किशोर भण्डारी, डिट्ठा साव, हास्यकलाकार
हास्य श्रृंखला : पन्ध्र गते
मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यको हास्यश्रृंखला ‘पन्ध्र गते’ जति पटक हेरे पनि धीत मर्दैन । हिमालदेखि तराईसम्मको कथा तथा प्रसंग समेटिएको यो श्रृंखला हरेक समय तथा परिस्थितिमा मेल खान्छ ।
हास्य अभिनेता : हरिवंश आचार्य
नेपाली हास्य अभिनेताहरूमा हरिवंश आचार्यको जस्तो सेन्स अफ ह्युमर अरू कलाकारमा फेला पार्न सकिँदैन । उहाँजस्तो भर्सटायल अभिनेता विश्वमै कम हुन्छन् जस्तो लाग्छ । संवाद बोल्ने शैली, अभिनय गर्न सक्ने क्षमता तथा हरेक चरित्रमा भिज्न सक्ने कला अद्वितीय भएका यी कलाकारको तुलना कसैसँग गर्न सकिंदैन ।
हास्य अभिनेत्री : रेश्मा तिमिल्सिना बुनु मैँचा
हास्य श्रृंखलामा ‘बुनु मैँचा’ का रूपमा अभिनय गर्ने रेश्मा तिमिल्सिना नयाँ हास्यअभिनेत्री भए पनि उनको अभिनय गर्ने शैली आकर्षक छ । रेश्मा क्यारिकेचरदेखि गम्भीर शैलीका भूमिकामा पनि अब्बल लाग्छिन् ।
हास्य चलचित्र : तँ त साह्रै बिग्रिस् नि बद्री
यो हास्यप्रधान चलचित्रमा अभिनय गर्ने अधिकांश कलाकारको अभिनय आकर्षक छ । चलचित्रको कथा आजका मितिसम्म पनि उत्तिकै सान्दर्भिक लाग्छ ।
हास्य गीत : साझा बसमा जो पनि चढ्दछ...
हरिवंश आचार्यको यो गीतले जीवनको कथा बोलेको छ । काठमाडौंवासीको प्रिय सवारी साधन साझा बसभित्रका रमाइला प्रसंग समेटिएको यो गीत आज पनि समय–सान्दर्भिक पनि छ ।
व्यंग्यकार : चट्याङ मास्टर
चट्याङ मास्टरले आफ्ना रोचक तथा चोटिला व्यंग्यमार्फत समाजका हरेक तह र तप्काका मानिसहरूको गुनासा तथा समस्याहरूलाई सरकारसम्म पुर्याउने प्रभावकारी काम गरिरहनु भएको छ ।
व्यंग्य कवि : शैलेन्द्र सिम्खडा
मानिसको मनभित्रका स–साना तुष समेत बाहिर निकाल्न सिपालु यी व्यंग्य कविको सुन र श्रीमती व्यंग्य कविता असाध्यै मनपर्छ ।
व्यंग्य चित्रकार : वात्सायन
सर्वसाधारणको घर भित्रको समस्यादेखि संसदसम्मको समस्यालाई कार्टुन चित्रमार्फत प्रस्तुत गर्न सिपालु वात्सायनको एउटै व्यंग्य चित्रले अनेकन् प्रसंग चित्रण गरिरहेको हुन्छ ।
प्रहसन : श्राद्ध
मह जोडीले २०४७ सालमै पहिलो पटक मञ्चन गरेको ‘श्राद्ध’ शीर्षकको प्रहसन आजका मीतिसम्म पनि उत्तिकै प्रभावकारी तथा समयसापेक्ष छ ।
क्यारिकेचर : मनोज गजुरेल
प्रभावशाली व्यक्तित्वको हाउभाउ तथा बोल्ने शैलीलाई हुबहु स्टेजमा उतार्न सक्ने खुबी भएका एकमात्र कलाकार मनोज गजुरेल नै हुन् ।
समसामयिक टेलिश्रृंखला : मेरी बास्सै
ग्रामीण परिवेशमा छायांकन गरिने ‘मेरी बास्सै’ श्रृंखलाका सबै पात्र रोचक छन् । खासगरी माग्नेबूढा तथा तक्मेबूढाको अभिनय असाध्यै मन पर्छ ।