साप्ताहिक संवाददाता
विश्व नेपाली, गायक
सांगीतिक व्यस्तता कस्तो छ ?
गीत–संगीत सिर्जनामा व्यस्त छु । भर्खरै अस्ट्ेरलियाको सांगीतिक टुर गरेर फर्किएको छु । नेपाल आएलगत्तै मेरै स्वरको ‘दुनियाँको माया...’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छु ।
संगीतलाई करियर बनाएको कति भयो ?
संगीतकर्मीहरूको परिवार (बुवा भिव नेपाली– तबलावादक, दाजु श्याम नेपाली– बाँसुरीवादक) मा जन्मिएकाले सानैदेखि सांगीतिक वातावरणमा हुर्कने अवसर पाएँ । कक्षा ३ मा अध्ययनरत छँदै मैले पहिलो गीत रेकर्ड गराइसकेको थिएँ ।
प्रशिक्षणलाई प्राथमिकता दिनुहुन्छ नि ?
म नौ वर्षको उमेरदेखि संगीतको प्रशिक्षण लिइरहेको छु । सुरुमा गायिका कुन्ति मोक्तानसँग सिकें । त्यसपछि गायिका संगीता प्रधान रानासँग प्रशिक्षण लिएँ । संगीतकार आनन्द राईसँग करिब एक दशकभन्दा लामो समयदेखि प्रशिक्षण लिइरहेको छु ।
कस्ता शैलीका गीत रुचाउनुहुन्छ ?
म प्राय: शास्त्रीय तथा सुगम शैलीका गीत गाइरहेको छु । हालसम्म मेरो स्वरमा रेकर्ड भएका करिब तीन सयवटा गीतमध्ये अधिकांश गीत आधुनिक शैलीका छन् ।
एकल एल्बमलाई प्राथमिकता दिनुहुन्न नि ?
मैले करिव पाँच वर्षअघि ‘उत्कृष्ट’ शीर्षकको पहिलो एकल एल्बम सार्वजनिक गरेको थिएँ, अहिले ‘उत्कृष्ट भाग–२’ को अन्तिम तयारीमा छु । एल्बमको बिक्री कम भएकाले सिंगल ट्रयाक तथा कलेक्सन एल्बममा जोड दिएको हुँ ।
चलचित्रको पाश्र्व गायनमा कत्तिको रमाउनुभयो ?
एक दशकअघि ‘पिरती आफैं हुँदो रहेछ’ चलचित्रबाट पाश्र्व गायन थालेको हुँ । पछिल्लो चलचित्र ‘बाग्मती’ सम्म आउँदा करिब डेढ दर्जन चलचित्रका गीत गाइसकेको छु । अहिले पनि केही चलचित्रका लागि रेकर्डिङको तयारी गरिरहेको छु ।
कन्सर्टको सहभागिता कस्तो छ ?
मेरा अधिकांश लोकप्रिय गीत गजल शैलीका छन्, त्यसैले गजल शैलीका गीत गाउने कार्यक्रममा बढी सहभागी भैरहेको छु ।