साप्ताहिक संवाददाता
नरेश भट्टराई, रेडियोकर्मी
झन्डै ६ फिट अग्ला सञ्चारकर्मी नरेश भट्टराई बहुमुखी प्रतिभाका धनी छन् भन्दा फरक पर्दैन । लामो समयदेखि ईमेज एफएममा रेडियोकर्मीका रूपमा कार्यरत नरेश वर्षमा १ सयभन्दा बढी स्टेज कार्यक्रम सञ्चालन गरेर स्टेजकै हिरो समेत बनिरहेका छन् ।
नृत्यमा आधारित रियालिटी शो ‘आँगन’ बाट टेलिभिजन प्रस्तोताका रूपमा स्थापित भएका नरेशले चलचित्र, टेलिश्रृंखला, विज्ञापन तथा म्युजिक भिडियोमा अभिनयसमेत गरेका छन् । आफ्नो रचनाका ३ सयभन्दा बढी गीत रेकर्डिङ गराउँदै गीतकारका रूपमा समेत स्थापित भैसकेका नरेश आफ्नो उत्कृष्ट वाचन शैलीका कारण दुई वर्षअघि ‘भ्वाइस अफ नेपाल’ को उपाधिले सम्मानित भएका थिए ।
राजेशपायल र रामकृष्ण
मेरो जीवनमा गायकद्वय राजेशपायल राई तथा रामकृष्ण ढकालसँगको एउटा रमाइलो संयोग छ । म दुवैसँग उत्तिकै नजिक छु, तर रमाइलो कुरा के छ भने मैले रचना गरेका करिब पाँच दर्जन गीत राजेशपायलले गाएका छन् तर रामकृष्ण ढकालले मेरा एउटै गीत गाएका छैनन् । मैले रामकृष्ण ढकालका प्राय: सबै ठूला कन्सर्टमा उद्घोषण गरेको छु तर राजेशपायल राईका कुनै पनि कन्सर्टमा उद्घोषण गर्न पाएको छैन ।
पढाइ
म व्यवस्थापन (कमर्स) को विद्यार्थी हुँ, बीबीएस उत्तीर्ण गरेको छु तर सञ्चारकर्मीका रूपमा स्थापित भएको छु । वास्तवमा आफ्नो रहर र चाहना जुन विषयमा छ, त्यही विषय अध्ययन गर्नुपर्ने रहेछ भन्ने कुरा मैले पछि मात्र बुझ्ने मौका पाएँ ।
असफल योजना
मैले योजना बनाएर गरेका कुनै पनि काम अहिलेसम्म सफल भएको रेकर्ड छैन । जब–जब म योजना बनाएर कुनै काम गर्न थाल्छु, त्यो काम बिग्रिएकै हुन्छ ।
सैनिक र प्रहरी
बाल्यकालदेखि नै ममा सैनिक बन्ने रहर थियो । आइकम उत्तीर्ण गरेपछि काठमाडौंमा सेकेन्ड लेफ्टिनेन्टका लागि आवेदन पनि दिएँ, तर विडम्बना म प्रारम्भिक चरणबाटै फालिएँ । सानैदेखिको रहर पूरा नभएको झोकमा नेपाल प्रहरीको असईमा भिडेँ । उक्त परीक्षामा भने उत्तीर्ण भएँ तर घरमा दाजु पनि प्रहरीमै हुनुभएकाले आमाले मलाई त्यसमा जान दिनु भएन ।
एसएलसी र पाइलट
म राम्रै विद्यार्थी थिएँ । एसएलसी परीक्षाका क्रममा भने मबाट एउटा ठूलो गल्ती भयो । अन्तिम समयमा आएर परीक्षाको रुटिन परिवर्तन भएको कुरा मैले थाहा नपाउँदा विज्ञानको परीक्षाको दिन स्वास्थ्य शिक्षा पढेर गएँ । परीक्षा हलमा विज्ञानको प्रश्नपत्र देखेर म छाँगाबाट खसेजस्तो भएँ । मैले परीक्षा त दिएँ, तर ५० अंक पनि कटेन । विज्ञानमा राम्रो अंक ल्याएर उत्तीर्ण भएको भए आईएस्सी पढेर पाइलट हुने प्रयास गर्ने थिएँ, तर म व्यवस्थापन पढ्न बाध्य भएँ ।
जागिर
मैले अहिलेसम्म १५ वटाभन्दा बढी जागिर परिवर्तन गरिसकेको छु । सबैभन्दा पहिले मैले प्रज्ञा भवनमा एकाउन्टेन्टको जागिर खाएको थिएँ । एउटा जागिरबाट अर्को जागिरमा जाने क्रम करिब १० वर्षसम्म जारी रह्यो । पछिल्लो दस वर्षयता भने मैले जागिर परिवर्तन गर्नुपरेको छैन ।
नृत्य, गायन र स्वीमिङ
म तीनवटा कुरामा असाध्यै कमजोर छु । ती कमजोरी नसुधारेकै कारण मैले थुप्रै राम्रा अवसरबाट वञ्चित हुनुपरेको छ । मलाई नृत्य गर्न, गीत गाउन तथा स्वीमिङ गर्न आउँदैन ।
अभिनय
अधिकांश व्यक्तिले मलाई सञ्चारकर्मीका रूपमा मात्र चिन्नुहुन्छ, जबकि मैले चलचित्र ‘बागचाल’ तथा टेलिश्रृंखला ‘गहना’ मा पनि नायककै भूमिका निर्वाह गरेको छु । मैले थुप्रै म्युजिक भिडियो तथा विज्ञापनमा पनि काम गरेको छु ।
घरायसी काम
म तीनवटा घरायसी काममा निपूर्ण छु । मलाई चियाबाहेक अरू कुनै पनि खानेकुरा पकाउन आउँदैन, त्यसैले घरमा हरेक बिहान चिया पकाउने मै हुन्छु । मलाई भाँडा मोल्न तथा लुगा धुन असाध्यै जाँगर चल्छ । फुर्सदका बेला म यी दुई काममा श्रीमतीलाई सघाइरहेको हुन्छु ।