साप्ताहिक संवाददाता
दाङ उद्योग वाणिज्य संघको आयोजनामा घोराहीमा सम्पन्न दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवं मध्यपश्चिम औद्योगिक कृषि मेलामा विभिन्न ख्यातिप्राप्त गायकगायिका तथा हास्यव्यंग्य कलाकारले दर्शकलाई पर्याप्त मनोरञ्जन प्रदान गरे ।
महोत्सवमा दाङकै गायिका कोमल वलीले आफू नाच्दै दर्शकहरूलाई पनि नचाइन् । महोत्सवमा प्रत्येक दिन विभिन्न कलाकारले प्रस्तुति दिए । उक्त अवसरमा बद्री पंगेनी, पशुपति शर्मा, रामजी खाँण, जीवन शर्मा, प्रमोद खरेल, देवी घर्ती, हेमन्त शर्मा, प्रजापति पराजुली, चन्द्र शर्मा, माण्डवी त्रिपाठी, प्रशान्त तामाङ, खुमन अधिकारी, शिव परियार, भूमिका गिरी, सुधा रत्न, मञ्जु पौडेल, नायिका झरना थापा, निर्देशक सौगात विष्ट, बालकलाकार अनुभव केसी आदि सहभागी थिए । यसैगरी कलाकार जितु नेपाल, शिवहरि पौडेल, किरण केसी, कमल गाउँले, दीपक थापा आदिले विभिन्न हास्यव्यंग्य प्रस्तुत गरेका थिए ।
यता प्राय: टेलिभिजनमा मात्र देखिने रेस्लिङ खेल प्रत्यक्ष हेर्न पाएपछि दंगाली दर्शक दंग परे । हिमालयन टाइगरको नेतृत्वमा रहेको रेस्लरहरूको समूहले विभिन्न खेल देखाएर सबैलाई चकित तुल्यायो । रेस्लिङमा महिला रेस्लरहरूको भिडन्त विशेष आकर्षणमा रह्यो । यसैगरी हेलिकप्टर यात्रा पनि मेलाको अर्को आकर्षण थियो । महोत्सवका क्रममा हेलिकप्टरमार्फत घोराही बजारका साथै विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन गराइएको थियो ।