साप्ताहिक संवाददाता
मिस्टर नेपालका विजेताले अब मिस्टर वल्र्डमा सहभागिता जनाउन पाउने भएका छन् । मिस्टर नेपालको आयोजक संस्था एक्सपोज नेपालका अनुसार ‘मिस्टर नेपाल–२०१६’ का विजेताले ‘मिस्टर वल्र्ड–२०१६’ मा नेपालको प्रतिनिधित्व गर्नेछन् । एक्पोज नेपालले एक विज्ञप्ती मार्फत १४ औ संस्करण ‘मिस्टर नेपाल–२०१६’ आगामी फागुनमा सञ्चालन गर्दैछ ।
उक्त प्रतियोगिताका लागि आयोजकले आवेदन खुल्ला गरिएको जनाएको छ । युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धी, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमताको विकास गराउने उदेश्यले मिस्टर नेपाल प्रतियोगिता आयोजना भैरहेको छ ।
प्रतियोगितामा १६ वर्षदेखि ३५ वर्ष ननाघेका नेपाली युवाले सहभागिता जनाउन सक्नेछन् । यसपटकको प्रतियोगिताका लागि आयोजकले काठमाडौं, पोखरा, विराटनगर, चितवन, धरान जस्ता शहरमा अडिसन समेत गर्दैछ । अडिसनबाट छनौट भएका ४५ जना युवाले मिस्टर नेपालमा सहभागिता जनाउनेछन् । निर्णायक प्रतिस्पर्धाका लागि छनौट भएका प्रतिस्पर्धीहरुलाई स्वमिङ, फुटवल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङ, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङ लगायतका विधामा प्रशिक्षण दिइने छ ।
सन् २००१ देखि प्रारम्भ भएको मिष्टर नेपालमा रोहित थेवे, जिवन लुईटेल, गौतम सुवेदी, उज्वल घिमिरे , सुरेश घिमिरे, डा. आयुष्मान घिमिरे, सुरेश गैले, सुरज चिलवाल, सन्दिप पोखरेलले मिस्टर नेपालको उपाधी जितिसकेका छन् ।