विराटनगर— नेपाली समाजमा दसैं, तिहार होस् वा अरू कुनै चाडपर्व, माछामासु नकाटी चाडबाड आएको आभास हँुदैन । घरमा पाहुना आए सत्कार गर्ने पहिलो आधार पनि माछा–मासु नै हुन्छ । मासुबिना चाडबाड खल्लो हुन्छ भन्ने हाम्रो समाजमा एउटा यस्तो बस्ती पनि छ जहाँ माछा–मासु मनाही जस्तै छ । करिब ८०/८५ परिवारको बसोवास रहेको मोतीपुर–१ को विन टोलमा कुनै पनि चाडबाडमा पशु काटिँदैन । पाहुना आउँदा पनि सगुन स्वरूप माछामासु ख्वाइँदैन ।
चाडपर्व होस् वा अन्य कुनै कार्यक्रम त्यहाँ शाकाहारी भोजन मात्र चल्छ । ८०/८५ परिवारको बसोवास रहेको टोलमा ९० प्रतिशतभन्दा बढी दास समुदायका मानिसको बसोबास छ । उनीहरू कहिल्यै माछा–मासु खाँदैनन् । ‘माछा–मासु खाँदैनौं, स्थानीय अगुवा सकुदेव महतो भन्छन्— नखाने भएपछि काटमार पनि हँुदैन ।
महतोका अनुसार ८५ मध्ये करिब ७५ परिवार दास समुदायका छन् । दास समुदायका धेरैले माछामासु खाँदैनन् । माछामासु नखाएपछि टोलमा काटमार पनि बन्दजस्तै छ । कानुन बनाएर बन्द गरिएको छैन । अधिकांश परिवारको दैनिकी तरकारी खेती गरेर बित्छ । तरकारी खेती गरेर जीविकोपार्जन गर्दै आएका गाउँलेहरू बिन टोललाई शाकाहारी टोल बनाउने योजना रहेको बताउँछन् ।
गाउँमा काटमार नहुने भएपछि मासु खाने केहीले माछामासु बजारबाट ल्याउँछन् । ५/६ घर होलान् मासु खाने स्थानीय सरदेव मण्डल भन्छन्, ‘मैले त जन्मेदेखि नै माछा–मासु खाएको छैन । आत्माले पनि खाउँm भन्दैन ।’ ‘अधिकांश परिवार सत्संग गर्ने छन् ।
सरदेव भन्छन्– ‘सत्संग–भजन गर्नेले मासु खानु हुँदैन ।’ टोलमा माछा–मासुसँगै मदिरा पनि बन्देजजस्तै छ । अन्य टोल र बस्तीमा मदिराका कारण झैझगडा भए पनि विन टोलमा मदिराका कारण कहिल्यै झैझगडा नभएको स्थानीय बासिन्दाहरू बताउँछन् ।