वर्ष २०१५ एक्काइसौं शताब्दीकै सर्वाधिक अशान्त वर्षका रूपमा देखा पर्ने कुरा केही राजनैतिक विश्लेषकहरूले बताइरहेका छन् । राजनैतिक वा सामाजिक दृष्टिकोणले मात्र नभै प्राकृतिक प्रकोपको बढ्दो क्रमका कारण पनि वर्ष २०१५ लाई निकै संवेदनशील मानिएको छ ।
यो वर्ष यो संसार विगतका वर्षको तुलनामा अझ बढी आतंकी विभिषिकाबाट ग्रस्त देखियो । सबैभन्दा ठूलो आतंकको पर्याय बन्यो इस्लामिक स्टेट अर्थात् आईएसको आतंक । आईएस अर्थात् इस्लामिक स्टेट नामक संगठनले मच्चाएको आतंकले इराक र सिरियालाई मात्र प्रभावित गरेन, त्यसको छायाँ विश्वभर देखियो । अमानवीय क्रूरताको पराकाष्ठासम्म पुगेको आईएसको आतंक यतिबेला संसारका सबैजसो क्षेत्रमा फैलिसकेको छ भन्ने कुराको संकेत पेरिसमा भएको पछिल्लो आक्रमणले प्रमाणित गरेको छ ।
आईएसकै आतंकका कारण लाखौं सिरियाली नागरिक देश छोड्न बाध्य भए । युरोपमा सिरियाली नागरिकको ओइरो लाग्यो । खासगरी बाल्कन क्षेत्रका देशमा ठूलो संख्यामा सिरियाली शरणार्थी देखा परे । कतिपय विश्लेषकले शरणार्थीका रूपमा युरोप पसेका सिरियालीहरूमा इस्लामिक स्टेटका आतंककारीहरू पनि भएको टिप्पणी गरे । यस्तो टिप्पणीले एकातिर शरणार्थीहरूको आँसुलाई सस्तो बनायो भने अर्कातिर पेरिसमा भएको हमलामा सिरियाली नागरिकको संलग्नताले त्यस्ता विश्लेषकहरूको विचारलाई बल पुर्यायो ।
नोभेम्बर महिनाको दोस्रो साता पेरिसमा विश्वलाई नै स्तब्ध पार्ने गरी आतंककारी हमला भयो । इस्लामिक स्टेटले गरेको उक्त हमलामा परी डेढ सयभन्दा बढीको ज्यान गयो । विश्वले निन्दा गरेको उक्त हमलालाई दोस्रो विश्वयुद्धपछिकै ठूलो हमलाका रूपमा हेरियो । यसअघि पनि फ्रान्सको पेरिसमा व्यङ्ग्य पत्रिका ‘चार्ली हेब्दो’को कार्यालयमा दुई इस्लामिक बन्दुकधारी प्रवेश गरेर अन्धाधुन्द गोली चलाउँदा पत्रिकाका प्रधान सम्पादकसहित १२ जनाको ज्यान गएको थियो । जनवरीको पहिलो साता भएको उक्त आक्रमणमा बन्दुकधारीले स्वचालित राइफल तथा रकेट लन्चर प्रयोग गरेका थिए । कार्यालयमा उत्पात मच्चाइसकेपछि उनीहरू ‘पैगम्बरको बदला लियौं’ भन्दै फरार भएका थिए । त्यसपछि उनीहरूले सडकमा रहेका एक प्रहरीको हत्या गर्नुका साथै पाँच जना सर्वसाधारणलाई घाइते बनाएका थिए ।
इस्लामिक स्टेटको बढ्दो गतिविधि नियन्त्रण गर्न रूसले युद्धको घोषणा गर्यो । इस्लामिक स्टेटका नाममा रूसले सैनिक गतिविधि बढाएपछि अमेरिका पनि आफ्ना सहयोगी राष्ट्रहरूसहित इस्लामिक स्टेट विरुद्ध युद्धको घोषणा गर्न बाध्य भयो । यसै क्रममा टर्कीले रूसी लडाकु विमानलाई आफ्नो सीमाक्षेत्रमा खसालेपछि इस्लामिक स्टेटविरुद्धको युद्ध रूस र अमेरिकाको स्वार्थमा विभाजित भयो । इस्लामिक स्टेटविरुद्ध अमेरिका र रूस दुई ध्रुवमा विभाजित भएपछि अहिले यो संकट थप गहिरिंदै गएको छ ।
वर्षको सुरुवातमै उत्तर कोरिया र दक्षिण कोरियाबीच सीमाक्षेत्रमा विवाद उत्पन्न भयो । उत्तर कोरियाले सिमामा चलिरहेको दुष्प्रचार बन्द गर्न अन्तिम मौकाका रूपमा दक्षिण कोरियालाई चेतावनी दिंदै त्यस्तो दुष्प्रचार बन्द नगरिए भीषण युद्ध गर्ने चेतावनी दियो । संयुक्त राष्ट्रसंघको कार्यक्रममै उत्तर कोरियाका उप–राजदूतले उक्त चेतावनी दिएपछि यो विषय अन्तर्राष्ट्रिय समुदायबीच बहसको विषय बन्यो । त्यतिबेला उत्तर कोरियाली नेता किम जोंगले युद्धका लागि तयार रहन भनेका थिए । त्यसपछिको एक बैठकमा दक्षिण कोरियाली र अमेरिकी रक्षामन्त्रीले उत्तर कोरियाका विरुद्ध एक भएर लड्ने जनाउँदा दक्षिण कोरियाका राष्ट्रपतिको कार्यालयले उत्तर कोरियाविरुद्ध गतिलो कारबाही गर्ने विज्ञप्तिसमेत निकालेर विवादलाई उत्कर्षमा पुर्याएको थियो ।
चीनले आफ्नो दक्षिणी सिमानामा पर्ने समुद्रमा कृत्रिम टापु बनाएपछि अमेरिकाले त्यसको कडा शब्दमा आपत्ति जनायो । अमेरिकी रक्षामन्त्री ऐस्टन कार्टरले चीनले अन्तर्राष्ट्रिय कानुन मिचेर टापु बनाएकाले तत्काल निर्माण रोक्न आग्रह गरे । उक्त घटनाले एसिया–प्रशान्त क्षेत्रमा शान्तिप्रक्रिया बिग्रने बताइयो । चीनले उक्त टापुलाई सामरिक अखडा बनाउन लागेको आरोप पनि लगाइयो । यो विषयमा भियतनाम, मलेसिया, फिलिपिन्स, ताइवान आदि मुलुकमा विरोध भएको थियो । चीनले टापु निर्माण कानुनसम्मत भएको भन्दै अमेरिकाको तर्कको खण्डन गर्यो । यो घटना सेलाउन नपाउँदै पूर्वी चीनको समुद्रमा घटेको एउटा घटनाका कारण चीन र जापानबीचको सम्बन्ध थप चिसियो ।
यसै वर्ष लामो समयदेखि विश्व समुदायबाट अलग थलग रहेको इरान अन्तर्राष्ट्रिय आणविक ऊर्जा आयोगका सर्तहरू स्वीकार गरेर आफ्ना आणविक केन्द्रहरू आयोगका निरीक्षकहरूका लागि खुला गरेपछि इरान विश्व समुदायमा फर्किएको छ । यो घटनासँगै अब विश्व बजार इरानी तेलका लागि खुला हुने अनुमान गरिएको छ । यसै वर्ष कच्चा तेलको मूल्य ३९ डलरसम्म झरेपछि तेलको व्यापारले सिर्जना गर्ने राजनैतिक दबाब कम हुँदै गएको अनुमान गरियो । यद्यपि अमेरिकी डलरको बढ्दो मूल्यका कारण तेलको घटेको मूल्यको लाभ गरिब मुलुकहरूले प्राप्त गर्ने अवस्था देखिएन ।
यसै वर्ष साउदी अरेबियाबाट एउटा सकारात्मक समाचार आयो । त्यो के भने त्यहाँको कट्टर इस्लामिक सरकारले महिलाहरूका लागि मतदानको अधिकार स्वीकृत गर्नु । त्यसपछि साउदी अरेबियामा भएको स्थानीय निकायको निर्वाचनमा सयांै महिला उम्मेदवार देखा परे जसमध्ये २० जनाले निर्वाचन जितेर साउदी अरेबियाको इतिहासमा नयाँ आयाम रचे ।
वर्षको अन्त्यतिर फ्रान्सको राजधानी पेरिसमा आयोजना गरिएको जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनले विश्वको तापक्रम बढ्ने दरलाई २ डिग्री सेल्सियसमै सीमित गर्ने ऐतिहासिक सम्झौता गर्यो । यो सम्झौताको इमानदारीका साथ कार्यान्वयन भए यसअघि प्रक्षेपण गरिएको ४ दशमलब ५ डिग्री सेल्सियसका दरले पृथ्वीको तापक्रम बढ्ने अनुमानलाई नियन्त्रण गर्नेछ । यसबाट पृथ्वीका विभिन्न भागमा देखा परेका पर्यावरणीय संकटबाट त्राण पाउन सकिनेछ ।
माल्दिभ्सका पूर्वराष्ट्रपति मौहम्मद नसिदलाई त्यहाँको अदालतले १३ वर्ष जेलसजायको फैसला सुनाएपछि त्यसको चौतर्फी आलोचना भयो । सन् २००८ मा राष्ट्रपति निर्वाचित भएका नसिदलाई विद्रोहबाट २०१२ मा अपदस्थ गरिएको थियो । माल्दिभ्सबाटै आएको अर्को समाचारअनुसार त्यहाँका उपराष्ट्रपति अहमद अधिव आफ्नै राष्ट्रपतिको हत्या प्रयास गरेको अभियोगमा पक्राउ परे । राष्ट्रपति अब्दुलाह यामिन चढेको डुंगामा बम विस्फोट भएपछि त्यसको आरोप उपराष्ट्रपतिमाथि लगाइएको थियो ।
अमेरिकाको एक टेलिभिजनका लागि प्रत्यक्ष प्रसारण गरिरहेका एक संवाददाता र क्यामेरामेनको गोली हानी हत्या गरियो । एलिसन पार्कर नामकी संवाददाता भर्जिनियाको मोनेटाका नजिकै व्रिजवाटर प्लाजामा अन्तर्वार्ता लिइरहेकी थिइन् भने क्यामेरामेन एडमवार्डए त्यसको दृश्यांकन गरिरहेका थिए । त्यति नै बेला एक वन्धुकधारीले उनीहरूलाई निसाना बनायो । अगस्टको अन्तिम साता घटेको उक्त घटनापछि बन्दुकधारीले स्वयं आफूलाई गोली ठोकेर आत्महत्या गरेको थियो । घटनालगत्तै डब्लुडीबीजे च्यानलका स्टुडियोमा प्रस्तोताले २७ वर्षीया संवाददाता पार्क तथा २४ वर्षीय क्यामेरामेन एडमको हत्या भएको समाचार पढेका थिए ।