साप्ताहिक संवाददाता
नीमा घर्तीमगर (उसु)
यसपल्टको दक्षिण एसियाली खेलकुदमा नेपालका लागि पहिलो स्वर्ण भित्र्याउने खेलाडी कसरी चर्चाबाट टाढा रहन सक्छिन् ? नीमा घर्तीमगरका लागि गत वर्ष ऐतिहासिक रह्यो र उनी गुमनाम खेलाडीबाट एकैपल्ट स्टार खेलाडी बनिन् । उनले उसुबाट नेपाललाई पहिलो स्वर्ण पदक दिलाइन् । नीमाले खेलेको यो नै पहिलो ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो ।
फुपु ल्हामु खत्री (जुडो)
नेपाली खेलकुदमा जुडोमा केही वर्षअघिसम्म सबैको आकर्षण थियो । पछि यसको स्तर खस्कन थाल्यो । सम्भवत: अब पुराना दिन फर्काउने खेलाडी हुन सक्छिन्, फुपु ल्हामु खत्री । नेपाली जुडोले पाएको पछिल्लो समयकी सबैभन्दा प्रतिशाली खेलाडी हुन्, फुपु ल्हामु । उनले महिलातर्फको ६३ किलोग्राममुनिको तौल समूहको निर्णायक खेलमा भारतकी सुनिबालादेवी हुइदरमलाई हराएकी थिइन् । त्यसैले पनि उनको स्वर्ण विशेष रह्यो । ताप्लेजुङकी २१ वर्षीया फुपु ओलम्पिक छात्रवृत्तिअन्तर्गत हंगेरीको बुडापेस्टमा प्रशिक्षण लिएकी थिइन् ।
गौरिका राणा (पौडी)
गौरिका राणा अहिलेसम्मकी सबैभन्दा सफल पौडी खेलाडी हुन् र उनले यो सफलता प्राप्त गरेकी छिन्, किशोर उमेरमै । एकपछि अर्को राष्ट्रिय कीर्तिमान कायम गरिरहेकी गौरिकाका लागि यसपल्टको दक्षिण एसियाली खेलकुद ऐतिहासिक रह्यो र उनले त्यहाँ १ रजत तथा ३ कांस्य जितिन् । पौडीको दक्षिण एसियाली स्तरमा नेपालले रजत जितेको यो पहिलो अवसर हो । खासमा उनी लन्डनमा बस्छिन् र त्यहीँ पौडीको अभ्यास पनि गर्छिन् । उनको अबको लक्ष्य ओलम्पिकमा नेपालका लागि पदक जित्ने हो ।
बालगोपाल महर्जन (फुटबल)
नेपाली फुटबलमा यसपल्ट सफलताको ट्ेरन्ड सुरु गरेका छन्, बालगोपाल महर्जनले । यी पूर्व राष्ट्रिय खेलाडीको प्रशिक्षणमा नेपालले पहिलो संस्करणको यू–१९ साफ च्याम्पिनसिप जित्यो । सन् १९९३ यता नेपालले कुनै औपचारिक फुटबल प्रतियोगिता जितेको यो नै पहिलो अवसर थियो । त्यसयता महर्जनकै प्रशिक्षणमा नेपालले बंगबन्धु गोल्डकप पनि जित्यो । सन् १९९३ मा राष्ट्रिय टिमले ढाकामा दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेयता नेपाली फुटबलले हात पारेको यो सबैभन्दा ठूलो सफलता थियो ।
राजु शाक्य (फुटबल)
प्रशिक्षक राजुकाजी शाक्यको नेतृत्वमा नेपालले यसपल्टको दक्षिण एसियाली खेलकुदको फुटबलमा स्वर्ण पदक जित्यो र यससँगै शाक्य नेपाली फुटबलकै ‘लेजेन्डर’ फुटबल व्यक्तित्व भए । सन् १९८३ तथा १९९९ मा नेपालले दक्षिण एसियाली खेलकुदमा फुटबलतर्फ स्वर्ण जित्दा उनी त्यसका सदस्य थिए । यसपल्ट उनी प्रशिक्षक थिए र उनको टिमले त्यही सफलता दोहोर्यायो । नेपाली फुटबलमा राजु शाक्य सबैभन्दा चिनिएका अनुहार हुन् । नेपाली फुटबलमा कसैले सबैभन्दा लामो समयदेखि सेवा गरेका छन् भने ती पनि राजु शाक्य नै हुन् ।
विराज महर्जन (फुटबल)
नेपाली फुटबलमा एउटा प्रश्न उठेको थियो, अबको कप्तान को हुनेछन् ? कप्तान हुन योग्य कोही खेलाडी छन् त ? सम्म पनि भनियो । यसै वर्ष त्यसको उत्तर पनि आयो, विराज महर्जनका रूपमा । विराज निकै सोझा खेलाडी मानिन्छन्, अरूले उनलाई हेप्न खोज्छन् पनि भनिन्छ तर उनकै नेतृत्वमा नेपालले बंगबन्धु गोल्डकप तथा दक्षिण एसियाली खेलकुदमा पुरुष फुटबलतर्फ स्वर्ण जित्यो । यस्तोमा विराजको नेतृत्व क्षमतामा प्रश्न उठाउने ठाउँ नै रहेन । सम्भवत: रक्षापंक्तिका यी खेलाडी नेपाली फुटबलका लागि भाग्य पनि हुन् ।
नवयुग श्रेष्ठ (फुटबल)
नेपाली फुटबलका केही स्थापित फरवार्ड यसै वर्ष मैदानबाट हराए अथवा संन्यासको सँघारमा पुगे । त्यसमाथि नेपाली राष्ट्रिय टिम लगातार गोलको खडेरीबाट गुज्रिरहेको थियो । अन्तर्राष्ट्रिय फुटबलमा नेपालले गोल गर्न नसकेको पो हो कि जस्तो पनि भैसकेको थियो, तर त्यसलाई गलत सिद्ध गरे, नवयुग श्रेष्ठले । बंगबन्धु गोल्डकप खेल्न जाने सुरुवाती टिममा उनको नाम थिएन । पछि मात्र उनको नाम थपिएको हो । श्रेष्ठले त्यसको पर्याप्त फाइदा उठाए र ढाकामा माल्दिभ्सविरुद्ध ऐतिहासिक ह्याट्रिक गरे । नवयुग गोलका लागि गुवाहाटीमा पनि उत्तिकै सफल रहे ।
सन्दीप लामिछाने (क्रिकेट)
बंगलादेशमा सम्पन्न युवा विश्वकपमा सहभागी नेपाली खेलाडीमध्ये नायक रहे, लेग स्पिनर सन्दीप लामिछाने । यी १६ वर्षीय चितवनका खेलाडीले पूरा प्रतियोगितामा १४ विकेट लिए । त्यही प्रदर्शनका आधारमा नेपाल प्रतियोगिताको दोस्रो चरण पुगेको थियो । उनले आयरल्यान्डविरुद्ध लिग चरणको खेलमा ह्याट्रिक पनि गरे । लामिछाने अस्ट्ेरलियाली लेग स्पिनर सेन वार्नबाट प्रभावित छन् त्यसैले सन्दीपलाई अन्तर्राष्ट्रिय मिडियाले नेपाली वार्न भनेर पनि उल्लेख गरे ।