईले आफ्ना चर्चित गीतहरूमार्फत गरेका थिए । यसबीच गायिकाद्वय सुमन गुरुङ र शशि रावलको प्रस्तुति थियो । ग्रुप वन क्रिएसनको आकर्षक नृत्यका साथै रोमा न्यौपाने र सुमन सागर जंग केसीको युगल नृत्यले कार्यक्रममा बेग्लै स्वाद थपेको थियो । कार्यक्रममा हास्यरस सञ्चार गर्ने कार्य महादेव त्रिपाठीले गरेका थिए भने टेलिश्रृङ्खला भद्रगोलका कक्रोच र बलेको जोडीले त्यसलाई निरन्तरता दिएका थिए । कार्यक्रमको अन्त्यमा डिज रे, डिजे नेवा: , डिजे चन्टे आदिले न्यू इयर इभ मनाउने डान्स पारखीहरूलाई साथ दिएका थिए ।