साप्ताहिक संवाददाता
हे मुन्द्रे दाजु, तपाईंको भूमिका जिरे खुर्सानी सुरु हुँदादेखि एउटै छ । फरक शैली भएन भने त चिनी पनि तीतो हुन्छ । हजुरको महत्त्त्व पनि फिक्का हुँदै जान्छ ? अर्को कुरा, भूकम्प पिडितहरूको सहयोगमा तपाईंको खासै सक्रियता देखिएन, किन हो ? तपाईं बराबरको कलाकार त घरै बेच्न तयार हुनुभयो, तपाईं त सक्रिय हुनुभएन नि ?
जगत बुल्बुल
अत्यन्तै राम्रो प्रश्नका लागि धन्यवाद । जिरेखुर्सानीमा फरक शैली नभएकोमा केही सहमत छु र परिवर्तन गर्ने सोचमा पनि छु, तर भूकम्पमा सक्रियता नदेखाएको भन्ने कुरामा असहमत छु । सिन्धुपाल्चोकलगायत अन्य १२ वटा जिल्लामा आफूले सकेको राहत र नि:शुल्क कार्यक्रम लिएर गएको छु । अहिलेसम्म २९ ठाउँमा कार्यक्रम गरिसकें । म आफूले गर्न सक्ने कुरा मात्रै गर्छु, मसँग बेच्न मिल्ने घर छैन । मैले सकेको गरेको छु प्रमाण चाहिन्छ भने दिन तयार छु ।
तपाईंको विवाह कहिले हुन्छ ?
अनिल आचार्य
मुन्द्रे भन्ने पात्रलाई विवाह गरेर केही हुँदैन भन्ने थाहा छ । ऊ राजेश हमालबाट प्रभावित छ । राजेश हमालले जस्तै कुनै दिन सबैलाई झुक्याउन सक्छ ।
तपाईंको हाइट कति फिट छ ?
देव तामाङ
मैले अहिलेसम्म नापेको छैन । यदि तपार्इं चाहनुहुन्छ भने म नपाउन तयार छु । सागरमाथाको हाइटजस्तै घटेको चाहिँ छैन होला ।
मुन्द्रे ब्रो, नाम पुरानो भो, अब कानमा झुम्का लगाएर झुम्के बन्ने कि ?
सन्तोष काउछा
झुम्के र मुन्द्रे त उस्तै–उस्तै भैगो नि । अरू नै नयाँ सोचौं न । फेरि झुम्का त महिलाले पो लगाउँछन् त हैन ?
पृथ्वीनारायणले जोडेको देश हाम्रा भैयाहरूले फुटाए नि ? तपाईं कति नम्बरमा ?
अभिमन्यु अभिजित
पृथ्वीनारायणले सुलोसन र गम कम हालेछन् । त्यसैले फुट्न लागेको हुनुपर्छ, तर नराम्रो हुने गरी फुट्ने छैन । यसलाई फुटाएको होइन, केन्द्र र क्षेत्र तोकेको भन्नुपर्ला । फुटेर कहाँ नै जाला ? देशभित्रै रहने त हो नि । म कति नम्बर पर्छु भन्ने मलाई नै थाहा छैन । जुन नम्बरमा परे पनि देशभित्र परे भैहाल्यो नि ।