साप्ताहिक संवाददाता
जोसे मोउरिन्हो : पोर्चुगाली प्रशिक्षक जोसे मोउरिन्होको नेतृत्वमा गत सिजन चेल्सीले इङलिस प्रिमियर लिग उपाधि जितेको थियो । यो सिजनमा भने चेल्सीको प्रदर्शन निकै खराब रह्यो र मोउरिन्हो यसबीच लगातार चर्चामा रहे । प्रतिद्वन्द्वी टिमलाई सम्मान दिन नसक्ने ५२ वर्षीय मोउरिन्हो विवादमा पनि उत्तिकै रहे । चेल्सीको प्रदर्शन कति खराब थियो भने टिम रेलिगेसन क्षेत्रको ठीक माथि मात्र थियो । यस्तोमा चेल्सीले उनलाई बर्खास्त नै गर्यो । चेल्सीले लिग जितेको सात महिनापछि मोउरिन्होले आफ्नो जागिर गुमाए । चेल्सीको खराब प्रदर्शनका बावजुद उनी राम्रा प्रशिक्षक हुन भन्नेमा कसैलाई शंका छैन । त्यसैले उनलाई नयाँ क्लब फेला पार्न गाह्रो हुनेछैन ।
लियोनल मेसी : आधुनिक फुटबलमा सबैभन्दा राम्रा खेलाडीको नाम लिनुपर्दा सबैभन्दा अघि आउँछन्, अर्जेन्टिनी कप्तान लियोनल मेसी । सन् २०१५ मा मेसीले आफ्नो प्रतिष्ठा अनुसार खेले र बार्सिलोनालाई अद्वितीय रूपमा तीनवटा उपाधि दिलाउन मद्दत गरे, युरोपेली च्याम्पियन्स लिग, ला लिगा र कोपा डे रे । मेसी नै फिफाको वर्ष खेलाडी हुनेमा कसैको शंका छैन । यस्तोमा मेसीको चर्चा कहिल्यै सेलाएन । यसको एउटा कारण यस वर्ष अर्जेन्टिनाका लागि उनी कोपा अमेरिका जित्न असफल रहनु पनि हो । अर्जेन्टिना फाइनलमा पराजित भयो । मेसीले अहिलेसम्म आफ्नो देशका लागि सिनियर स्तरमा केही जित्न सकेका छैनन् ।
नेयमार : विश्व फुटबलका अर्का चर्चित खेलाडी रहे, ब्राजिलीयन नेयमार । उनले पनि अहिलेसम्म आफ्नो देशका लागि तहल्का मच्चाउने खेल देखाउन सकेका छैनन् । कोपा अमेरिका त उनका लागि बिर्सनलायक नै रह्यो, उनी प्रतिबन्धबाट पनि गुज्रिन बाध्य भए तर आफ्नो क्लब बार्सिलानाका लागि भने उनको प्रदर्शन राम्रो रह्यो । बार्सिलोना आएयताका सुरुवाती वर्षमा उनी मेसीको खेलका कारण अधिकांश समय ओझेलमा रहे । यसपल्ट उनको खेल कस्तो रह्यो भने उनी मेसीसँगै चर्चामा रहन सफल भए । नेयमार यसक्रममा आफूलाई अब्बद दर्जाको खेलाडी सावित गर्न सफल छन् ।
नोभाक जोकोभिच : विश्व टेनिसमा पुरुषतर्फ नोभाक जोकोभिच छाए । विश्व नम्बर १ खेलाडी जोकोभिचले सन् २०१५ मा ११ वटा उपाधि जिते, त्यसमा चारमध्ये तीन ग्रान्ड स्लाम पनि छन्, अष्ट्रेलियन ओपन, यूएस ओपन र विम्बल्डन । २८ वर्षीय जोकोभिचले अहिलेसम्म दस ग्रान्ड स्लामसहित ५९ उपाधि जितिसकेका छन् । सर्बियाली जोकोभिचले सन् २०१६ मा पुरस्कार राशिबाट मात्र २ करोड १० लाख डलर जिते । उनले पाँचौं ग्रान्ड स्लाम मानिने वर्षको अन्तिम प्रतियोगिता वल्र्ड टुर पनि जिते । जोकोभिचले यो प्रतिष्ठित प्रतियोगिता जितेको लगातार चौथो अवसर थियो ।
फ्लोयेड मेवेदर : विश्व खेलकुदमा खेलेरै सर्वाधिक कमाउने खेलाडीमा लामो समयदेखि अघि छन्, बक्सिङका अमेरिकी खेलाडी फ्लोयेड मेवेदर । सन् २०१५ मा उनले संन्यासको घोषणा पनि गरे । मेवेदर आफ्नो पूरा खेल जीवनमा कहिल्यै पराजित भएनन् । यो वर्ष उनले फिलिपिन्सका म्यनी प्याकियोलाई हराएको भिडन्त सर्वाधिक चर्चित रह्यो । यो भिडन्त विश्व बक्सिङ इतिहासकै सबैभन्दा महँगो भिडन्त थियो । उनको अन्तिम खेल आन्द्रे बेर्टोविरुद्ध रह्यो । मेवेदरले कुल ५ फरक तौल समूहमा विश्व बक्सिङको उपाधि जिते ।
माइकल स्टार्क : अष्ट्रेलियाका यी बायाँहाते बलर आफ्नै देशमा भएको वान डे विश्वकपका ‘म्यान अफ द सिरिज’ रहे । ब्याट्सम्यानको प्रभुत्व चलेको विश्वकपमा बलरका रूपमा उनले आफूलाई अब्बल सिद्ध गर्नु आफैंमा ठूलो कुरा थियो । केही समयअघिसम्म उनले आफ्नो प्रतिभाअनुसार खेल्न नसकेको आरोप थियो तर यसलाई उनले विश्वककपमा गलत सावित गरे । स्टार्क टेस्ट क्रिकेटमा सर्वाधिक तीव्र गति बलिङ गर्ने खेलाडी पनि हुन् र उनले यो कीर्तिमान यसै वर्ष आफ्नो नाममा लेखाएका हुन् । स्टार्कले न्युजिल्यान्डविरुद्धको खेलमा १६० दशमलव ४ किलोमिटरको गतिले बलिङ गरेका थिए ।
सेरेना विलियम्स : टेनिसको महिला स्पर्धामा सेरेना विलियम्स हाबी रहिन्, त्यो पनि आफ्नो खेल जीवनको अन्त्यतिर । अमेरिकी खेल पत्रिका स्पोर्टस इलुस्ट्रेसनले सेरेनालाई सन् २०१५ को वर्ष खेलाडी पनि घोषित गरेको छ । यी ३४ वर्षीया अमेरिकी केही वर्षअघि चोटका कारण खेल जीवनबाटै टाढिने सम्भावनाबाट गुज्रिएकी थिइन् तर पछि उनले उत्कृष्ट पुनरागमन गरिन् र यो वर्ष उनका लागि भाग्यशाली सावित भयो । विश्व नम्बर १ सेरेनाले तीन ग्रान्ड स्लाम उपाधि जितिन् । यो वर्ष उनले खेलेका ५६ मध्ये ५३ खेल जितिन् र लगातार दोस्रो वर्ष नम्बर १ मा रहिन् ।