आमेश भण्डारी, नायक
अभिनेता : आर्यन सिग्देल
अभिनय, नृत्य तथा द्वन्द्वमा समेत अब्बल यी अभिनेतालाई म ‘अल इन वन’ भन्न रचाउँछु । आकर्षक व्यक्ति त आर्यन सिग्देलको विशेषता नै हो ।
अभिनेत्री : नीता ढुंगाना
नायिका नीता ढुंगानामा सुन्दरता तथा अभिनय गर्न सक्ने क्षमताको सम्मिश्रण पाउन सकिन्छ । हरेक प्रकारका भूमिकामा उनी आकर्षक देखिन्छिन् ।
चलचित्र : रकस्टार
सांगीतिक रोमान्टिक यो चलचित्रको कथा पनि उत्तिकै आकर्षक छ । मलाई यस्तै शैलीको चलचित्रमा संगीतकर्मीको भूमिका निर्वाह गर्न मन छ ।
निर्देशक : दिनेश डिसी
एउटा आकर्षक भिजन, अडान तथा प्रतिवद्धता भएका निर्देशक दिनेश डिसी नै हुन् जस्तो लाग्छ । उहाँलाई म हलिउडका स्टेभन स्पिलबर्गसँग तुलना गर्न मन पराउँछु ।
गीत : फूलै फूलको मौसम तिमीलाई
मेरो नयाँ चलचित्रको यो शीर्षक गीत जति सुन्यो उती सुन्न मन लाग्छ । वास्तवमा यो गीत जति पटक सुन्छु, त्यति पटक यसले मेरो प्रेमलाई स्मरण गराउँछ ।
गायन : सुगम पोखरेल
लोक, पपदेखि चलचित्रको पाश्र्व गायनसम्म सुहाउने एक मात्र नेपाली स्वर ।
गायिका : अञ्जु पन्त
यी गायिकाको स्वरमा मिठास त छँदैछ, गायनमा समेत गुणस्तर छ ।
खाना : थकाली
कालो दाल, झोल भएको मासुसहितको थकाली खाना जति खाए पनि पेट भरिन्न । असाध्यै भोक लागेका बेला थकाली खाना पाइयो भने अरू केही चाहिँदैन ।
पहिरन : फेन्सी कोट
घरबाहिर जाने बेला म हरेक पहिरनसँग फेन्सी कोट लगाउन मन पराउँछु । फेन्सी कोटले मेरो व्यक्तित्वलाई थप आकर्षक बनाउँछ भन्ने प्रतिक्रिया पाएको छु ।
रंग : कालो र सेतो
मलाई कालो र सेतो रंगको पहिरन सुहाउँछ । पहिरनमात्र होइन मेरा अधिकांश ग्याजेट पनि यही रंगका छन् ।
पुस्तक : पल्पसा क्याफे
फुर्सदमा म पुस्तक पढ्न रुचाउँछु । पछिल्लो समय थुप्रै पठनीय पुस्तक बजारमा आएका छन् । तीमध्ये ‘पल्पसा क्याफे’ मलाई रुचिपूर्ण लागेको थियो ।
चाडपर्व : तिहार
मलाई झिलिमिली मन पर्छ । पटकाको आवाज मनपर्छ । चारैतिर रमणीय वातावरण मनपर्छ । हाम्रो महान् पर्व तिहारमा यी सबै कुरा पाउन सकिन्छ ।
मौसम : जाडो
फेसनका दृष्टिकोणले जाडोभन्दा गर्मी सहज लाग्छ तर विगत केही वर्ष यता जाडोका लागि समेत आकर्षक अनि फेसनेवल पहिरनहरू तयार भैसकेका छन् । म कोट तथा ज्याकेटको पारखी भएकाले पनि मलाई जाडो मौसम नै मनपर्छ ।
स्थान : पोखरा
म जब–जब पोखरा पुग्छु, विदेशको कुनै सुन्दर शहरमा पुगेको छु जस्तो अनुभव गर्छु ।
मन्दिर : मनकामना
काठमाडौंबाट टाढा पनि छैन, नजिक पनि छैन । मनकामना पुग्दा बिदा मनाउन कतै टाढा गएजस्तो अनुभव हुन्छ । त्यहाँ पुग्दाको रोमाञ्चकताको आफ्नै विशेषता छ ।
सवारी : बाइक
काठमाडौं जस्तो व्यस्त सहरमा बाइकजस्तो सरल, सहज तथा स्टाइलिस सवारी साधन अरू केही हुनै सक्दैन ।