साप्ताहिक संवाददाता
जानकी तारामी मगर, गायिका
पानीपुरी चटपटेलाई दर्शकले मन पराएका छन्, के भन्नुहुन्छ ?
एकदमै खुसी छु, ७ लाख दर्शकले युट्युबमा हेर्नुभएको छ । धेरै दिदीबहिनीले मन पराएर प्रतिक्रिया दिनुभएको छ । यो वर्षको तीजमा यो गीतले पाएको मायाले मलाई उत्साहित पनि बनाएको छ । गीत क्याची र राम्रो थियो, म्युजिक भिडियो पनि उत्तिकै राम्रो बनेको छ ।
पशुपति शर्मासँगको सहकार्य राम्रै जमेको छ हैन ?
हो, लोकप्रिय गायक पशुपति शर्माको यो वर्षका सिर्जनामध्ये पानीपुरी चटपटे सबैभन्दा अगाडि छ । २०६७ सालको तीजमा उहाँसँगै ‘कार किनेर ल्याऊ’ गाएकी थिए, वास्तवमा त्यही गीतले मलाई सांगीतिक फाँटमा स्थापित गराएको हो । गत वर्ष ‘साइकल किन्न जाम’ गीत पनि उहाँसँगै गाएकी थिएँ ।
तपाईंको सांगीतिक संघर्ष कस्तो रह्यो ?
म २०६७ सालमा संगीतमा करिअर बनाउने उद्देश्यले काठमाडौं आएकी थिएँ । सुरुवातमा दोहोरी साँझमा गाएँ । त्यसपछि एल्बम तयार पार्ने उद्देश्यले योजनाअनुरूप रामचन्द्र काफ्लेका साथ आफ्नै शब्द एवं संगीतमा जता हावा उतै चल्छ हुरी गीतिसंग्रह सार्वजनिक गरें । मैले १२ वटा गीतिसंग्रह श्रोतामाझ ल्याइसकेकी छु ।
तीजका गीत तपाईं सफल हुने आधार हुन् ?
मेरा तीजबाहेकका गीतिसंग्रहले पनि दर्शक–श्रोताको मन जितेका छन् । तीजका अवसरमा गाइने गीतले बढी प्रभाव पार्ने भएकाले त्यस्तो लागेको हुन सक्छ ।
तीजको गीत भनिए पनि कतिपय गीतमा तीजको शब्दसम्म नहुने कारण के होला ?
तीजलाई अवसरका रूपमा मनाउँदै गीत गाउने हो । मैले अहिलेसम्म जति पनि तीज गीत गाएँ, ती सबैमा तीज भन्ने शब्द उल्लेख छैन । तीजको अवसरमा गीत गाउने हो, जसमा तीज शब्द आवश्यक पनि छैन । पानीपुरी चटपटेमा तीज शब्द नभए पनि सबैले मन पराउनुभएको छ ।
संगीतप्रतिको मोह कहिलेदेखिको हो ?
व्यवसायिक सांगीतिक यात्रामा नयाँ भए पनि संगीतमा सक्रिय भएको धेरै भैसकेको छ । सानो छँदा लोकगीत, दोहोरी गीत गाउँथें । धेरैवटा प्रतिस्पर्धात्मक दोहोरी गायनमा सहभागी भएँ, कतिपयमा जिते, कतिमा हारे । मेरो स्वर राम्रो भएको र उत्कृष्ट ढंगले दोहोरीमा सवाल–जवाफ गरेको भन्दै सबैले काठमाडौं जान सल्लाह दिनुभयो । दोहोरी साँझमा चिटिक्क परेर बस्नुपर्ने, गाउन मात्र होइन नाच्न पनि जान्नुपर्ने हुँदा धेरै कुरा सिकियो, धेरै दु:ख पनि भोगियो तर त्यसले मलाई अघि बढ्न सिकायो ।