मृत्युपछि काजकिरिया गरिएका व्यक्ति ज्युँदै फर्किए के होला ? एउटा यस्तै घटना सप्तरीको देउरी गाविस-९ मा घटेको छ । मृत्यु भएको विश्वास गरिएका सप्तरीका ३५ वषर्ीय सूर्यनारायण साह २५ वर्षपछि जिउँदै फर्किर्एपछि सबै चकित भएका छन् । उक्त घटनाको सत्यतथ्य छानबिन गर्न अहिले प्रहरीले डीएनए परीक्षणको सहारा लिइरहेको छ ।
प्राप्त जानकारीअनुसार त्यतिबेला स्थानीय बासिन्दा चलितर साहले आफ्ना भान्जा सूर्यनारायण साह मरिसकेको विश्वास गरेर आफ्नै हातले दाहसंस्कार गरेका थिए । अहिले सूर्यनारायण नामकै एक व्यक्तिले आफू नै चलितर साहको भान्जा भएको बताएपछि त्यहाँको स्थिति असामान्य भएको छ । प्रहरी निरीक्षक लालध्वज सुवेदी कसको दाबी पत्याउने भन्ने कुरामा अन्योल भएको बताउँछन् । 'डीएनए परीक्षणपछि एक-दुई महिनाभित्रै यो कुराको पुष्टि हुनेछ ।' प्रहरी निरीक्षक सुवेदीका अनुसार आफूलाई सूर्यनारायण साह बताउने व्यक्ति र उनकी आमाको रगत लिई डीएनए परीक्षणका लागि केन्द्रीय विधि विज्ञान अनुसन्धान प्रयोगशालामा पठाइसकिएको छ ।
प्राप्त जानकारीअनुसार सूर्यनारायणलाई १० वर्षकै उमेरमा काममा लगाइदिन्छु भन्दै मामा चलितरले भारतको पञ्जाबस्थित जालन्धर सहर पुर्याएका थिए । त्यसको तीन महिनापछि त्यहाँ एक फलाम उद्योगमा काम गर्दागर्दै सूर्यनारायणको लडेर मृत्यु भएको र आफैंले दाह संस्कार गरिसकेको मामा चलितरले बताएपछि उनकी आमा सोमा देवीले हिन्दू रीतिरिवाजअनुसार विधिपूर्वक काजक्रिया पनि गरिसकेकी थिइन् । यद्यपि केही साताअघि मात्र सूर्यनारायण जीवितै फर्किएपछि गाउँमा हल्लीखल्ली मच्चिएको छ । सूर्यनारायणले आफ्ना मामा चलितरले आफूलाई जालन्धरस्थित फलाम उद्योगका मालिकलाई ५० हजार भारतीय रुपैयाँमा बिक्री गरेर भागेको आरोप लगाएका छन् । आफू २५ वर्षको निरन्तर प्रयासपछि मात्र त्यहाँबाट भाग्न सफल भएको सूर्यनारायणको दाबी छ ।