साप्ताहिक संवाददाता
ती घर हेर्दै एउटा गल्लीभित्रको ढलेको घरनजिक पुगें । पुरानो त्रिपाल टाँगेर बसेको एउटा परिवार खाना बनाउन व्यस्त थियो । घरले धेरै भाँडाकुँडा पुरिएका कारण एउटै भाँडोमा तरकारी, भात र अचार बनाइदै थियो ।
‘घर ढल्यो, के गर्नुहुन्छ ? मैले कुराकानी सुरु गरें ।
‘नयाँ बनाउनुपर्ला,’ घरधनीले उत्तर दिए ।
‘कसरी बनाउनुहुन्छ ?’ घरको अवस्था हेरेर गरिबीको अनुमान लगाउँदै मैले सोधें ।
‘अलिकति जग्गा छ, आधा रोपनीजति बेचेर बनाउनुपर्ला ।’ उनले स्वाभिमानपूवर्क भनें ।
‘सरकारसँग केही आशा वा कुनै गुनासो छ कि ?’
‘सरकारले भूकम्प ल्याएको हो र ? के–को गुनासो ?’
त्यत्रो ठूलो घर ढलेको थियो, आफंैले पहिल्यै किनेर राखिएको पुरानो त्रिपालको अस्थायी घर बनेको थियो । तैपनि उनी दु:खी थिएनन् । बरु भन्दै थिए, सबैलाई दु:ख परेको छ । आशृ भएर के हुन्छ र ?’ मलाई उनको कुराले साह्रै छोयो । कार्यालय फर्केर साथीभाइलाई सुनाएँ । साथीहरू पनि यस्तो स्वाभिमानी कुरा गर्ने किसानबाट धेरै कुरा सिक्न सकिने बताउँदै थिए ।
करिब एक सातापछि म काम विशेषले फेरि भक्तपुर पुगेको थिएँ । त्यहाँ पुग्दा त्यो स्वाभिमानी परिवारलाई नभेटी फर्कन मन लागेन । म त्यो गल्लीभित्र छिरें । देखें, खाना पकाउन उनको परिवारले नयाँ कुकर र केही थाल पाएछन् । पुरानो त्रिपालको सट्टा नयाँ पाल आएछ । खुसी लाग्यो ।
घरमुली त्यहाँ थिएनन् । एकछिन पर्खिएपछि छोरीलाई माया लागेछ क्यारे । बुवालाई बोलाउन गइन् । डोरीले घरबेटीलाई डोहोर्याउँदै ल्याएपछि मैले नमस्कार गरें । सञ्चोविसञ्चो सोधें । त्यसपछि आफ्ना कुरा अघि बढाएँ ।
‘सहयोग पाउनुभएछ– बधाई छ । सरकारलाई केही भन्न मन लागेको छ ?’
‘सरकारले सहयोग दिएको हो र ?’ पहिलो प्रश्न नै अरुची लागेजस्तै गरेर भने, ‘यी नेताहरूको मुख पनि देख्न पाएको छैन । भेटें भने कुट्न मन लागेको छ ।’ यसो भन्दा उनले अनुहार रातोपीरो भएको थियो । यी नेताहरुको केही काम छैन । सबै सत्तामा मात्र ध्यान दिन्छन् । हामीलाई हेर्न आएकै छैनन् ।’ उनी निकैबेरसम्म नेतालाई गाली गरिरहें ।
एक साताअघिको उनको स्वाभिमान, दाताले दिएको कुकर, अन्य भाँडाकुँडा र पालसँगै खरानी भएछ । लाग्यो, दाताले केही सामग्रीसँगै सोझा जनतामा राजनीतिप्रति घृणा पनि रोपेर गएछन् ।