मिस टिन झापाको उपाधि स्मृति ओलीले चुमेकी छिन् । शनिबार राति बिर्तामोडमा भएको ग्राड फिनाले राउन्डबाट उपाधि जितेसँगै उनले नगद ३५ हजार रुपैयाँ, भारतको बैंगलोरमा नर्सिङ अध्ययन गर्नका लागि ४ लाख ५० हजार रुपैयाँ बराबरको छात्रवृत्ति, ट्रफीलगायतका पुरस्कार प्राप्त गरेकी छिन् ।
‘तपाईंलाई १० लाख रुपैयाँको महत्व धेरै कि मिस टिनको उपाधि ?’ उत्कृष्ट ८ भित्र पर्न सफललाई सोधिएको यस प्रश्नको गतिलो जवाफ दिँदै १४ वर्षकी स्मृतिले दिएकी सटीक जवाफले उनी उपाधि चुम्न सफल भएकी हुन् ।
‘१० लाख रुपैयाँले केही समय म रम्न सक्छु होला । तर, यसले मेरो पूरै भविष्य निर्धारण गर्न सक्दैन ।’ उनको उत्तर थियो, ‘उपाधि जितेपछि पैसा त कमाइहालिन्छ ।’ बिर्तामोडकी स्मृतिले ३२ जना स्पर्धीहरूलाई उछिन्दै उपाधि हात पारेकी हुन् ।
प्रतियोगितामा बिर्तामोडकै एलिशा जोशी फस्र्ट रनर्सअप र निशा श्रेष्ठ सेकेन्ड रनर्सअप भएकी थिइन् । प्रतियोगिताको फस्र्ट रनर्सअपले ११ हजार रुपैयाँ र सेकेन्ड रनर्सअपले १० हजार रुपैयाँसहित अन्य विभिन्न गिफ्ट ह्याम्परहरू हात पारे ।
रेडियो भिजन र सर्जक मञ्च झापाले आयोजना गरेको प्रतियोगिताको फाइनलबाट उपाधि जितेपछि उनले आफ्नो उपाधिको श्रेय आफ्नो अभिभावकलाई जाने बताइन् । उनले भनिन्– ‘अब म नेपाली समाजले मोडलिङ क्षेत्रलाई व्यवसायिकसँगै इज्जतिलो पेसा बनाउने लक्ष्य बोकेकी छु ।’