साप्ताहिक संवाददाता
प्रमोसनमा नायिका
गत शुक्रबार प्रदर्शनमा आएको चलचित्र ‘वीर विक्रम’ को प्रोमासनमा सहभागी हुन बेलायतबाट नेपाल आएकी नायिका दिया पुनलाई चलचित्रका निर्देशक मिलन चाम्स सहितको समूहले विमानस्थलमा स्वागत गरेको थियो । दियाले आफ्नो यो डेब्यु चलचित्रमा दयाहाङ राईसँग अनस्क्रिन रोमान्स गरेकी छिन् ।
निर्देशकमाथि आक्रमण
नेपालभर प्रदर्शन भैरहेको चलचित्र ‘जय परशुराम’ का निर्माता–निर्देशक रोज राणामाथि सोमबार साँझ काठमाडौंमा खुकुरी प्रहार भयो । काठमाडौंको मध्य बानेश्वरमा राणामाथि अज्ञात व्यक्तिले खुकुरी प्रहार गर्दा उनको दाहिने हातमा गम्भीर चोट लागेको बताइन्छ । घटनापछि राणालाई उपचारका लागि अस्पताल पुर्याइएको थियो । हाल उनी खतरामुक्त छन् । राणा प्यूठान जिल्ला कांग्रेसका क्षेत्रीय सभापति पनि हुन् ।
सहलेस : द पिपुल्स हिरो
१५ सय वर्ष अघिको एउटा ऐतिहासिक कथामाथि नेपाली चलचित्र निर्माण हुने भएको छ । मिथिलाका राजा सलहेसको गाथामाथि ‘सलहेस: द पिपुल्स हिरो’ शीर्षकको चलचित्र निर्माण हुन लागेको हो । सलहेस मिथिलामा राजा जनकपछिका प्रभावशाली व्यक्तित्व मानिन्छन् । उनलाई तराईको दुसाध समुदायले अहिले पनि भगवानका रूपमा पूजा गर्छ । ‘लामो समयको अनुसन्धानपछि चलचित्र निर्माण गर्ने निष्कर्षमा पुगेको निर्माता तथा अनुसन्धानकर्ता राजकुमार महतो बताउँछन् । यो चलचित्रलाई अमितेश साहले निर्देशन गर्नेछन् ।
निर्देशकको तर्क
भदौ १० गते प्रदर्शनमा आउने चलचित्र ‘शकुन्तला’ का निर्देशक दिनेश श्रेष्ठले राजेश हमाललाई पृथक शैलीमा प्रस्तुत गर्न साडी–चोलो लगाइ दिएको बताएका छन् । ‘शकुन्तला’मा हमाललाई साडी भिराउनकै लागि कथा लेखिएको जानकारी दिँदै निर्देशक श्रेष्ठले चलचित्रमा हमाल नै अभिनेता तथा अभिनेत्री दुवै भएको खुलासा समेत गरेका छन् । यो चलचित्रमा हमालसँगै किशोर खतिवडा, स्मृति श्रेष्ठ तथा अनु शाह महत्वपूर्ण भूमिकामा छन् ।
तीन राई एकसाथ
यतिबेला चलचित्र क्षेत्रमा तीन जना राईको चर्चा छ— राजेशपायल राई, दयाहाङ राई र विल्सनविक्रम राई अर्थात् दयाहाङ राई बिकाउ नायक, विल्सनविक्रम राई बिकाउ हास्य कलाकार अनि राजेशपायल राई सर्वाधिक व्यस्त गायक । यी तीन राईको त्रिवेणीलाई जापानका दर्शकले प्रत्यक्ष हेर्न पाउने भएका छन् । जापानमा हुने कार्यक्रममा सहभागी हुन यी तीन भाइ राई केही दिनअघि सँगै त्यसतर्फ लागेका छन् ।
रुचाइयो सुन्तली...
चलचित्र ‘सुन्तलीलाई भगाइ लग्यो झिल्केलाई’ ले दर्शकको प्रशंसा पाएको छ । गत शुक्रबारदेखि व्यवसायिक प्रदर्शनमा आएको यो चलचित्रलाई दर्शकले राम्रो साथ दिएको निर्माण पक्षले जनाएको छ ।