साप्ताहिक संवाददाता
प्रदीप खड्का, अभिनेता
बुवा–आमा
आफ्ना आमा–बुवा हरेकलाई प्यारा लाग्छन् । म पनि मेरो बुवा टेकबहादुर खड्का तथा आमा शारदा खड्कालाई असाध्यै प्रेम गर्छु । मेरा आमा र बुवाको उमेरमा जम्मा एक वर्षको फरक छ । बुवा २० तथा आमा १९ वर्ष भएका बेला उहाँहरूको विवाह भएको रहेछ । विवाह भएको एक वर्षमै म जन्मिएँ । म निकै कम तौलको थिएँ रे, जसका कारण मलाई हुर्काउन उहाँहरूलाई निकै समस्या भयो । बुझ्ने भएपछि यो कुरा सुन्दा मलाई उहाँहरूप्रति गौरवको महसुस हुन्छ । बुवा र मबीच धेरै वर्षको ग्याप नभएकाले पनि हामी साथीजस्तो छौं, धेरै कुरा हामीबीच सेयर हुन्छ । एकप्रकार म उहाँहरूको नजिकको साथी जस्तो छु ।
स्पेस
‘स्पेस’ मैले घरमा पालेको सुन्दर अनि आकर्षक कुकुरको नाम हो । करिब तीन वर्षदेखि यो हाम्रो घरको सदस्यका रूपमा छ । करिब तीन महिनाको हुँदा मेरो एक जना साथीमार्फत यो कुकुर हाम्रा घरमा आइपुगेको हो । सानैदेखि पालेकाले मलाई स्पेसको असाध्यै माया लाग्छ । उ राति मसँगै सुत्छ ।
मेरो देश
मलाई मेरो देश नेपालको असाध्यै माया लाग्छ । नेपाल एक मात्र त्यस्तो देश हो जहाँ अग्लो सगरमाथादेखि गौतम बुद्ध जन्मस्थल लुम्बिनीसम्म छ । प्राकृतिक रूपमा पनि नेपाल विश्वकै धनी देश हो भन्दा फरक पर्दैन ।
कलाकारिता
नेपाल वानको ‘भुराभुरीको हल्लाखल्ला’ कार्यक्रममा बाल–प्रस्तोता भएदेखि नै मलाई टेलिभिजन, क्यामेरा, चलचित्र, अभिनयजस्ता कुराले छोएको थियो । आज शुक्रबारदेखि प्रदर्शन हुने चलचित्र ‘प्रेम गीत’ मा मुख्य भूमिका निर्वाह गरेपछि तथा चलचित्रका गीत तथा प्रोमोबाट पाएको प्रतिक्रियापछि अब म यो क्षेत्रबाट टाढा जानै सक्दिनँ भन्ने लाग्छ । मलाई नाम तथा पहिचान दिने यो क्षेत्रलाई म असाध्यै प्रेम गर्छु ।
बाइक
कक्षा ११ मै अध्यररत छँदा किनेको बाइक ‘युनिकर्न’ लाई म असाध्यै प्रेम गर्छु । एसएलसीपछि मैले घरमा २ सय २० सिसीको पल्सर किनी दिने आग्रह गरेको थिएँ । भनेको बाइक नकिन्ने बुवाको निर्णयको विरोध गर्दै केही दिन घरै छाडें । एक सातापछि बुवाले घर फर्काउनुभयो । त्यतिबेला म केही दुब्लो–पातलो भएकाले १ सय ५० सिसीको युनिकर्न किनिदिनुभयो । त्यो बाइक किनेदेखि आजसम्म यसले मलाई साथ दिइरहेको छ । संघर्षका दिनमा हरेक ठाउँमा मलाई पुर्याउने यो बाइक मलाई असाध्यै प्रिय छ ।
गिटार
म संगीतकर्मी त होइन तर फुर्सदमा गिटार बजाउनु मेरो सौख हो । निकै दु:ख र रहर गरेर मैले केही वर्षअघि एउटा गिटार किनेको थिएँ । दसैंमा दक्षिणाबाट जम्मा गरेको पैसाले किनेको उक्त गिटार केही दिन पनि बजाउन नपाउँदै गुमाउनुपर्यो । एक जना साथीले तिहारमा देउसी खेल्न गिटार चाहियो भनेपछि दिएँ । भोलिपल्ट त त्यो गिटार हरायो भन्दै फोन गर्यो । किनेर राम्रोसँग बजाउन समेत नपाएको उक्त गिटारलाई म जीवनभर बिर्सन सक्दिनँ ।
साइकल
म सानै हुँदा बुवाले एउटा साइकल किनिदिनुभएको थियो । एसएलसी दिने बेलासम्म म त्यही साइकल चढ्थँे । त्यो साइकल मेरो साथी जस्तै थियो । त्यो पनि एक जना साथीको कारण गुमाउनुपर्यो । एउटा ब्यान्डको संगीतकर्मी साथीले नेपाल बन्दको दिन ठमेल जानुपर्यो भनेर मागेर लिएर गएको त्यो साइकल मैले आजसम्म फिर्ता पाएको छैन । अहिले पनि त्यो साइकललाई सम्झँदा आँखाभरि आँसु आउँछ ।
दुई चलचित्र
मलाई अभिनेताका रूपमा पहिचान दिने पहिलो चलचित्र हो— ‘स्केप’ । यो चलचित्रका लागि मैले एक वर्ष समय दिएको थिएँ । पटकथा लेखनदेखि प्रदर्शनसम्म आफैं खटिएको यो चलचित्रको असाध्यै माया लाग्छ । डी सिने एवार्डमा म यही चलचित्रबाट डेब्यु अभिनेताका रूपमा मनोनीतसमेत भएको थिएँ ।