सुप्रिया कटवाल, नायिका
टेलिभिजनबाट प्रसारण हुने अधिकांश म्युजिक भिडियोमा देखिने अनुहार हो सुप्रिया कटवाल । दुई वर्षको छोटो अवधिमै ७५ भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी यी कलाकारले यो वर्ष पहिलो पटक तीजको गीतमा समेत कम्मर मर्काउने अवसर पाइन् । सुप्रियाले गायिका मञ्जु थापाको ‘यसपालि तीजमा...’ गीतको म्युजिक भिडियोमा अभिनय गरेर तीजको भिडियोमा अभिनय गर्ने रहर पूरा गरेकी छिन् । कमल खत्रीदेखि अञ्जु पन्तसम्मका गायक–गायिकाका म्युजिक भिडियोमा अभिनय गरिसकेकी सुप्रिया चाँडै नै नेपाली चलचित्रमा समेत पदार्पण गर्दैछिन् । केही तीज विशेष कार्यक्रममा प्रत्यक्ष नृत्यसमेत गरिरहेकी सुप्रियाले साप्ताहिकमार्फत आफ्ना सेक्रेट कुराहरू सार्वजनिक गरेकी छिन् ।
तीजको व्रत
दसैं र तिहारपछि मलाई मन पर्ने चाड तीज नै हो, तर अचम्मको कुरा के छ भने म अहिलेसम्म तीजको व्रत बसेकी छैन । तीजको अघिल्लो दिन दर खान, तीजको दिन मन्दिर जान रमाइलो लाग्छ तर व्रतका बारेमा मेरो आफ्नै धारणा छ । अविवाहित युवतीले राम्रो श्रीमान् पाउन तथा विवाहित महिलाले श्रीमान्को दीर्घायुका लागि तीजको व्रत बस्ने चलन छ । मैले चाहिँ विवाहपछि मात्र तीजको व्रत बस्ने निर्णय गरेकी छु । विवाहपछि आफूलाई भन्दा बढी माया र विश्वास गर्ने श्रीमान् पाएँ भने मात्र म तीजको व्रत बस्छु ।
गायिका
दर्शकहरूले मलाई अहिलेसम्म म्युजिक भिडियो नायिकाका रूपमा मात्र देख्नुभएको छ । वास्तवमा म गीत पनि गाउँछु । हालसम्म मेरो गायन आफ्नो घरमा मात्र सीमित थियो तर अब भने यो प्रतिभालाई स्रोतामाझ ल्याउने निर्णय गरेकी छु । यतिबेला म अभिनेता जीवन लुइँटेलको शब्द तथा कमल खत्रीको संगीतमा पहिलो गीत रेकर्ड गराउँदै छु ।
होटल म्यानेज्मेन्ट
म अभिनयमा सक्रिय छु तर अध्ययनका लागि होटल म्यानेज्मेन्ट रोजेकी छु । खाना बनाउने सानैदेखिको रहर पूरा गर्न पनि मैले प्लस टुपछि यो विषय छनौट गरेकी हुँ । मैले बनाएका खानेकुराहरू असाध्यै स्वादिष्ट हुन्छन् भन्ने कुरा परिवारका सदस्यहरूलाई मात्र थाहा छ । म कुकिङमा असाध्यै रुचि राख्छु । मैले बनाएको मासुको परिकार निक्कै स्वादिष्ट हुन्छन् ।
फेसन डिजाइन
म फेसन डिजाइनमा पनि रुचि राख्छु । प्राय: म्युजिक भिडियोमा आफूले लगाउने पहिरन म आफैं डिजाइन गर्छु । समयअभावका कारण फेसन डिजाइनिङ अध्ययन गर्ने मौका पाएकी छैन, तर भविष्यमा यो विषयको अध्ययन गर्ने ठूलो रहर छ । म खासगरी पार्टी वेयर डिजाइन गर्न सिपालु छु । अचेल त मलाई साथीहरूले पनि उनीहरूको पहिरन डिजाइनका लागि आग्रह गर्न थालेका छन् ।
साथी
स्कुले जीवनमा मैले धेरै साथी बनाएकी थिएँ । अभिनय क्षेत्रमा आएपछि पनि मैले साथी बनाउने कार्यलाई निरन्तरता दिएँ तर छोटो समयमै साथीहरूबाट धोका पाएपछि धेरै साथी बनाउनु हुँदो रहेनछ भन्ने कुरा बुझेँ । मनोरञ्जन क्षेत्रमा मेरा नजिकका साथी नै छैनन् भने पनि हुन्छ । म आफ्ना सबै सुख–दु:खका कुरा परिवारका सदस्यहरूसँग मात्र बाँड्छु ।
अल्छी
छायांकनस्थलमा जति नै सक्रिय भए पनि घर बसेको दिन म जत्तिको अल्छी अरू कोही हुन्छ जस्तो लाग्दैन । बाहिर काम नभएको दिन घरबाट पसलसम्म जान पनि अल्छी लाग्छ । घरमा बसेका बेला प्राय: सुतेरै दिन बिताइदिन्छु । यो मेरो असाध्यै नराम्रो बानी हो भन्ने थाहा हुँदाहुँदै पनि यसलाई सुधार्न सकेकी छैन ।
साइकल र स्वीमिङ
मलाई जीवनमा दुईवटा काम गर्नै आएन । पहिलो साइकल कुदाउन, दोस्रो स्विमिङ गर्न । कलाकार भएपछि यी दुई सामान्य काम जान्नै पर्छ तर मेरो विडम्बना, स्कूटर सजिलै कुदाउन सक्छु, साइकलमा बस्न पनि जान्दिनँ । जति नै सिके पनि यी दुई काम गर्न नसक्दा आफैंप्रति रिस पनि उठ्छ । भविष्यमा पनि म यी दुई कुरा सिक्न सक्दिन जस्तो लाग्छ ।