साप्ताहिक संवाददाता
भदौ २ गते राति अन्दाजी ११ बजे, २१ वर्षीया एक युवती पोखराको बिरौटाको सुनसान सडकमा हिँड्दै थिइन्, त्यही बेला उनलाई कसैले ढुंगाले हान्यो । ढुंगा लागेपछि उनी सडकमै पछारिइन् । त्यसपछि ढुंगा हान्ने व्यक्तिले उनलाई सडक किनाराको रूखको फेदमा लगेर राख्यो र आफू मोटरसाइकल चढेर फरार भयो ।
केही स्थानीय व्यक्तिले उक्त घटनाका बारेमा प्रहरीलाई जानकारी गराए पनि प्रहरीसँग ढुंगा हान्ने व्यक्तिका बारेमा अपाचे मोटरसाइकल र चस्मा लगाएको व्यक्ति भन्नेबाहेक अन्य कुनै हुलिया उपलब्ध थिएन । तैपनि प्रहरीले पोखरामा अपाचे मोटरसाइकल भएका केही शंकास्पद व्यक्तिमाथि निगरानी बढायो । अन्तत: भदौ १५ गते प्रहरीले ती युवतीमाथि ढुंगा प्रहार गर्ने व्यक्तिलाई पक्राउ गर्यो ।
प्रहरी त्यतिबेला छक्क पर्यो, जतिबेला उक्त व्यक्तिले पोखरामा राति हुँदै आएका त्यस्तै प्रकृतिका दर्जनौं घटनामा आफ्नो संलग्नता रहेको स्वीकार गर्यो । ती व्यक्ति मध्यप्रदेश (भारत) को शिवपुरी जिल्ला, महलकोलोनी घर भै पोखरामा ह्यान्डीक्राफ्टको पसल सञ्चालन गर्दै आएका ३१ वर्षीय अखिलेश झा थिए ।
गत असार २५ गते सबेरै मिलनपथ पोखराको चौरमा सिर्दीबास गोरखा घर भै पोखरा बस्दै आएकी २१ वर्षीया सुम्नी भनिने स्मृति गुरुङ अचेत अवस्थामा फेला परेकी थिइन् । टाउकोमा गम्भीर चोट लागेको अवस्थामा भेटिएकी गुरुङको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भयो । प्रहरीले उक्त घटना कसले र के कारणले गराएको हो भन्ने कुराको सुइँकोसमेत पाएको थिएन । अखिलेश पक्राउ परेसँगै अहिले कास्की प्रहरीले ठूलो राहत पाएको छ ।
स्मृति गुरुङको हत्यामा पनि तिनै अखिलेश संलग्न रहेछन् । सन्की पाराका अखिलेश चलचित्रमा देखिने दृश्यजस्तो यस्ता थुप्रै घटनामा संलग्न रहेछन्, कास्की प्रहरीका प्रवक्ता डिएसपी गजुसिद्धि बज्राचार्यले साप्ताहिकसँग भने– अखिलेश थ्रेट टु सोसाइटी अर्थात् समाजका लागि खतराका रूपमा देखिएका थिए । बेलैमा उनलाई पक्राउ गरेर अन्य घटना हुनबाट जोगाएका छौं । पक्राउ परेपछि अखिलेशले प्रहरीलाई आफूले घटना गराएका ७ वटा स्थान देखाएका थिए ।
कसरी हुन्थ्यो घटना ?
अखिलेश दिनभर पसलमा हुन्थे । उनी राति ९ बजेतिर पसल बन्द गरी मोटरसाइकल चढेर पोखराका विभिन्न स्थान डुल्थे । यस क्रममा बाटोमा एक्लै देखिएका महिलालाई राति–राति किन एक्लै हिँडेको म घर पुर्याइदिन्छु भन्थें, तर नमानेपछि त्यही हिर्काउने र कसैलाई बाटो ढुकेर ढुंगाले हान्ने गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।
घटनामा संलग्न अखिलेश मानसिक रोगी भएको प्रहरीको अनुमान छ । अखिलेशले पनि प्रहरी समक्ष– पसलमा बस्दा केही नहुने तर राति महिलाहरू एक्लै हिँडेको देख्दा दिमाग झुम्म भएर कालो मात्र देखिने र आक्रमण गर्ने सोच आउने बयान दिएका छन् । अखिलेशका बारेमा डीएसपी बज्राचार्यले भने– उसले बिनाकारण घटना गराएकाले ऊ मनोरोगी भएको देखियो । यस्ता मनोरोगीहरू समाजका लागि ठूलो खतरा मानिन्छन् । अहिले राति मात्र त्यस्ता घटना भए पनि पछि जहाँ पनि र जहिले पनि यस्ता व्यक्तिको एकै छिनको सनकमा मानिसहरू हत्यासम्मको सिकार हुन सक्ने अवस्था थियो तर अब त्यस्तो जोखिम टरेको छ ।
अखिलेशले मिलनपथ, प्रदर्शनी केन्द्र, नयाँबजार, बगालेटोल, शिवालय चोक, बिरौटालगायत सात ठाउँमा घटेको घटनामा आफ्नो संलग्नता भएको स्वीकार गरेका छन् । पीडितहरू जाहेरी लिएर आउने क्रम जारी रहेकाले यस्ता घटना अन्यत्र पनि घटेको हुन सक्ने प्रहरीको अनुमान छ ।
अविवाहित अखिलेश ८ वर्षदेखि पोखरामा बस्दै आएका थिए । केही समय उनले अर्काको पसलमा काम गरेका थिए भने विगत चार वर्षदेखि आफैंले पसल सञ्चालन गर्दै आएका थिए । अहिले प्रहरीले अखिलेशविरुद्ध कर्तव्य ज्यान मुद्दाको कारबाही अघि बढाएको छ ।
आक्रमणको सिलसिला
मिति पीडितको उमेर स्थान
पुस ७ १८ इन्द्रपुरी टोल
माग १६ ४० मालेपाटन
फागुन ५ २० ठाडोपसल
फागुन १२ ३५ बिरौटा
फागुन १४ २१ पोखरा–७
फागुन १५ ३० पोखरा–५
चैत २२ ३१ पोखरा–७
वैशाख १७ २८ पोखरा–१७
वैशाख २५ २६ पोखरा–७
जेठ २४ २१ पोखरा–८
असार १ ३८ पोखरा–१७
असार १० ४६ पोखरा–७
असार २२ ४० पोखरा–८
साउन १४ १६ पोखरा–१७
भदौ २ २१ पोखरा–१७
भदौ १० २२ पोखरा–६