साप्ताहिक संवाददाता
उपेन्द्र तिमिल्सिना, कलाकार
करिब १५ वर्षअघि नेपाल टेलिभिजनबाट प्रसारण भएको टेलिश्रृंखला ‘अविरल बग्दछ इन्द्रावती’ मुख्य अभिनेता हुन्– उपेन्द्र तिमिल्सिना । टेलिश्रृंखलामा अभिनय गर्नुभन्दा अघि उपेन्द्रले रंगमञ्चका दर्जनौं नाटकमा अभिनय गरेका थिए । नाटकमा गरेको अभिनयका कारण यो विधामा पारंगत भएका उपेन्द्रलाई निर्देशक बद्री अधिकारीले ‘अविरल बग्दछ इन्द्रावती’ मा मुख्य पात्र ‘सोभिते’ को भूमिकामा प्रस्तुत गरे । एउटा उपन्यासमा आधारित यो श्रृंखला जम्मा ४३ भागको थियो । श्रृंखलाका हरेक भाग उत्कृष्ट भएकै कारण उपेन्द्र सोभितेका रूपमा दर्शकको मनमा बस्न सफल भए । आकर्षक कथा भए पनि श्रृंखलाको अन्त्य भने सोचेजस्तो भएन । दर्शकदेखि श्रृंखलाका प्राविधिक तथा कलाकारहरू पनि यसको अन्त्यप्रति सन्तुष्ट भएनन् । उक्त श्रृंखलापछि करिब एक दर्जन टेलिश्रृंखलामा समेत अभिनय गरेका उपेन्द्रले निर्देशक बद्री अधिकारीकै सहकार्यमा ‘इन्द्रावती’ शीर्षकको चलचित्र निर्माण गर्ने योजना बनाए, जसमा टेलिश्रृंखला जहाँ टुंगिन्छ, त्यहीँबाट नयाँ कथा सिर्जना गरियो । दर्जनौं चलचित्रमा अभिनय तथा सहायक निर्देशक गरेका उपेन्द्र यतिबेला निर्देशकका रूपमा सक्रिय छन् । उनले निर्देशन गरेको टेलिश्रृंखला ‘भरोसा’ विगत दुई वर्षदेखि नेपाल टेलिभिजनबाट प्रत्येक शनिबार साँझ ६:४० बजे प्रसारण भैरहेको छ । यसबीच करिब एक दशकअघि नै निर्माण गरिएको ‘इन्द्रावती’ चलचित्र दर्शकमाझ पुगेको छ । श्रीकृष्ण श्रेष्ठ तथा बिपना थापाको समेत अभिनय रहेको यो चलचित्र चैत १९ गते देखि प्रदर्शनमा आएको थियो ।
चलचित्रमा मुख्य सहायक निर्देशन गरे पनि टेलिश्रृंखलाकै निर्देशनमा सीमित हुनुभयो नि ?
टेलिश्रृंखलामा अभिनेताका रूपमा पदार्पण गरे पनि म पर्दापछाडिको काममा बढी रमाएँ । थुप्रै श्रृंखला तथा चलचित्रमा अभिनयसहित सहायक, मुख्य सहायक निर्देशन पनि गरें । नेपाल टेलिभिजनसँगको तालमेलका कारण अहिले टेलिश्रृंखलाको निर्देशनमा सक्रिय छु ।
चलचित्र ‘इन्द्रावती’ को प्रदर्शन समयमा हुन नसक्ने कारण को हो ?
हामीले करिब एक दशकअघि नै प्रदर्शनका लागि तयार पारे पनि यो चलचित्र निर्धारित समयमा प्रदर्शन हुन नसक्दा दु:ख लागेको छ । चलचित्र समयमै प्रदर्शन हुन नसक्ने धेरै कारण छन् । तीमध्ये पहिलो कारणचाहिँ चलचित्र क्षेत्रको अस्वस्थ प्रतिस्पर्धा तथा एक–अर्काको खुट्टा तान्ने राजनीति नै हो ।
अबको योजना के छ ?
‘भरोसा’ श्रृंखलाको निर्देशनलाई निरन्तरता दिइरहनेछु । त्यसका साथै नयाँ वर्षको थालनीसँगै ‘आर्या’ शीर्षकको चलचित्र निर्माण तथा निर्देशनमा सक्रिय हुनेछु ।