साप्ताहिक संवाददाता
अञ्जु पन्त, गायिका
पोखरा
मलाई नेपालमा सबैभन्दा मनपर्ने स्थान पोखरा हो । पोखराको प्राकृतिक सौन्दर्य शब्दमा वर्णन गर्न गाह्रो छ । जाडो होस् वा गर्मी, पानी पर्ने मौसममा समेत पोखराको सौन्दर्य अझ बढी निखारिन्छ । पोखरा जति बसे पनि मन अघाउँदैन ।
घान्द्रुक
पोखराबाट नजिकै पर्ने यो पयर्टकीय स्थल पुग्दा स्वर्ग नै पुगेजस्तो अनुभूति हुन्छ । केही घण्टाको ट्ेरकिङपछि पुग्न सकिने यो क्षेत्रमा पाइने स्वागत–सत्कारको पनि आफ्नै विशेषता छ ।
लुम्बिनी
शान्तिका दूत गौतम बुद्धको यो पवित्र स्थल पुग्दा मन नै शान्त हुन्छ । विश्वभरका बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र लुम्बिनीको धार्मिक तथा ऐतिहासिक महत्व पनि विशेष छ ।
काठमाडौं
हाम्रो देशको राजधानी काठमाडौं विविधताले भरिपूर्ण छ । काठमाडौंको मौसम मलाई सबैभन्दा बढी मनपर्छ । त्यसबाहेक पुरातात्विक महत्वका वस्तुहरूको बाहुल्यता अर्को रोचक एवं महत्वपूर्ण पक्ष हो ।
सौराहा, चितवन
सूर्यास्थका लागि चितवनको सौराहा प्रख्यात छ । वन्यजन्तुका लागि पनि चिवतन राष्ट्रिय निकुञ्जको आफ्नै विशेषता छ ।
भेडेटार
धरान नजिकैको यो स्थान जाडोमा भन्दा गर्मीमा अझ उत्कृष्ट लाग्छ । सांगीतिक कार्यक्रमका क्रममा पूर्वी नेपाल पुगेका बेला म प्राय: भेडेटार पुगेकै हुन्छु ।
ईलाम
चिया बगानको प्राकृतिक सौन्दर्यले मेरो मात्र होइन, जो कसैको मन रमणीय बनाउँछ ।
नगरकोट
काठमाडौं नजिकको सबैभन्दा रमणीय स्थल नगरकोट नै हो । गर्मीमा पनि चिसो हुने यहाँको वातावरण मनमोहक छ । त्यसबाहेक नगरकोटबाट देखिने हिमश्रृंखलाको दृश्य पनि अद्वितीय हुन्छ ।
धुलिखेल
पर्यटनका लागि काठमाडौं नजिकको यो सहर आकर्षक गन्तव्य हो । राम्रा होटल तथा रिसोर्टले सजिएको धुलिखेल केही दिनको विदा मनाउने उपयुक्त स्थान हो ।
धरान
मलाई धरानको सफा अनि फराकिला सडक मनपर्छन् । पानी परे पनि कतै पानी–हिलो नजम्ने यो शहरको स्वभाव अझ आकर्षक छ ।