साप्ताहिक संवाददाता
सरस्वती लामा, गायिका
केमा व्यस्त हुनुहुन्छ ?
केही समयअघि गीति एल्बम ‘उत्तर–पूर्व’ सार्वजनिक गरेकी छु । आफ्नै स्वर तथा संगीतका गीतहरूको यही एल्बमको प्रमोसनमा व्यस्त छु ।
एल्बम सार्वजनिक भएलगत्तै चर्चामा आउनुभयो नि ?
कोरियोग्राफर मोडलका रूपमा सक्रिय छँदा खासै चर्चा पाएकी थिइनँ, गायिकाका रूपमा उदाउँदा एकाएक चर्चामा आएकी हुँ ।
अभिनय, निर्देशन, संगीत सिर्जना जस्ता फरक–फरक विधामा सक्रिय हुन कसरी सम्भव भयो ?
रहरै रहरले मोडलिङमा लागेकी थिएँ । मोडलिङको रहर पूरा भएपछि नृत्य निर्देशनमा व्यस्त भएँ । नृत्य सिक्ने क्रममा अचानक संगीततर्फ आकर्षित भएकी हुँ । राम्रो गीत तयार भएपछि कोरियोग्राफी गरिरहेको अनुभवका आधारमा आफ्नो गीतको भिडियो आफैंले निर्देशन गरेकी हुँ ।
‘उत्तर–पूर्व’ एल्बममा कस्ता गीत समावेश गर्नु भएको छ ?
रक–पपदेखि आधुनिक शैलीसम्मका गीत गाएकी छु । तामाङ सेलो तथा लोक शैलीका गीत पनि समावेश गरेकी छु । श्रोतालाई हरेक शैलीका गीतको स्वाद चखाउने प्रयास गरेकी छु । विगत पाँच वर्षदेखि संगीतमा दिएको समयको प्रतिफल हो यो एल्बम ।
एल्बमका कतिवटा गीतबाट आशावादी हुनुहुन्छ ?
एल्बमका चारवटै गीतका म्युजिक भिडियो तयार छन् । खासगरी ‘उडी जाने हावाले’ तथा ‘नभए हुन्छ सुन’ गीत श्रोताहरूले मन पराउनुभएको छ । अन्य गीतबाट पनि उत्तिकै आशावादी छु ।
म्युजिक भिडियो निर्देशन गर्ने रहर कसरी पलायो ?
म्यूजिक भिडियोको निर्देशन मात्र होइन, मोडल पनि म आफैं हुँ । मैले खोजेजस्तो मोडल तथा निर्देशक भेट्दै भेटिनँ । त्यसपछि आफूसँग भएको प्रतिभा पनि सदुपयोग गर्नुपर्छ भन्ने लाग्यो ।
एल्बमको बजार ठप्प भएका बेला किन लगानी गर्नुभएको त ?
एल्बमको बजार नभएको कुरा सही हो । मैले यो एल्बमबाट पैसा कमाउन खोजेकी छैन । म संगीतमा मात्र लागेकी छैन । समाजसेवामा पनि सक्रिय छु । यो एल्बमको बिक्रीबाट आएको रकमले म विद्धाश्रममा सहयोग गर्दैछु ।