साप्ताहिक संवाददाता
दमनजीसँग त तपाईंको सम्बन्ध बिग्रिएको धेरै नै भैसक्यो । अहिले त शिवहरिजीसँग पनि राम्रो छैन भन्ने सुनिन्छ नि ? कार्यक्रमहरूमा पनि एक्ला–एक्लै जान थाल्नुभएको छ । यथार्थ के हो ?
रामचन्द्र हुमागाई
कसैसँग सँगै काम नगर्दैमा सम्बन्ध बिग्रिएको भन्ने हुँदैन, दमन र शिवहरि मेरा सहधर्मी हुन् । उहाँहरूसँग मेरो अत्यन्त राम्रो सम्बन्ध छ । कहिले सँगै काम गर्ने वातावरण मिल्छ, कहिले मिल्दैन । फरक यति हो ।
श्रीपेचधारी राजा र श्रीपेचविहीन राजाहरूमा के फरक छ ?
हरि
श्रीपेचधारी राजालाई थन्क्याउन सकिँदो रहेछ, श्रीपेचविहीन राजालाई चाहिँ थन्क्याउन सकिँदो रहेनछ । दुवै राजा देश र जनताको हितमा छैनन् ।
तपाईंले अभिनय गर्दा अलि ठूलो आवाज निकालेर ओभर एक्टिङ गरेजस्तो लाग्दैन ?
विकास रेग्मी
कुनै–कुनै बेला त्यस्तो भएको हुन सक्छ । कहिलेकाहीं हामी पनि आवेगमा आउछौं, कहिले ठूलो आवाज गर्नु पनि पर्ने हुन्छ । यदि ओभर नै भएछ भने त्यसलाई सच्याउँला । मेरो आवाज फिक्स छैन, घटाउन–बढाउन नमिल्ने ।