बलिउड तीन ‘एस’ ले चलेको छ, एक शाहरूख, दुई सलमान र तीन सेक्स ।
वर्ष २०१५ को वार्षिक बक्स अफिस रिपोर्ट केलाउँदा बलिउडका बारेमा भनिएको यो भनाइ सोह्रै आना सही ठहरिएको छ । शाहरूख खान नायक भएको पछिल्लो चलचित्र ‘दिलवाले’ ले पनि यही भनाइलाई प्रमाणित गरिरहेको छ । कथा र प्रस्तुति कमजोर भए पनि मात्र शाहरूखको क्रेजका कारण चलचित्र ‘दिलवाले’ले गुणात्मक रूपमा बक्सअफिस कलेक्सन गरिरहेको छ । किशोरकुमार अभिनीत ५० को दशकको सुपरहिट चलचित्र ‘चलतीमा नाम गाडी’को कथा तथा प्रस्तुतिबाट प्रभावित चलचित्र ‘दिलवाले’को छायांकन धेरैले रुचाएका छन् । विशेष गरी बलिउडको ‘एभरग्रिन केमेस्ट्री’ मानिएका शाहरूख र काजोललाई फेरी प्रेमगीत गाएको हेर्न पनि दर्शक सिनेमा हलहरूमा ओइरिएको अनुमान गरिएको छ । बलिउडका ‘किङ् खान’ शाहरूखले आफंैले निर्माण गरेको केवल यही मात्र चलचित्र वर्ष २०१५ मा आयो र क्रिटिक्सहरूले नराम्रो भन्दाभन्दै पनि शाहरूखका प्रसंसकहरूको उर्लिएको भीडले वर्षको अन्तिममा प्रदर्शित ‘दिलवाले’लाई ब्लकबस्टर बनाउँदैछ ।
सलमानको क्रेजको पनि त्यही कथा छ । वर्ष २०१५मा सलमान खानका दुई चलचित्र आए र दुवैले सबै रेकर्ड तोडे । ‘बजरंगी भाइजान’को कथा र प्रस्तुतिका साथै सलमान खानको अभिनय तथा भुमिकालाई त क्रिटिक्सहरूले पनि खुलेर प्रशंसा गरे । सलमानको पहिलो चलचित्र ‘मैने प्यार किया’का नायक प्रेमको पात्रलाई ‘क्यास’ गर्ने हिसाबको प्रचार गरिएको चलचित्र ‘प्रेम रतन धन पायो’लाई पनि दर्शकले रुचाइदिए । जबकि यो चलचित्रको विषय ५० को दशककै चलचित्र ‘राजा और रंक’संग मिल्छ ।
सलमान र शाहरूखले अहिलेको बलिउड हाँकेका छन् । यी दुईबीचको शितयुद्ध पनि शाहरूखको ‘दिलवाले’ रिलिजको छेकोमै अन्त्य भयो । सलमानले सञ्चालन गर्ने टेलिभिजन रियालिटी शो बिगबोसमा उनीहरू यसरी प्रस्तुत भए कि लाग्थ्यो, उनीहरूबीच कुनै मतभेद थिएन । भनिएकै छ— चलचित्र क्षेत्रमा शत्रुता र मित्रता कहिल्यै दिगो रहँदैन । वर्षको सर्वाधिक कलेक्सन गर्ने चलचित्र सलमानको ‘बजरंगी भाइजान’ भयो भने शाहरूखको ‘दिलवाले’ कलेक्सनको दौडमा त्यसपछि छ । अर्का खान नायक अमिर खानको पछिल्लो चलचित्र ‘पिके’ले पनि बक्सअफिसमा उत्कृष्ट कलेक्सन गर्यो, तर ‘पिके’ वर्ष २०१४को डिसेम्बरको अन्तिममा प्रदर्शित भएकाले त्यसको कलेक्सनको हिसाब वर्ष २०१५ मा भयो । यद्यपि यो चलचित्रलाई वर्ष २०१५ को चलचित्र मानिएको छैन । यही किसिमको नियति वर्षको अन्त्यमा आएका दुई चलचित्र ‘दिलवाले’ र ‘बाजीराव मस्तानी’ले पनि भोगिरहेका छन् ।
कुरा सेक्सको
‘हेट स्टोरी थ्री’, ‘लीला’ तथा ‘हन्टर’ यी तीन चलचित्रको विषय वा प्रस्तुति यौनसँग सम्बन्धित थिए । विशेषगरी ‘हेट स्टोरी थ्री’मा यति धेरै कामोत्तेजक दृश्य थिए कि २४ करोडको लगानीमा तयार भएको यो चलचित्रले भारतमा मात्र ४२ करोड कलेक्सन गर्यो । ओभरसिज कलेक्सन हेर्ने हो भने ‘हेट स्टोरी थ्री’ लगानीभन्दा चार गुणाभन्दा बढी कमाउन सफल भयो । कथा र प्रस्तुतिका दृष्टिकोणबाट खराब ‘हेट स्टोरी थ्री’मा सलमान खानको जोडीका रूपमा दुई फरक चलचित्रबाट बलिउड छिरेका नायिका जरिन खान र डेजी शाहले दिएका गर्मागरम दृश्यले बढी ग्राह्यता पाए र त्यसकै कारण चलचित्रले बक्सअफिसमा आफ्नो स्थान दह्रो बनायो । पोर्नस्टार सनी लियोन आफ्नो हट अवतारका कारण यसै पनि हिट छिन्, अझ उनका कामोत्तेजक दृश्यले भरिएको चलचित्रले सफलता नपाउने त कुरै भएन । सनीका उत्तेजक दृश्यहरू भएको चलचित्र ‘लीला’ले यो वर्ष पर्याप्त चर्चा कमायो र निर्मातालाई डुब्नबाट जोगायो । यही वर्ष सनी लियोनीलाई यो वर्ष बलिउडबाट धपाउनुपर्छ भन्ने आवाज पनि नउठेको होइन, तर उनका चलचित्रहरू नै आइरहे, हेर्नेहरूले पनि हेरि नै रहे । यद्यपि सनी लियोनीलाई केही कामुक तथा बढी कमेडी रूपमा उतारिएको चलचित्र ‘कुछ कुछ लोचा है’ले भने पानी पनि मागेन । दर्शक सनी लियोनीबाट कामुकताकै आशा गर्छन्, अभिनयको होइन भन्ने कुरा यही चलचित्रबाट प्रमाणित भयो ।
‘हन्टर’ एउटा कामुक हास्य चलचित्र थियो । नयाँ कलाकारहरू रहेको उक्त चलचित्र विशेषगरी भारतमै रुचाइयो । भारतमै यसले निर्माताको लगानी सुरक्षित गऱ्यो भने ओभरसिजबाट नाफा कमायो ।
सबै खाले एडल्ट चलचित्र चल्छन् वा दर्शकले रुचाउँछन् भन्ने पनि छैन । यो वर्ष आएका बलिउडका एडल्ट चलचित्र ‘गुड्डुकी गन’, ‘दिल्लीवाली जालिम गर्लफ्रेन्ड’ एवं मधुर भण्डारकरजस्ता सफल निर्देशकको ‘क्यालेण्डर गल्र्स’ बक्सअफिसमा ‘डब्बा’ साबित भए ।
उत्कृष्ट प्रस्तुति सामान्य
वर्ष २०१५ मा आएका चलचित्रहरूमा केही उदाहरणीय चलचित्र पनि थिए भने केही प्रयोगवादी । ती चलचित्र क्रिटिक्सका दृष्टिमा उत्कृट मानिए, तर दर्शकले भने खासै रुचाएनन् । रणवीर कपुर र दिपिका पादुकोणको केमेस्ट्री रहेको तथा फरकशैलीको चलचित्र बनाउन कुशल मानिएका निर्देशक इम्तियाज अलीको चलचित्र ‘तमाशा’लाई केही वर्गले रुचाए पनि अन्तत: यसले ‘फ्लप’को ट्याग भिर्नुपर्यो । जबकि सहरिया युवा प्रेमको अत्याधुनिक शैलीमा हास्यरस मिसाइएको सिक्वेल चलचित्र ‘प्यारका पंचनामा–२’लाई मल्टिप्लेक्सका युवा दर्शकले यति रुचाए कि चलचित्रले लगानीको तीनगुनाभन्दा बढि कमायो ।
अर्कातर्फ सत्यघटनामा आधारित चलचित्र ‘माझी’ प्रदर्शन अगावै पाइरेसी भएर युट्युबमा अपलोड हुँदा समेत यसले लगानीको दोब्बर व्यवसाय गऱ्यो । यसरी फरक शैलीको भएर पनि सफल भएका चलचित्रमा ‘दम लगाके हैंसा’, ‘पिकु’, ‘बयोमकेश बक्शी’, ‘दृश्यम’ आदिले बलिउड मसालेदार चलचित्रको उत्पादन थलो मात्र होइन भन्ने प्रमाणित गर्ने प्रयास गरे । यस्ता चलचित्रले दर्शकलाई मनोरञ्जनभन्दा पनि फरकशैलीको स्वाद दिए । खान स्टारर चलचित्रले बक्सअफिसमा सय करोडभन्दा माथिको कलेक्सन गर्दा यस्ता चलचित्रले भने निर्मातालाई राहत दिने काम मात्र गरे ।
डब्बा
बलिउडका सर्वाधिक चर्चित अभिनेता अमिताभ बच्चन तथा दक्षिण भारतीय चलचित्रका पछिल्ला सुपरस्टार धनुषलाई लिएर झन्डै ५० करोडको लगानीमा निर्माण गरिएको चलचित्र ‘शमिताभ’लाई दर्शकले मन पराएनन् । भारतमा उक्त चलचित्रले मात्र १९ करोड कलेक्सन गर्यो । अक्षयकुमार र सिद्धार्थ मल्होत्रालाई लिएर तयार पारिएको चलचित्र ‘ब्रदर्श’ले लगानीसम्म पनि उठाउन सकेन । रणवीर कपुर स्टारर चलचित्र ‘बम्बे भेलभेट’को लगानी एकसय दश करोड थियो, तर यसले बक्सअफिसमा मात्र २३ करोड कमायो । रणवीरको अर्को चलचित्र ‘रोय’का गीत सफल भए, तर चलचित्रले पानी पनि मागेन । नाना पाटेकरको स्टाइल पनि यो वर्ष फ्लप भयो । उनको सुपरहिट चलचित्र ‘अब तक छप्पन’को सिक्वेलले लगानीको १० प्रतिशत पनि उठाउन सकेन । यसैगरी विपाशा बासुको हरर चलचित्र ‘एलोन’, आयुष्मान खुराना र मिथुन चक्रवर्तिको ‘हवाइजादाँ’, अर्जुन कपुर र सोनाक्षी सिन्हाको ‘तेवर’, अभिषेक बच्चनको ‘अल इज वेल’, अनिल कपुर, नाना पाटेकर र जोन अब्राहमको ‘वेलकम व्याक’, सैफअलि खान र कैटरिना कैफको ‘फ्याण्टम’, कंगना रणावत र इमरान खानको ‘कट्टीबट्टी’, ऐश्वर्या राय र इमरान खानको ‘जज्बा’, अनिल कपुर, प्रियंका चोपडा, रणवीर कपुर, अनुष्का शर्मा, फरहान अख्तरजस्ता स्टारहरूको भीड रहेको ‘दिल धडकने दो’, शाहिद कपुर र आलिया भट्टको ‘शानदार’, अक्षयकुमारको ‘सिंह इज ब्लिङ’ जस्ता चलचित्रले लगानीसम्म उठाउन सकेनन् र बलिउडका वितरकहरूको भाषामा ‘डब्बा’ सबित भए ।
उत्कृष्ट दस चलचित्र बक्सअफिस कलेक्सनका आधारमा
१. बजरंगी भाइजान
२. बाहुबली
३. प्रेम रतन धन पायो
४. तनु विडस् मनु रिटर्नस्
५. हेट स्टोरी–३
६. प्यारका पंचनामा–२
७. किस किसको प्यार करुँ
८.एबिसिडी टु
९.दम लगाके हैंसा
१०.गब्बर इज ब्याक
उत्कृष्ट पाँच अभिनेता (चर्चाका आधारमा)
१. सलमान खान
२. शाहरूख खान
३. आमिर खान
४. अक्षयकुमार
५. रणवीर सिंह
उत्कृष्ट पाँच अभिनेत्री (चर्चाका आधारमा)
१. दीपिका पादुकोण
२. प्रियंका चोपडा
३. कंगना रणावत
४. करिना कपुर
५. सनी लियोनी