साप्ताहिक संवाददाता
नेपाल संवत् नेपालमा प्रचलित चन्द्रमासमा आधारित पात्रो हो । विशेषत: नेवार समुदायमा प्रचलित यो संवत्लाई नेपालको मौलिक संवत् मानिन्छ । इतिहास अनुसार राजा राघवदेवको शासनकालमा शंखधर साख्वा नामक व्यापारीले नेपालका सबै जनताको ऋण तिरेर नेपाललाई ऋणमुक्त बनाएको दिनको सम्झनामा यो संवत् प्रारम्भ गरिएको हो । राजा राघवदेवको समयदेखि चन्द्रशमशेरको समयसम्म यो संवत् नेपालको आधिकारिक पात्रोका रूपमा प्रचलित थियो ।
किंवदन्तीअनुसार शंखधर शाख्वा नामका एक व्यापारी थिए । उनी धेरै धनी थिए । शंखधरका साथीहरू पनि व्यापारी थिए, तर उनीहरूको व्यापार शंखधरको जस्तो हुँदैनथ्यो । ती साथी व्यापारीलाई शंखधरको व्यापारप्रति डाह भयो । उनीहरूले जालझेल गरेर राजालाई शंखधरले अनैतिक व्यापार गरेको छ भनी पोल लगाइदिए । उक्त उजुरीपछि राजाले शंखधरको सम्पत्तिलाई राष्ट्रियकरण गरे । यसबाट विचलित शंखधर जोगीजस्तै भएर हिँड्न थाले । पछि राजाले छानविन गराउँदा शंखधर र उनको व्यापार अनैतिक तथा गैरकानुनी नभएको पत्ता लाग्यो । राजाले पश्चत्ताप गर्दै शंखधरलाई बोलाई तिमी इमान्दार रहेछौ, तिम्रो सम्पत्ति फिर्ता लैजाऊ भने । गुमिसकेको सम्पत्ति फिर्ता पाएपछि शंखधरले ऋणमा डुबेका जनतालाई सहयोग गरे । उनले सबै जनताको ऋण मोचन गरिदिए । शंखधरको उक्त महान कामको सम्झनास्वरूप नेपाल सवंत् प्रचलनमा आएको ऐतिहासिक तथ्य छ ।
आधिकारिक रूपमा प्रयोगमा नरहे पनि नेपालले संयुक्त राष्ट्रसंघमा नेपाल संवत्लाई नै नेपालको मौलिक संवत्का रूपमा दर्ता गराएको छ । अहिले यो संवत् काठमाडौं उपत्यकालगायत नेवार जातिको बसोबास रहेको क्षेत्रमा प्रचलनमा छ । यो संवत् प्रारम्भ हुने दिनलाई नेवारहरू म्हपूजा (मानव शरीरको पूजा) का रूपमा मनाउँछन् ।