सन् २०१५ ओलम्पिकको वर्ष थिएन, न त एसियाली खेलकुदकै । यस्तै यो वर्ष विश्वकप फुटबलको वर्ष पनि होइन, तर पूरा वर्ष फुटबलमय रह्यो भन्दा अन्यथा हुँदैन । यो वर्ष फुटबल लगातार समाचारमा रर्यो । फुटबलको चर्चा कहिल्यै सेलाएन, चाहे त्यो मैदानभित्रको खेल होस् अथवा मैदानबाहिरको विवाद । मैदानभित्र भने तीन ठूला प्रतियोगिता भए— एसियाली, दक्षिण अमेरिकी र अफ्रिकी ।
एसियामा अष्ट्रेलिया, दक्षिण अमेरिकामा चिली तथा अफ्रिकामा आइभरीकोस्ट विजेता रहे । अष्ट्रेलियाले एसियाली फुटबलमा प्रवेश गरेयता अहिलेसम्मकै सबैभन्दा ठूलो उपाधि जित्यो, त्यो पनि आफ्नै भूमिमा । दक्षिण अमेरिकामा चिलीले पनि आफ्नै भूमिमा उपाधि जितेको थियो र यस क्रममा उसले अर्जेन्टिनालाई हराएको थियो । त्यस क्षेत्रका अन्य बलिया टिम ब्राजिल र उरुग्वेले पनि खासै केही गर्न सकेनन् ।
सन् २०१५ भने महिला विश्वकपको वर्ष रह्यो । क्यानाडामा सम्पन्न महिला विश्वकप निकै लोकप्रिय सावित भयो । उपाधि भने अमेरिकाले जितेको थियो, जापानलाई हराएर । फुटबलमा सबैभन्दा लोकप्रिय प्रतियोगिता भने युरोपेली च्याम्पियन्स लिग नै रह्यो जसमा बार्सिलोना च्याम्पियन भएको थियो । धेरैले सन् २०१५ बार्सिलोना क्लबको नाममा रहेको व्याख्या पनि गरे ।
बार्सिलोनाले च्याम्पियन्स लिगको फाइनलमा इटालीको युभेन्ट्सलाई हराएको थियो । बार्सिलोनाले यो वर्ष च्याम्पियन्स लिग मात्र होइन, घरेलु स्पेनी ला लिगा, कोपा डे रे तथा वर्षको अन्तमा फिफा क्लब विश्वकप पनि जित्यो । बार्सिलोनालाई यो सफलता दिलाउन फरवार्डका तीन खेलाडीले महत्त्वपूर्ण भूमिका खेले, लियोनल मेसी, नेयमार र लुइस स्वारेजले । त्यसमध्ये पनि यो वर्ष मेसीको जादुयी फुटबलले फेरि सबैको मन जित्यो ।
क्रिकेटमा २०१५ वान डे विश्वकपको वर्ष रह्यो । अस्ट्ेरलिया र न्युजिल्यान्डमा फेरि ५० ओभरको क्रिकेट फर्कियो र यसक्रममा पूरा खेल परिवर्तनको क्रमबाट गुज्रियो । बलमाथि ब्याट पूर्णत: हाबी रह्यो र धेरै खेलमा ठूला–ठूला स्कोर बने, ४ सय रनभन्दा माथिका । आखिरमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) यो एकपक्षीय प्रभुत्व घटाउन बाध्य भयो र बलरका पक्षमा केही नियम बने ।
प्रतियोगिताको विजेता भने फेरि एकपटक अस्ट्ेरलिया भयो । उसले फाइनलमा न्युजिल्यान्डलाई ७ विकेटले हराएर विश्वकै सर्वाधिक सफल टिममा आफ्नो नाम दर्ता गरायो । सेमिफाइनलमा अस्ट्ेरलियाले भारत तथा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई हराएका थिए । पूरा प्रतियोगितामा आक्रामक खेलेको दक्षिण अफ्रिका फेरि एकपटक अभागी सावित भयो । प्रतियोगितामा सर्वाधिक खराव प्रदर्शन शक्ति टिम इङल्यान्डको रह्यो, तर उही टिमले सन् २०१५ को एसेज सिरिजमा गजब खेल्यो ।
पूरा वर्षको सबैभन्दा ठूलो टेस्ट आकषर्ण रहेको एसेज इङल्यान्डका लागि अपनेक्षित रह्यो । पाँच टेस्टको सिरिज इङ्ल्यान्डले ३–२ ले जित्यो । यसै वर्ष टेस्ट सिरिज नयाँ प्रयोगबाट गुज्रियो । अष्ट्रेलिया र न्युजिल्यान्डबीच पहिलोपल्ट डे एण्ड नाइट टेस्ट चल्यो । टेस्ट क्रिकेटमा पहिलो पल्ट पिंक रंगको बल पनि प्रयोगमा आयो । यसलाई टेस्ट क्रिकेट बचाउने योजना मानिएको छ ।
सन् २०१५ टेनिसमा पुरुषतर्फ नोभाक जोकोभिच र महिलातर्फ सेरेना विलियम्सको वर्ष रह्यो । ग्रान्ड स्लाममा उनीहरूकै प्रभुत्व रह्यो । जोकोभिचको प्रभुत्वको अर्थ पुरुष खेलाडीमा रोजेर फेडेरर र राफेल नाडाल अब पहिलेका जस्ता खेलाडी रहेनन् भन्ने संकेतका रूपमा पनि हेरियो । धेरैको प्रश्न थियो, के अब विश्व टेनिसका यी दुई खेलाडीले फेरि कुनै ग्रान्ड स्लाम उपाधि जित्न सक्लान त ? धेरैको अनुमान छ, अब सक्दैनन् ।
सन् २०१५ मा सर्वाधिक चर्चाको प्रतियोगिता थियो, इङल्यान्डमा सम्पन्न रग्बी विश्वकप । रग्बीमा सबैभन्दा सफल देश मानिन्छ– न्युजिल्यान्ड । न्युजिल्यान्डले नै यो विश्वकप पनि जित्यो र फाइनलमा छिमेकी अष्ट्रेलियालाई सजिलै हरायो । न्युजिल्यान्ड प्रतियोगितामा डिफेन्डिङ च्याम्पियनका रूपमा प्रवेश गरेको थियो र उपाधि रक्षा गर्न सफल पनि भयो । न्युजिल्यान्ड रग्बी विश्वकप तीन पल्ट विश्वकप जित्ने देश पनि भयो ।