तनहुँको देवघाटधाममा साउनको सोमबार अघिपछि भन्दा बढी भीड देखिन्छ । झन्डै १ लाख भक्तजनको उपस्थिति रहने देवघाट बोलबममा युवा जमातको भीड पनि कम हँुदैन ।
युवतीहरू हातमा हरियो चुरा, मेहन्दी र पहेंलो वस्त्र लगाएर पूजा गर्न आउँछन् । केहीले भने नदीमै स्नान गरेर पूजा गर्छन् । ‘अघिपछि भन्दा साउन महिनामा व्रत बस्दा राम्रो फल पाइन्छ,’ नवलपरासीबाट देवघाट आएकी सुनिता सापकोटाले भनिन्— ‘साउन महिनाभरि माछामासु नखाई व्रत बस्ने गरेकी छु ।’
पहेंलो वस्त्र अहिले फेसनजस्तै भएको छ । बालबालिकादेखि पाका उमेरका सम्म पहेंला पहिरनमा सजिएर पूजा गर्न भेला हुन्छन् । ‘घरमा ममी–दिदीले व्रत बस्ने भएकाले मैले पनि व्रत लिएकी छु,’ भरतपुरका सनद क्षेत्रीले भने— ‘त्यही भएर प्रत्येक सोमबार पूजा गर्न देवघाट आउने गरेको छु ।’ साउन महिनामा अघिपछि पनि देवघाट आउनेहरू प्रशस्तै हुन्छन् । केहीले त यो महिनालाई शाकाहारी महिनाका रूपमा समेत चिन्ने गरेका छन् । ‘पहिलेभन्दा अहिले भक्तजनको संख्या बढी छ,’ देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंक पौडेलले भने— ‘त्यसमा विवाह नगरेका युवायुवती बढी छन् ।’ केही भक्तजन त खाली खुट्टै देवघाट पुग्छन् । त्यस्तै जोडी बाँधेर उपस्थित हुनेहरूको संख्यामा पनि कम हुँदैन ।