साप्ताहिक संवाददाता
भुवन केसी निर्देशित चलचित्र ‘ड्रिम्स’ हेर्ने अधिकांश दर्शकले नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहको अभिनयको प्रशंसा गरे । पहिलो चलचित्र भए पनि साम्राज्ञीले उक्त चलचित्रमा अनुभवी कलाकारले झैं अभिनय गरेको भन्दै प्रशंसा गरियो ।
बिडम्बना के रह्यो भने चलचित्रको व्यवसायिक सफलताको सम्पूर्ण श्रेय भने अभिनेता अनमोल केसीको पक्षमा गयो । अनमोलकै क्रेजले चलचित्र सफल भएको चर्चा चल्यो, जबकी साम्राज्ञीको अभिनय कौशलले अनमोलको अभिनयलाई छायाँ पारेको समिक्षकहरूले बताइसकेका थिए । यसबीच ‘ड्रिम्स’ मा अभिनय गरेको झन्डै एक वर्षअघि साम्राज्ञीले दोस्रो चलचित्रमा अभिनय गर्ने निर्णय गरेकी छिन् ।
लामो समयदेखि आफ्नो चलचित्र ‘ए मेरो हजुर–२’ का लागि नायिकाको खोजी गरिरहेका सुनीलकुमार थापा तथा झरना थापाले साम्राज्ञीलाई मुख्य भूमिकाका लागि अनुबन्ध गरेका छन् । ‘ड्रिम्स’ को तुलनामा यो चलचित्रमा साम्राज्ञीले आकर्षक पारिश्रमिक लिएको बताइन्छ तर रकम भने सार्वजनिक गरिएको छैन ।