कुनै बेला कुशल शास्त्रीय नर्तकी बन्ने लक्ष्य लिएकी वर्षा शिवोकोटी यतिबेला नेपाली चलचित्रमा स्थापित नायिका बन्ने क्रममा छिन् । आकर्षक नृत्यकै कारण वर्षालाई निर्देशक विकास आचार्यले चलचित्र ‘नाईँ नभन्नु ल–२’ मार्फत पदार्पण गराएका थिए । उक्त चलचित्रको छोटो तर प्रभावकारी भूमिकामा वर्षा राम्रैसँग जमिन् । दर्जनौं म्युजिक भिडियोमा अभिनय गरिसकेकी वर्षा यतिबेला चलचित्र ‘पशुपतिप्रसाद’ को प्रदर्शनको पर्खाइमा छिन् । हरेक प्रकारका भूमिका निर्वाह गर्न सक्ने खुबी भएकी वर्षा फुर्सदमा नृत्य गर्न रुचाउँछिन् । वर्षाले साप्ताहिकमार्फत आफ्ना सेक्रेट कुराहरू यसरी व्यक्त गरेकी छिन् ।
स्कुटरको यात्रा
मलाई स्कुटरमा यात्रा गर्दा ठूलो स्वरमा गीत गाउन मन लाग्छ । स्कुटरको यात्रामा एक प्रकारको स्वतन्त्रता महसुस गर्छु । म अरूसँग छिट्टै घुलमिल हुन नसक्ने स्वभावकी छु, त्यसैले स्कुटरको यात्राका क्रममा आफैंसँग कुराकानी गर्दै गन्तव्यसम्म पुग्ने बानी छ ।
नो नाइटलाइफ
कलाकारितामा लागेपछि रात र दिनको खासै मतलब हुँदैन भन्छन् तर मलाई नाइट लाइफ खासै मन पर्दैन । म पार्टीमा राति ढिलासम्म बस्न रुचाउँदिन । काम सकिनेबित्तिकै घर फर्कने बानी छ । कामबाहेक अरू बेला बाहिर बस्न रचाउँदिन ।
परफ्युम
म परफ्यूमको एकदमै क्रेजी छु । हरेक समय सपिङ गर्न जाँदा एउटा न एउटा बडी स्प्रे र परफ्यूम किनिरहेकी हुन्छु । कसैले गिफ्टको अफर गर्दा पनि मेरो च्वाइस परफ्युम नै हुन्छ ।
पहिरन संकलन
म पहिरन संकलन गर्ने कुरामा सौखिन छु । ब्रान्ड कन्सस त छैन तर मन पर्नेबित्तिकै र आफूसँग अलि बढी पकेट खर्च हुने बित्तिकै कुनै न कुनै पहिरन किनिहाल्छु । म प्राय: स्कर्ट किन्छु । मसँग विभिन्न रंग, डिजाइन तथा ब्रान्डका थुप्रै स्कर्ट छन् ।
लेखन
मेरो हेन्डराइटिङको सबैले प्रशंसा गर्छन् । स्कुल–कलेजमा पनि म राम्रो लेख्नेमा पहिलो स्थानमा आउँथें । राम्रो हेन्डराइटिङकै कारण सहपाठीहरूको तुलनामा कतिपय विषयमा मेरो नम्बर बढी आउँथ्यो ।
पूरा नहुने योजना
म प्राय: हरेक कुरा योजना बनाएर गर्छु तर समस्या ती योजना पूरा गर्न सक्दिन । उदाहरणका लागि मलाई यात्रा असाध्यै मनपर्छ । मैले बनाएको घुम्न जाने स्थानको सूची धेरै लामो भैसकेको छ तर अहिलेसम्म ती ठाउँ पुग्न पाएकी छैन ।
समय व्यवस्थापन
म समय व्यवस्थापनमा कमजोर छु । अझै पनि मैले समयलाई सम्हाल्न सकेकी छैन । समय व्यवस्थापन गर्ने कला बल्ल सिक्न थालेकी छु ।
अँध्यारो
मलाई अँध्यारोसँग अत्यन्तै डर लाग्छ । कतिसम्म भने अँध्यारोमा मलाई एउटा कोठाबाट अर्को कोठामा जान पनि हिम्मत आउँदैन । अँध्यारोमा त ट्वाइलेट जान पनि ममीलाई गुहार्नुपर्छ ।