सन् २०१५ मा विश्वभर सञ्चालित वेबसाइटहरूबीच निकै उतारचढाव देखियो । सन् २०१४ मा टप ५०० को सूचीमा पुछारमा रहेका केही वेबसाइट–२०१५ मा निकै अगाडि देखिए भने २०१५ मै सञ्चालनमा आएका कतिपय वेबसाइट पनि अग्रपंक्तिमा देखिए । विशेषत: सोसियल साइट, न्यूज साइट, सर्च इन्जिन तथा इकमर्स साइटहरू अग्र स्थानमा छन् ।
गुगल : यो सूचीको पहिलो स्थानमा सर्च इन्जिन गुगल छ । केही नयाँ कुरा खोज्नुपर्यो अथवा आफूलाई जानकारी नभएको कुरा पत्ता लगाउनुपर्यो अथवा नयाँ विषयमा जानकारी लिनुपर्यो भने गुगलको सहारा लिइन्छ । ४ सेप्टेम्बर १९९८ देखि सञ्चालनमा आएको गुगलका संस्थापक ल्यारी पेज र सर्जिन ब्रेन हुन् । विश्वभर गुगलमा ५९ हजार ९ सय ७६ जना कर्मचारी कार्यरत छन् । गुगलले सर्च इन्जिनका साथै मेल, न्यूज, क्लाउड, एडभर्टाइज, सफ्टवेयर जस्ता थुप्रै सेवा प्रदान गर्दै आएको छ ।
फेसबुक : ४ फेब्रुअरी २००४ देखि सञ्चालनमा आएको सामाजिक संजाल फेसबुक यो सूचीको दोस्रो स्थानमा छ । यसका संस्थापक मार्क जुकरवर्ग हुन् । इस्टाग्राम, ह्वाट्सएप, अकुलस, प्राइभेटकोर फेसबुकका सहयोगी कम्पनी हुन् । यसका सक्रिय प्रयोगकर्ता १ दशमलव ४४ विलियन रहेको कम्पनीको दाबी छ । फेसबुकले विभिन्न देशमा नि:शुल्क इन्टनेट पनि प्रदान गर्दै आएको छ । सोसियल मिडियाका रूपमा समेत फस्टाउँदै गएको फेसबुक चीन, इराक जस्ता केही मुलुकमा भने प्रतिबन्धित छ ।
युट्युब : भिडियोहरू अपलोड गर्न, हेर्न र डाउनलोड गर्ने काममा युट्युब लोकप्रिय छ । सन् २००५ को फेब्रुअरी १४ देखि सञ्चालनमा आएको युट्युब विश्वभर विभिन्न भाषामा उपलब्ध छन् । युट्युब विश्वभर प्रयोग हुने वेबसाइटहरूको सूचीको तेस्रो स्थानमा छ ।
बडु : १ जनवरी २००० देखि सञ्चालनमा आएको चिनियाँ पब्लिक साइट बडु यो सूचीको चौथो स्थानमा छ । यो साइटमा ४० हजार भन्दा बढी कर्मचारी कार्यरत छन् । यसका संस्थापक रोविन ली हुन् ।
अमेजन : इकमर्सका लागि विश्वभर लोकप्रिय अमेजन यो सूचीको पाँचौं स्थानमा छ । सन् १९९४ मा जेफ बेजोसले स्थापना गरेको यो साइटले विश्वभर सेवा प्रदान गर्दै आएको छ । यसमा विश्वभर २ लाख २२ हजारभन्दा बढी कर्मचारी कार्यरत छन् ।
याहु : सन् १९९४ देखि सञ्चालनमा आएको याहु यो सूचीको छैठौं स्थानमा छ । यसका संस्थापक जेरीयाङ तथा डेभिड फिलो हुन् । याहुले न्यूज, मेल, फाइनान्स, स्पोट्स, स्क्रिन, सर्च, म्यासेन्जर, एन्सर, टम्बलर, फ्लिकर आदि सेवा प्रदान गर्दै आएको छ ।
विकिपिडिया : विकिपिडिया फ्रि इनसाइक्लोपेडिया हो । यसका संस्थापक जिम्मी वेल्स तथा ल्यारी सेन्जर हुन् । विभिन्न तथ्य र जानकारीको अध्ययन, सम्पादन एवं लेखनका लागि यसको प्रयोग हुन्छ । सन् २००१ जनवरी १५ देखि सञ्चालनमा आएको यो साइट विश्वका अधिकांश प्रमुख भाषामा उपलब्ध छ । यो साइट विश्वभरका वेबसाइटहरूमध्ये सातौं स्थानमा छ ।
क्यूक्यू : सन् १९९८ मा स्थापित चिनिया साइट क्यूक्यूमा म्यासेन्जर, गेम, मेल, सर्च इन्जिन, मिडिया आदिको सुविधा छ । यो साइट आठौं स्थानमा छ ।
ट्विटर : माइक्रोब्लगिङ साइट ट्विटर सन् २००६ देखि सञ्चालनमा आएको हो । यसका संस्थापक ज्याक डर्सी, नअ ग्लास, विज स्टोन तथा इभान विलियम हुन् । विश्वभर सञ्चालित वेबसाइटहरूको सूचीमा यो ९ औं स्थानमा छ ।
टाओवाओ : दसौं स्थानमा रहेको अलिबाबा ग्रुपको टाओवाओ साइट पछिल्लो समयमा निकै लोकप्रिय हुँदै गएको छ । मे २००३ देखि सञ्चालनमा आएको यो साइट इकमर्ससँग सम्बन्धित छ ।