असार ४, २०७२
उर्लाबारी
वैशाख २ गते प्रारम्भ भएको जात्री पर्व धिमाल जातिले वैशाखदेखि असारसम्मका दुई महिना ढोल बजाएर मनाउँछन् । वैशाख १२ गते गएको भूकम्पपछि पनि धिमालहरूको गाउँटोलमा जात्रीले निरन्तरता पायो । जात्री पर्व २ महिना लामो भयो भनेर परिमार्जन गरी यसलाई छोट्याउने कुरा चलिरहे पनि असार संक्रान्तिसम्म मनाइने यो पर्व धिमालका ९८ वटै टोलमा मेलाको आयोजना गरी मनाइन्छ ।
जेठ–असार महिनामा खेतीपाती सुरुवात गर्नुअघि धिमालहरू ‘सिरिजात’ तथा ‘जात्री’ मनाउँछन् । ठूलो मेला नलगाई मनाइने यो पर्वलाई सिरिजात तथा धूमधामसँग मेला लगाई मनाइने पर्वलाई जात्री भनिन्छ । आदिकालदेखि नै गाउँमा अनिष्ट नहोस्, बाली नाली राम्रो होस, उब्जनी बढोस्, माता हैजा नलागोस्, गाउँमा राम्रो होस् भनेर यो चाड मनाइँदै आएको छ ।