१.
ए, भन भन भाइ हो, के भन्ने ?
कानुनको शासन, ले भन्ने
भ्रष्टलाई दण्ड, दे भन्ने
नेपाली जनता, हे भन्ने
लोकतन्त्रलाई, हाई भन्ने
लोकमानतन्त्र, नाइँ भन्ने
भ्रष्टतन्त्र, बाई भन्ने
ए, राम्ररी भन, के भन्ने ?
जनताको तन्त्र, ले भन्ने ।
२.
ए, दक्षिणी हस्तक्षेप, नो भन्ने
उत्तरी दलाली, भो भन्ने
खराब राजदूत, गो भन्ने
दबाब दिने, को भन्ने ?
विदेशको खुराकी, भरेर
स्वदेशको सुराकी, गरेर
कूटनैतिक जालमा, परेर
शत्रुको कान, भरेर
लुटको बीउ, छरेर
भ्रमको खेती गरेर
भन भन भाई, को भन्ने
विदेशी हस्तक्षेप, भो भन्ने ।
३.
ऐ, खाल्डे बाटो, लड्दै–पड्दै
गल्लीमा पस्दै, खाल्टामा खस्दै
फोहोर सुङ्दै, पोलमा ठुङ्दै
भित्ता छाम्दै, थर्थर काम्दै
धूलो–धूवाँ खाँदै, नर्कलोक जाँदै
मिसावट खाँदै, हस्पिटल जाँदै
महँगीले थिच्दै, तालुमा मिच्दै
लोडसेडिङ खेप्दै, समस्या थप्दै
देशी ऋण फस्दै, धितोमा बस्दै
देउसिरे भन्दै, नाच्दै आयौं
नक्कली हाँसो, हाँस्दै आयौं ।
४.
केराको थम्बा, चार भाइ जम्मा
आन्दोलन बन्द, नदिए चन्दा
धम्कीको धन्दा, त्रासको गन्ध
छर्दै र छोड्दै, आएका हामी
यहाँ मात्र होइन, सारा संसार
ठेकेदारदेखि, एयरपोर्ट भन्सार
चिहाउनुपर्छ, भ्याउनुपर्छ
ए भन भन भाइ हो, देऊ छिटो
ए जोडले भन, देऊ छिटो ।
५.
हामी त्यसै आएनौं, खानेकुरा खाएनौं
नखाने कुरा छोडेनौं, लाउने कुरा लाएनौं
विदेशी संस्कृति हुलेर, स्वदेशी संस्कार भुलेर
डांगडुंगे संगीत बजाउँदै, लोकगीतसँग लजाउँदै
देउसिरे भन्दै उफ्रिने, उफ्राईले ढाड कुप्रिने
भन भन ब्रोहरू देउसिरे, भन भन सिस्हरू देउसिरे ।
६.
भैलिनी आइन् आँगन, वाईफाईको पासवर्ड माग न
हे औंसी बारो गाईतिहारो, वाईफभन्दा वाईफाई प्यारो
जसले दिन्छ पासवर्ड, त्यसको घरमा पैसाको बोट
जसको घरमा इन्टरनेट, हुन्छ धेरैसँग भेट
जसको फ्रेन्डलिस्ट लामो, त्यसको सुनको छानो
जसको लाइक धेरै, त्यसको गर्लफ्रेन्ड मेरै
जसले गर्छ सेयर, त्यसले पिउँछ बियर
हे औंसी बारो, पासवर्ड फेला पारो, भैलो ।
७.
ए झिलीमिली झिल्ला, रातो पासपोर्ट मिल्ला
रातो पासपोर्ट बेचेर, रक्सी खाउँला टिल्ल
ए कूटनैतिक भिसा, दुई–चार जना मिसा
दस–दस लाख उठा, पैसाका मुठा
एयरपोर्टमा घुसा, कमिसनका मुसा
अमेरिका लैजा, छोडेर आइज
युरोपमा छिरा, पन्ध्र लाख तिरा
भिआइपी बन, कमाउँदै धन
रोज–रोज भाइ हो, राम्ररी रोज
विदेश लगेर छोड्ने, मन्त्रीलाई खोज ।
८.
ए, सयपत्री फूल, किन्नलाई डुल
एउटाको हजार, महँगो भो बजार
बाँझो छ वारि, फूल किन्ने पारि
मखमली माला, पैसा पारि जाला
निधारमा टीका, कलर छ फिका
नक्कली माल, ठगिने चाल
भन भन भाइ, भारततिर धाइयो
फूलमाला किन्न, छिन्न र भिन्न ।
९.
कालोमा छुँदा कलर होस्, रुपियाँ छुँदा डलर होस्
खेतबारी सबै घडेरी होस्, दलालको सधैं खडेरी होस्
छोरा र छोरी विदेशतिर पसून्, बाबु–आमा देशमै बसून्
महँगीले कहिल्यै नठोकोस्, शरीरले रोग नबोकोस्
दु:ख भागोस् डराउँदै, अभाव र गरिबी भगाउँदै
नेताको जिब्रो एउटै होस्, राम्रो नेता देउतै होस्
लेकको काने, औलको माने, आशिष दिन, यति नै जानें ।