साप्ताहिक संवाददाता
नेपालमा पहिलो पटक घरपालुवा कुकुरहरू र्याम्पमा प्रस्तुत भएका छन् । काठमाडौंमा आयोजित ‘डग अन द र्याम्प’ शीर्षकको फेसन शोमा ६५ वटा घरपालुवा सुन्दर तथा आकर्षक कुकुरहरू आफ्ना संरक्षकसहित र्याम्पमा प्रस्तुत भएका थिए । आरएस ग्रुप इन्टरटेन्मेन्ट तथा शोबिज नेपालले आयोजना गरेको कुकुरहरूको फेसन शोका क्रममा कुकुरहरूले विभिन्न हाउभाउ प्रस्तुत गर्दै दर्शकहरूलाई मनोरञ्जन प्रदान गरेका थिए । काठमाडौंमा आधा दर्जन केनल क्बलका कुकुरबाहेक अधिकांश कुकुर आफ्ना संरक्षकसहित फेसन शोमा सहभागी भएका थिए । कुकुरहरू मानिसको नजिकको साथीका रूपमा चिनिएकाले मानिस र कुकुरको आत्मीयता दर्साउन यो फेसन शो आयोजित गरिएको शोबिज इन्टरटेन्मेन्टका प्रबन्धक प्रवल गौतमले बताए । करिब ६ सय दर्शकको उपस्थितिमा सम्पन्न फेसन शोमा कुकुरको हेरचाह, स्वास्थ तथा खानपिनका बारेमा कुकुर विशेषज्ञमार्फत जानकारी गराइएको थियो ।