भूमि रिमाल, ब्युटिसियन
सेरोमनी ब्युटिपार्लर, जावलाखेल
१७ वर्षदेखि सौन्दर्य व्यवसायमा संलग्न भूमि रिमाल अब्बल सौन्दर्यकर्मीका रूपमा परिचित छिन् । टिनएजरदेखि ७० वर्षसम्मका महिलाहरू सौन्दर्यसम्बन्धी समस्या समाधानका लागि आफ्नो ब्युटिपार्लरमा आउने दाबी गर्ने ब्युटिसियन भूमिसँग संक्षिप्त कुराकानी :
गर्मी मौसमको मेकअप कस्तो हुनुपर्छ ?
गर्मीमा पसिना बढी आउने हँुदा त्यसैलाई मध्यनजर गरी मेकअप गर्नुपर्ने हुन्छ । यसका लागि म्याट प्रयोग गर्नुपर्छ । सामान्यत: आइलाइनर, गाजल, सनक्रिम, फाउन्डेसन तथा लिपिस्टिक प्रयोग गर्नुपर्छ ।
म्याट प्रयोग गर्नुपर्ने कारण ?
गर्मीमा पसिना ग्रन्थि सक्रिय हुन्छन्, बढी पसिना आउँछ, मेकअप बग्ने सम्भावना पनि उत्तिकै हुन्छ । त्यसैले तेलरहित उत्पादन भएकाले म्याट प्रशाधन प्रयोग गर्नु उपयुक्त हुन्छ ।
यसमा उमेर हदको कुरा पनि आउँछ कि ?
होइन, यस्तो मेकअप सबैले गर्न सक्छन्, तर प्रयोगको मात्रा मेकअप गर्नेहरूको दैनिकीमा निर्भर हुन्छ ।
किशोर–किशोरीको मेकअप कस्तो हुनुपर्छ ?
यो उमेर आफैंमा पनि आकर्षक उमेर हो । अनुहारमा पनि खासै समस्या हुँदैनन् । ओठमा हल्का गुलाफी लिपिस्टिक राम्रो देखिन्छ । गाजल र मस्कारा दैनिक प्रयोग गर्दा हुन्छ ।
गर्मीमा छालाको स्याहार कसरी गर्ने ?
गर्मीमा छाला रुखो देखिन्छ, त्यसैले नियमित क्लिन्जिङ गर्नुपर्छ । डन्डिफोर छ भने बेस प्रयोग गर्नुपर्छ । एसपीएफ प्रयोग गर्न बिर्सनु हुँदैन । सौन्दर्य सामग्री तेलरहित हुनुपर्छ ।
अन्य उपाय पनि छन् कि ?
पानी प्रशस्त पिउनुपर्छ । रसयुक्त खानेकुरा अर्थात् तरबुजा, आँप, उखुजस्ता रसिला फलफूलमा जोड दिनुपर्छ ।