साप्ताहिक संवाददाता
- सञ्जीव सिंह, गायक/संगीतकार
सांगीतिक रूपमा कत्तिको व्यस्त हुनुहुन्छ ?
भर्खरै नवौं एकल गीति एल्बम ‘तिमी र म’ सार्वजनिक गरेको छु । यही एल्बमको प्रोमोसनका लागि स्टेरियो रेकर्ड्सको सहकार्यमा स्वदेश तथा विदेशमा कन्सर्ट दिइरहेको छु ।
नयाँ एल्बम सार्वजनिक गर्न समय लगाउनुभयो नि ?
यो एल्बम तयार पार्न मलाई करिब तीन वर्ष लाग्यो । तीन वर्षअघि नै ‘तिमी र म...’ गीतको सिंगल ट्रयाक भिडियोसहित सार्वजनिक गरेर सकारात्मक प्रतिक्रिया पाएपछि त्यही शीर्षकमा एल्बम नै तयार पारेको हुँ ।
एल्बमका कतिवटा गीतबाट आशा गर्नुभएको छ ?
एल्बमका नौवटा गीतमध्ये ‘तिमी र म...’ गीतको म्युजिक भिडियो नै ७ लाख ७५ हजार पटक हेरिएको छ । त्यसबाहेक ‘रातो भाले...’ गीत करिब ३ लाख पटक हेरिएको छ । यही नयाँ वर्षको पहिलो दिन सार्वजनिक भएको ‘के जादू चल्यो’ गीतको म्युजिक भिडियो पनि लोकप्रिय भैसकेको छ । बाँकी ६ वटा गीतमध्ये सम्झी बस्छु तथा आउने भए आऊ गीतका म्युजिक भिडियो पनि चाँडै नै सार्वजनिक गर्दैछु ।
एल्बमको सांगीतिक पक्ष कस्तो छ ?
अधिकांश गीतलाई मैले नै संगीतबद्ध गरेको छु । एउटा गीतमा सुरेशकुमार क्षेत्रीको संगीत छ । मैले सिर्जना गरेको संगीतमा संगीत संयोजक गोपाल रसाइली, महाराज थापा तथा राजन इशानले न्याय गर्नुभएको छ ।
पहिलो एल्बम ‘आकाशबाट’ देखि ‘तिमी र म’ सम्म आइपुग्दा श्रोतालाई नयाँ के दिनुभएको छ ?
‘चुलेसीमा...’ गीतको लोकप्रियतासँगै प्रारम्भ भएको मेरो सांगीतिक यात्रा करिब दुई दशक बितिसक्दा मेलोडीमै आधारित छ । अहिले प्रविधिका कारण हाम्रो संगीत छोटो समयमै श्रोतामाझ पुगेर तत्कालै प्रतिक्रिया पाउन सकिएको छ ।
अबको योजना के छ ?
संगीतलाई नै करियर बनाइसकेकाले यही क्षेत्रमा अझ गम्भीर रूपमा सक्रिय हुने योजना छ । हामीलाई आजसम्म गायक तथा संगीतकारका रूपमा बचाइराख्ने मुख्य विधा भनेको कन्सर्ट हो । त्यसैले आगामी दिनमा पनि स्तरीय कन्सर्टमार्फत दर्शक तथा श्रोतामाझ पुगिरहनेछु ।