गणेश अग्रवाल, मिस्टर नेपाल २०१६
ठ्याक्कै एक महिनाअघि काठमाडौंमा सम्पन्न मिस्टर नेपाल–२०१६ मा प्रतिस्पर्धा जनाउनुअघि पिपल्ला बजार, डोटीका स्थायी बासिन्दा गणेश अग्रवाल सामान्य मोडल तथा होटल र्याडिसनका कर्मचारी थिए । सन् २००८ मा होटल म्यानेजमेन्टमा उच्चा शिक्षा हासिल गर्न साइप्रस पुगेपछि त्यहीँबाट गणेशले मोडलिङ यात्रा प्रारम्भ गरेका थिए । स्थानीय क्लबमा कार्यरत छँदा विभिन्न उत्पादनका विज्ञापनमा मोडलिङ गरेका गणेश करिब तीन वर्षअघि काठमाडौं फर्किएपछि मोडलिङसँगै फिजिकल फिटनेसतर्फ पनि आकर्षित भए । शारीरिक सुगठन आकर्षक व्यक्तित्वका लागि मात्र होइन, शरीरलाई स्वस्थ राख्नसमेत अनिवार्य छ भन्ने कुरा बुझेका ५ फिट १० इन्च अग्ला गणेश कीर्तिपुरस्थित पल्स फिटनेस सेन्टरसँग आबद्ध भए । होटल म्यानेजमेन्टमा उच्च शिक्षा हासिल गरेका आकर्षक व्यक्तित्वका धनी गणेशलाई होटल र्याडिसनले राम्रो स्थान दिएर जागिरे बनायो । बिहान–बेलुका नियमित जिम गर्ने गणेशलाई मिस्टर नेपाल–२०१६ मा प्रतिस्पर्धा गर्न उक्साउनेहरूमा उनकै जिमशालाका साथीहरूको नाम अग्रपंक्तिमा आउँछ । प्रतियोगितामा सहभागी भएर करिब दुई महिना प्रशिक्षण लिएपछि नै गणेश आफूमा प्रशस्त आत्मविश्वास जगाउन सफल भए । मिस्टर नेपालको निर्णायक चरणमा पुगेर अन्तिम प्रश्नको आकर्षक जवाफ दिएपछि उनले उपाधिमाथि नै कब्जा जमाए । त्रिचन्द्र कलेजमा आईएस्सी अध्ययरत छँदै चलचित्र अभिनेता बन्न अभिनय एवं नृत्यको प्रशिक्षण लिएका गणेशले अहिले आएर आफ्नो त्यो चाहना पूरा गर्ने भएका छन् । उपाधि जितेपछि गणेशले पुरस्कारस्वरूप दुईवटा नेपाली चलचित्रमा अभिनेताको भूमिका निर्वाह गर्दैछन् । त्यसका लागि उनी अहिले पुन: अभिनय कक्षा लिने तयारी गर्दैछन् । ४५ जना पुरुषलाई उछिनेर मिस्टर नेपालको उपाधि जितेका अग्रवालसँग साप्ताहिकको तीन प्रश्न :
मिस्टर नेपाल–२०१६ को उपाधि जितेपछि कस्तो अनुभव भयो ?
जीवनकै सबैभन्दा ठूलो उपलब्धि हासिल गरेको जस्तो अनुभव गरें । एकप्रकारले भन्ने हो भने एउटा सपना नै साकार भएको छ जस्तो लाग्यो ।
उपाधि नै जित्ने कुरामा कत्तिको ढुक्क हुनुहुन्थ्यो ?
निर्णायक चरणको प्रश्नको जवाफ दिइसक्दा समेत म ढुक्क थिइनँ, किनभने प्रतियोगिताका हामी ४५ जनै प्रतिस्पर्धी उत्तिकै प्रतिभाशाली थियौं, तर सबैको जवाफ सुनेपछि मैले महिलालाई परिभाषित गर्ने क्रममा आमा, दिदीबहिनी, शिक्षिका तथा श्रीमतीका रूपमा प्रस्तुत गरेको जवाफ निर्णायकलाई मन पर्नेछ भन्ने कुरामा ढुक्क भएँ ।
अबको योजना के छ ?
लन्डनमा हुने मिस्टर वल्र्ड–२०१६ मा नेपालको प्रतिनिधित्व गर्ने जिम्मेवारी पाएको छु । त्यसका लागि मैले तयारी पनि प्रारम्भ गरिसकेको छु । त्यसबाहेक उपाधिसँगै थपिएको सामाजिक जिम्मेवारीहरू पूरा गर्दै कलाक्षेत्रमा रचनात्मक कार्य गरिरहनेछु ।