साउदी अरेबिया इस्लामिक देश हो । नेपालको चाडपर्वमा साउदी अरेबियामा बिदा पाइँदैन । त्यहाँको स्थानीय चाडपर्व इद, रमजानमा कम्पनीको नियमअनुसार बिदा पाइन्छ । हरेक वर्ष ३० दिन बिदा पाइने साउदी अरेबियामा हरेक शुक्रबार पूरा अनि शनिबार आधा दिन बिदा हुन्छ ।
साउदी अरेबियाको रियादस्थित सिद्धारामा कार्यरत अर्घाखाँचीका अरुण बेल्बासे त्यहाँको बसाइबाट सन्तुष्ट छन् । बेल्बासेका अनुसार समयमा तलब, बोनस पाइन्छ । महिला कामदारका लागि साउदी अरेबिया एकदमै असुरक्षित देश हो त्यसैले नेपाली दिदी–बहिनीहरूलाई म साउदी अरेबियामा घरेलु कामदारका रूपमा नआउन सुझाव दिन्छन्, दीपक रेग्मी । साउदी अरेबियाबाट नेपाल र नेपालीले सिक्नुपर्ने कुरा धेरै छन् । मुख्य कुरा सीप हो । त्योभन्दा ठूलोकुरा नियम–कानुनलाई कडा बनाउन सकियो र आफ्नै देशमा रोजगारी दिन सकियो भने देशको विकास हुन कुनै तन्त्र, कुनै वाद, कुनै दल वा कुनै पनि क्रान्तिको आवश्यकता पर्दैन भन्ने कुराको उदाहरण पनि साउदी अरेयिबा नै हो ।
देशमा भएका विभिन्न धार्मिक सम्पदा, पर्यटन उद्योग एवं खानीको सदुपयोग गरे अरूको मुख ताक्नु पर्दैन भन्ने पाठ सिक्न आवश्यक छ । साउदी अरेबियामा अवैधानिक तरिकाले काम गर्न आउने नेपालीहरू पनि उत्तिकै छन् । नेपाली दूतावासले विभिन्न किसिमका समस्यामा परेका नेपालीलाई यहाँको नियम कानुनमा रही सक्दो सहयोग गर्दै आएको छ ।
मुख्य कुरा साउदी अरेबिया पुगेपछि त्यहाँको धर्म, महिला, लागू पदार्थ, जुवा–तासजस्ता कुरामा हर समय सजग रहनुपर्छ ।
सन् १९९९ मा साउदी अरेबिया पुगेका सिराहाका सुनिलप्रसाद गुप्ता पनि त्यहाँको बसाइप्रति असन्तुष्ट हुने ठाउँ देख्दैनन् । कम्पनीको कामको चापअनुसार ओभरटाइम पाइन्छ । गुप्ता भन्छन्– यहाँका हरेक कम्पनीले वर्षमा ३५ दिन अनिवार्य बिदा दिन्छन् ।
त्यसो त विदेश आउनुभन्दा सकभर नेपालमै केही गर्न सुझाउँछन्, जुबेल, साउदी अरेबियामा कार्यरत बाग्लुङका प्रमोद शर्मा लामिछाने । उनी स्थानीय सुपर मार्केटमा इन्फरमेसन टेक्नोलोजी डिपार्टमेन्टअन्तर्गत सिस्टम एनालाइसिस्टका रूपमा कार्यरत छन् । विदेश नै आउनुपर्ने बाध्यता भए कुनै प्राविधिक काममा निपूर्ण भएर मात्र आउँदा उपयुक्त हुने लामिछानेको सल्लाह छ । लामिछाने भन्छन्– साउदी अरेबिया आएर गरिने जस्तो कठोर मेहनत नेपालमै गर्न सक्ने हो भने सोचेभन्दा चाँडो आधुनिक र समुन्नत नेपाल बनाउन सकिन्छ ।
भुल्न नसकिने थुप्रै अनुभव सँगालेको छु - सुरेशराज त्रिपाठी साउदी अरेबिया कहिले पुग्नुभयो ? सन् २००७, २० डिसेम्बरमा । म रियादस्थित एक पाँचतारे होटलमा असिस्टेन्ट एचआर म्यानेजरका रूपमा कार्यरत छु । कत्तिको खुसी हुनुहुन्छ ? एकदमै खुसी छु । महिना सकिनु एक–दुई दिन पहिल्यै तलब पाइन्छ । बोनस पनि समयमै पाइन्छ । कुनै समस्या भोग्नुपरेको छैन । ११ महिना काम गरेपछि १ महिना वार्षिक बिदा पाइन्छ । त्यति बेला म नेपाल पुग्छु ।
समस्यामा पर्दा दूतावासले कत्तिको सहयोग गर्छ ?
नेपाल सरकारको मातहतमा रहेका सरकारी निकायहरू सधैं केही न केही कुरामा विवादमा मुछिइरहेका हुन्छन् । सबैको चित्त बुझाउन सकिँदैन । पछिल्ला ३/४ वर्षदेखि नेपाली राजदूतावास रियादले साउदी अरेबियामा रहेका नेपालीहरूको हितमा राम्रो काम गरिरहेको छ ।
साउदी अरेबिया बस्दाको अनुभव कस्तो छ ?
साउदी अरेबियाको बसाइले धेरै कुरा सिकाएको छ । आर्थिक, राजनैतिक स्थिति तथा यहाँको विकासलाई नजिकबाट नियाल्न पाएको छु । मेरो अनुभवमा समृद्धिका लागि मेहनत नै पहिलो सर्त हो ।
त्यहाँको लामो बसाइले के सिकायो ?
आफूलाई कसरी प्रस्तुत गर्ने, राष्ट्रिय वा अन्तर्राष्ट्रिय संघ–संस्था समुदायहरूसँग कसरी सम्बन्ध बढाउने, देशप्रति एउटा नागरिकको जिम्मेवारी के–के हुन्, देशको विकासमा एउटा नागरिकको भूमिका के–कस्तो हुन्छ भन्ने कुराको ज्ञान मैले यहीँ पाएँ ।
नेपाली युवाहरूको आकर्षणको केन्द्र
अरुण बेल्बासे, रोज अर्घाखाँची हाल : रियाद, साउदी अरब म साउदी आएको ९ वर्ष भयो । अरेबिका क्याफेमा कार्यरत छु । म अत्यन्तै खुसी छु । मेरो कम्पनीको सबैभन्दा राम्रो पक्ष भनेकै समय मै तलब दिनु हो । हरेक बर्ष ३० दिन विदा मिल्छ । नेपाल आउने जाने खर्च कम्पनीले नै दिने भएकाले म बर्षेनि नेपाल जान्छु । यहाँ बस्दा हरेक हप्ताको शुक्रबार पुरा अनि शनिवार आधा दिन बिदा हुन्छ ।
यो मुस्लिम देश हो । यस कारण हाम्रो नेपालका चाडपर्व अनुसार प्राय: साउदी अरबमा बिदा दिदैन । अपवादमा हुन सक्छ । तर यहाँका चाडपर्व जस्तै: इद , रमदानमा चाहि कम्पनीको नियम अनुसार बिदा मिल्छ । संसारकै कडा नियम कानुन र शत प्रतिसत इस्लाम रहेको हुँदा अन्य देशहरूमा जस्तो खुल्ला रुपमा कार्यक्रम गर्न नपाए पनि दर्जनौं संघ संस्था हरुले विभिन्न तरिकाले आफुलाई अनुकुल पर्ने किसिम ले कार्यक्रम गर्दै आएका छन् । नेपाली दूतावासले विभिन्न किसिमका समस्या परेका नेपालीलाई यहाँको नियम कानुनमा रहि सक्दो सहयोग गर्दै आएको छ । तर साउदी अरब निकै ठुलो भएको र टाढा–टाढासम्म नेपाली छरिएर काम गर्ने अनि अबैधानिक तरिकाले पनि केहि नेपाली आउने भएकाले सहयोगमा कहिलेकाहीं ढिला भएको पाईएको छ ।
विभिन्न संस्थामा आबद्द हुने, कार्यक्रममा भाग लिने, साथिहरुसंग राम्रो सद्भाव राख्ने बानी भएकाले र आफूलाई धेरै भन्दा धेरै ब्यस्त राखेर होला रमाइलो छ । समय बितेको थाहा नै हुँदैन । यद्यपि आफ्नो देश, परिवार र बिशेष गरि आफ्नी प्रियसिसंगको बिछोडले चाहिं भाला नै रोप्छ । म सुरु देखि नै अरबिका क्याफे भन्ने कम्पनीमा काम गर्दै आएको छु । सुरु मा लेभर भिसामा आए पनि अनुशासन र मेहनतले गर्दा बिगत चार बर्षदेखि क्वालिटी म्यानेजर र मेन्टिेनेन्स डिपार्ट पनि कन्ट्रोल गर्दै आएको छु ।
मलाई यहाँको मनपर्ने कुरा महिलालाई गरिने इज्जत हो । मन नपर्ने पक्ष आफूलाई काम गर्ने क्रममा पुरा रियाद भरि ड्राइभ गर्नुपर्ने भएकोले अत्यधिक ट्राफिक जाम हुन्छ । त्यो चैं मन पर्दैन । साउदीले धेरै कुरा सिकायो । जस्तै : भाषा, ड्राइभ, अनुशासन, नियम कानुनको पालन र सबैभन्दा ठुलो कुरा सीप सिकायो जुन सीपले गर्दा संसार को कुनैपनि कुनामा गएर म इज्जतका साथ जिबिकोपार्जन गर्न सक्छु । साउदीबाट नेपाल र नेपालीले सिक्नुपर्ने कुरा सीप त छँदैछ, त्योभन्दा ठुलो कुरा नियम कानुनलाई कडा बनाउन सकियो ।
र, आफ्नै देशमा रोजगारी दिन सकियो भने देशको बिकास हुन कुनै तन्त्र, कुनै वाद , कुनै दल या कुनै पनि क्रान्तिको आवस्यक पर्दैन । नेपालको राणा शासनसंग मिल्दोजुल्दो यहाँको राजपरिवारले देशलाई सुन्दर ढंगले चलाउन सफल त भएको छ नै । विश्वका शक्तिसाली देशमा आफुलाइ उभ्याउन सफल भएको छ । देशमा भएका विभिन्न धार्मिक सम्पदा ,पर्यटन, उद्योग र खानिलाई सहि सदुपयोग गरेमा अरुको मुख ताक्न पर्दैन भन्ने पाठ सिक्न जरुरी छ ।
जसले अरूलाई रोजगारी दिए
शरद कुमार शर्मा
साउदी अरेबियामा कार्यरत एक मात्र नेपाली ट्राभल्स एजेन्सी हो— फ्लाइ एन्ड फ्लाई । तीन वर्ष पहिले साउदी अरेबियाको राजधानी रियाद पुगेका रुकुमका शरदकुमार शर्माले यो व्यवसाय प्रारम्भ गरेका हुन् । उनले अरूलाई पनि रोजगारी दिएका छन् । उनी वर्षको २ पटक नेपाल पुग्छन् । शर्माको नजरमा ब्यापारिक हिसाबले रियाद एकदमै राम्रो ठाउँ हो ।
यहाँ नेपालीहरूको उल्लेख्य उपस्थिीति छ । एकमात्र नेपाली ट्राभल एजेन्ट भएकाले यहाँ हवाई टिकटका लागि पुग्ने नेपालीहरू प्रशस्तै छन् । रियादमा रहेका नेपालीहरूलाई नै लक्षित गरेर खोलिएको ट्राभल एजेन्सी हुनाले त्यहाँ ८० प्रतिशत नेपाली हवाई टिकटका लागि पुग्छन् ।
शर्मा भन्छन्– यहाँको अनुभवले नियम कानुनको सम्मान गर्न, भाषा, अन्य देशका मानिसहरूसँग व्यवसायिक सम्बन्ध राख्न जानियो । हामीले उठाएका कतिपय समस्या दूतावासले समाधान गरेको छ ।
साउदीको कानुन सबैले जानुन्
अजयकुमार त्रिपाठी, काभ्रे, खरेलथोक
हाल : जुबैल, साउदीअरब २७ मार्च सन् २००७ मा पहिलो पटक म साउदी अरब आएको थिएँ । हाल साउदीकै अर्को शहर जुबैल भन्ने ठाउँमा छु । मेरो काम र कमाइले मेरो परिवारलाई खुशी र सुखी राख्न सकेको छु । त्यो नै मेरो सबैभन्दा ठुलो खुशी हो । हरेक महिनाको १ गते तलब बैंकमा जम्मा गरिसकेको हुन्छ कम्पनिले । कहिलेकाही बोनस पनि पाईन्छ । र, बोनस पाउँदा काम गर्न अझै मज्जा आउँछ । म लामो समयदेखी अफिस लाइनमा कार्यरत छु । त्यसैले हप्ताको १ दिन छुट्टीको र अरु दिनमा कामको लोड हेरेर ओटी नि पाइरहेको छु ।
मेरो हरेक २ बर्षको करार अबधी हो । र, करार अबधी सकिएपछी ६० दिनको बिदा पाईन्छ । बिदामा नेपाल जाने गरिन्छ । कहिलेकाही करार अबधी सकिनुपुर्ब नै छुट्टी जानु परेमा पनि २ र ४ महिना अघी मिलाउन सकिन्छ । कुनै बेला हाम्रो देश हिन्दू राष्ट्र नेपाल भनेर चिनिए जस्तै साउदी अरब पनि एक मुस्लिम राष्ट्र हो । र, मुस्लिम चाडपर्वहरुमा र यहाको राष्ट्रिय दिवसको दिन छुटी पाईन्छ यहीको नियम अनुसार तर हाम्रो नेपाली चाडपर्बहरुमा चाही बिदा हुन्न । साउदीको राजधानी रियाद भन्दा लगभग ५ सय किलोमिटर टाढा छ । हाल म बसेको ठाउ । यहाँ त्यती धेरै नेपाली कार्यक्रमहरु हुँदैनन । हामी साथीहरु मिलेर नै चाडपर्वमा रमाइलो गर्छौं । दुताबासलाई मैले नजिकबाट नियाल्ने मौका त पाएको छैन । तर अहिले सम्म अप्रतक्ष रुपमा हेर्दा बुझ्दा राम्रै गरेको छ सबै नेपालीहरुलाई ।
सुरुमा यहाँ आउदा साह्रै नराम्रो लागेको थियो । ५०, ५५ डिग्रीको गर्मी, बिरानो मुलुक, धेरै कामदार भएको कम्पनी भएकोले लगातार बिभिन्न किसिसमा समस्याहरु आउँथे । तर अहिले त बानी परिसकेछ । आफ्नो देशमा आपत बिपत पर्दा अनी चाड पर्व आउँदा र आफु त्याहा हुन नपाउँदा मनलाई सम्हाल्न गाह्रो हुन्छ । कहिले हाँसो कहिले आँशु कहिले दु:ख कहिले सुख यसै गरी बितेछन् साउदीमा १० बर्ष । साउदी अरबमा रहेका बिभिन्न कम्पनिहरुमध्ये एक ठुलो निर्माण कम्पनी हो । नेपालबाट आउदा सिपको कमिले गर्दा लेबर भिसामा लेबर काममै लागि आएको हो ।
र, तलब पनि निकै कम थियो त्यतीबेला । तर अहिले यहाँ आएर काम सिकियो, भाषा सिकियो, धेरै कुरा सिकियो र हाल म्याटेरियल कन्ट्रोल कोर्डिनेटरका रुपमा कार्यरत छु । भनिन्छ, नेपालको कानुन दैबले जानुन् । तर म भन्छु साउदीको कानुन सबैले जानुन । साउदीको कानुन, यहाँ कामलाई गरिने सम्मान, समयको महत्वको बुझाई, महिलाप्रती गरिने इज्जत , ट्राफिक नियम, आपत बिपत पर्दा गर्ने सहयोग यहाका साह्रै राम्रा पक्ष हुन् ।
सबै भन्दा ठुलो कुरा त यहाा आएर सिप सिकियो र यो सिपले भोली कुनै पनि देशमा गएर आफु र आफ्नो परिवार पाल्न सकिन्छ जस्तो लाग्छ साथै कम्प्युटर सम्बन्धी ज्ञान, भाषाहरु, अनुशासन, कानुनको सम्मान गर्न, आफ्नो कामलाई कसरी सम्मान दिने आदी इत्यादी धेरै कुराहरु सिकियो ।