साप्ताहिक संवाददाता
वर्ष २०७२ को प्रारम्भ नै महाविपत्तिवाट भयो । नयाँ वर्षलाई स्वागत गरिनसक्दै हजारौंको ज्यान लिने गरी गएको भूकम्प र त्यसपछिको पराकम्पनका कारण गएको पूरैवर्ष नै त्रासदीपूर्ण रह्यो । त्यसका अतिरिक्त सुख्खायामसँगै सल्किएको आगलागी तथा वर्षायामको पहिरोले जनधनमा ठूलो क्षति पुर्यायो । यता मानविय त्रुटीका कारण भएका दुर्घटनाहरूले पनि नेपालीहरूको आँखा ओभाउन दिएन ।
हवाई दुर्घटना
यो वर्ष हवाई दुर्घटनाको कहालीलाग्दो सिलसिला दोहोरियो । वैशाख महिनाको अन्तिम साता भूकम्प प्रभावित क्षेत्र उद्धारमा खटिएको अमेरिकी हेलिकप्टर एकाएक हरायो । त्यसको चार दिनपछि उक्त हेलिकप्टर सिन्धुपाल्चोकको घोर्थली गाविसमा दुर्घटनाग्रस्त अवस्थामा फेला पर्यो । हेलिकप्टरमा २ नेपाली सैनिक तथा ६ अमेरिकी सैनिक सहित ८ जना थिए, जसमध्ये कोही पनि बचेनन् ।
त्यसलगत्तै जेठ महिनामा माउन्टेन हेलिकप्टर्सको हेलिकप्टर सिन्धुपाल्चोकको बलेफीस्थित यामुना डाँडामा दुर्घटना भयो । उक्त दुर्घटनामा पाइलट सुबेक श्रेष्ठसहित अर्का एक नेपाली तथा ६ अमेरिकीसहित ८ जनाको मृत्यु भयो । उक्त हेलिकप्टर भूकम्पपीडितका लागि काठमाडौंवाट सिन्धुपाल्चोकका लागि उडेको थियो । वर्षको करिब अन्त्यतिर आइपुग्दा एकै साता दुई विमान दुर्घटनामा परे । तारा एयरको विमान फागुन १२ गते दुर्घटनाग्रस्त भयो भने त्यसको तीन दिन नबित्दै काष्ठमण्डपको जहाज पनि दुर्घटनामा पर्यो ।
पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमानमा सवार चालक दलका ३ सदस्यसहित २३ यात्रुको दुखद मृत्यु भयो । विहान उडेको उक्त विमान उडान भरेको आधा घण्टा नबित्दै सम्पर्कविहीन भएको थियो । मध्यान्हतिर म्याग्दीको दाना गाविसस्थित केकरवुट्टामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।
तारा एयरको विमान दुर्घटनाको घाउ पुरिन नपाउँदै कालिकोटमा एयर काष्ठमण्डपको विमान दुर्घटनाग्रस्त भयो । नेपालगञ्जवाट १ बच्चा तथा ९ जना यात्रु बोकेर जुम्लाका लागि उडेको उक्त विमान आकस्मात इन्जिनले काम नगरेपछि आपत्कालीन अवतरण गराउने क्रममा कालिकोटस्थित चिलखाया गाउँको खेतमा बजारिन पुग्यो । दुर्घटनामा एक बच्चासहित ९ जना यात्रु वचाउन सफल भए पनि स्वयम् पाइलट दिनेश न्यौपाने र को–पाइलट बच्न सकेनन् ।
कहालीलाग्दो सडक दुर्घटना
यता सडक दुर्घटनाका कारण पनि धेरैले ज्यान गुमाए भने कतिपय अंगभंग भए । वैशाखको दोस्रो साता धादिङको नौविसेमा भीरबाट बस खस्दा १७ जनाको ज्यान गयो । उक्त बस भारतको गुजारतबाट तीर्थयात्राका लागि नेपाल आएको थियो । असारको दोस्रो साता नुवाकोटवाट काठमाडौं आइरहेको बस पहिरोले पुरिँदा ५ जनाको मृत्यु भयो भने ६ जना घाइते भए ।
फागुन महिनामै एउटा जन्ति बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भयो, २६ जना घाइते भए । बर्दियाको धधवार–७ औरीजुट्टाबाट बबई नगरपालिका १० शाहीपुर जन्ती लिएर गएको बस वेहुली लिएर फर्कंने क्रममा सैनवारमा दुर्घटनाग्रस्त भएको थियो ।
असोज महिनामा गुल्मीको सदरमुकाम तम्घास नजिकै बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भयो भने २४ जना घाइते भए ।
कात्तिक महिनामा केही ठूला सडक दुर्घटना भए । रसुवाको ग्रङमा यात्रुवाहक बस दुर्घटना हुँदा ३५ भन्दा बढी यात्रुले ज्यान गुमाए । उक्त बस काठमाडौंबाट रसुवाको चिलिमेतर्फ गैरहेका थियो । त्यस्तै, मकवानपुरमा इँटा बोकेको ट्रक सडकबाट खस्दा ७ जनाको घटनास्थलमै मृत्यु भयो भने ९ जना घाइते भए । लगत्तै लमजुङ सदारमुकाम बेसीसहर नगरपालिकाको चनौटे धालुधारामा राति जिप दुर्घटना हुँदा ५ जनाले ज्यान गुमाए । बुटवलबाट नेपालगञ्जतर्फ गैरहेको यात्रुवाहक बस खासखुस्मा गाविस चप्परगौरीमा दुर्घटना भै एक्कासि आगलागी हुँदा घटनास्थलमै ६ जनाको मृत्यु भयो । बसमा ३३ यात्रु सवार थिए । त्यसमध्ये १२ जनाको तत्कालै जीवितै उद्धार भएको थियो ।
पुसमा पूर्व पश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको देवदहमा भएको रात्रिबस दुर्घटनामा करिब एक दर्जनको ज्यान गयो । नारायणगढबाट छुटेको बस देवदह नगरपालिकाको घोडाहामा दुर्घटनाग्रस्त भएको थियो । सोही महिना बिरामी लिएर झापाबाट पाँचथरतर्फ गैरहेको एम्बुलेन्स दुर्घटनाग्रस्त हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भयो भने २ जना गम्भीर घाइते भए ।
फागुनमा पूर्व–पश्चिम राजमार्गअन्र्तगत सप्तरीको कडराबोनामा दुर्घटनामा परी २ प्रहरी र एक सर्वसाधारणको मृत्यु भयो । चैत महिनामा काठमाडौंबाट त्रिशूलीतर्फ आइरहेको माइक्रोबस पासाङल्हामु राजमार्गको मदानपुर केउरिनीमा दुर्घटना हुँदा ११ जनाको ज्यान गएको थियो । उक्त दुर्घटनामा १२ जना घाइते भए । सोहि महिना स्कुल बस र यात्रुवाहक माइक्रोबस आपसमा जुध्दा ८ जनाको मृत्यु भयो । दाङको तुलसीपुर घोराही सडकखण्डको सौडिकुलामा उक्त दुर्घटना भएको थियो ।
यसपालि प्याराग्लाइडिङ दुर्घटनाका समाचार पनि आए । पोखरामा प्याराग्लाइडिङ दुर्घटनामा परे ६ जना फेवातालमा खसे भने १ जना रूखमा अल्झिए । उनीहरूको समयमै उद्धार भएकाले मानविय क्षति हुन पाएन ।
सुख्खा पहिरोको ताण्डव
भूकम्पलगत्तै वैशाखमा हिम तथा सुख्खा पहिरोले धेरैको ज्यान लियो । लाङटाङ हिमालमा हिमपहिरोमा परेर २ सय पर्यटक हराए ।
जेठ महिनाको दोस्रो साता ताप्लेजुङका विभिन्न गाविसमा भीषण पहिरोमा परी ५० जना बढीले ज्यान गुमाए । रातभर परेको भारी वर्षासँगै पहिरो खसेर खोप्लिङ, थिङलापु, लिङतेप, साङ्थाका, लिवाङ आदि गाविसमा स्थानीय बासिन्दाको मृत्यु भएको हो । उक्त पहिरोमा परी एकै परिवारका ८ जनाको समेत मृत्यु भएको थियो भने दर्जनौं बेपत्ता भएका थिए ।
जेठको दोस्रो साता म्याग्दीको मुस्ताङ सडकखण्डको भगवती गाविसस्थित बैसरीमा राम्चे गाविसको पहाडवाट खसेको भीषण सुख्खा पहिराले कालीगण्डकी थुनिएपछि त्यसले जनमानसमा ठूलो सन्त्रास उत्पन्न गर्यो । म्याग्दी सदारमुकामबाट ८ किलोमिटरमाथि खसेको पहिरोका कारण स्थानीय बासिन्दालाई खतरा भएपछि अन्यत्र सार्नुपरेको थियो । त्यस्तै साउनको दोस्रो साता कास्कीको ३ गाविसमा पहिरोले पुरिएर ३ दर्जन बढीको ज्यान गयो । रातभरको भीषण बर्षापछि लुम्ले, भदौरतामागी तथा ढिकुरपोखरीमा पहिरोले जनधनमा क्षति पुर्याएको थियो । सोही महिना डोटीको डौड गाविस भल्मामा पहिरोले पुरिएर एकै परिवारका ५ सहित ६ जनाको मृत्यु भयो । भदौमा नुवाकोटको गोस्र्याङ र सामरीमा पहिरोमा पुरिएर ६ जनाको मृत्यु भयो । गोस्र्याङ, काभ्रेको रिनटोलमा पहिरोले ३ वटा घर पुरेर ५ जनाको मृत्यु भएको थियो । असार महिनामा बझाङमा यार्सागुम्बा टिपेर फर्कने क्रममा सेती नदीले बगाएर ४ जना बेपत्ता भए ।
मंसिरको अन्तिम साता इटहरी उपमहानगरपालिका–१६ स्थित न्यू जयनेपाल इँटाभट्टामा दुर्घटना हुँदा ८ जनाको मृत्यु भयो । जलाइराखिएको चिम्नी ढल्दा इँटाभट्टामा कार्यरत ७ जनाको घटनास्थलमै र अर्का एक जनाको उपचारको क्रममा मृत्यु भएको थियो ।
बाँकेको नेपालगन्जस्थित बालाजी कपास उद्योगमा चैत्रमा भीषण आगलागी भयो । नेपालगन्ज उप–महानगरपालिका २७ को कपास उद्योगमा आगलागी हुँदा १ करोड २० लाख रुपैयाँबराबरको क्षति पुग्यो । पोखरा उपमहानगरपालिका–१४ स्थित प्रगतिटोलमा सीता रानाको घरको दोस्रो तलामा आगलागी हुँदा घरधनीसँगै ४ जनाको मृत्यु भयो । दाङमा पनि आगलागीको कारण निसास्सिएर १ जना बालकको मृत्यु भयो । मंसिर महिनामा कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित एक घरमा आगलागी हुँदा एकै परिवारका ३ बालबालिकाको जलेर मृत्यु भयो ।
जेठमा कपिलवस्तुमा नयाँ बनेको घरको सेप्टी ट्यांकीमा निसास्सिँएर ५ जनाको मृत्यु भयो । चैतमा खाना पकाउने ग्यास चुहिएर मध्यपुर ठिमी नगरपालिका लायकुमा १ जनाको मृत्यु भयो । त्यस्तै महोत्तरी जलेश्वरमा पनि ग्यास चुहिएर शरीर जलेकी एक महिलाको उपचारका क्रममा मृत्यु भयो ।
असोजको दोस्रो साता काठमाडौंको कोटेश्वरमा आगलागीमा परेर एकै परिवारका तीन जनाले ज्यान गुमाए । कोठामा सञ्चित गरेर राखिएको पेट्रोल एउटा भाँडोबाट अर्कोमा सार्ने क्रममा नजिकै बलिरहेको मैनबत्ती सल्किएर अचानक आगलागी हुँदा उक्त दुर्घटना भएको थियो ।
चैत महिनामा चितवनको विकट लोथर गाविसमा घरमै सुतिरहेको बेला चट्याङ लागेर सिद्धि–२ की १७ वर्षीया चन्द्रमाया चेपाङको मृत्यु भएको थियो ।