साप्ताहिक संवाददाता
उत्तर पाकिस्तान तथा दक्षिण अफगानिस्तानमा बसोबास गर्ने पस्तुन समुदायमा बट्टाई चराको भिडन्त गराउने परम्परागत संस्कार छ । पस्तुनहरूले दुई हजार वर्षभन्दा अघिदेखि बट्टाईको भिडन्त गराउँदै आएको इतिहास छ ।
पहिले सामाजिक सान तथा मर्यादाका लागि बट्टाईको भिडन्त गराइन्थ्यो भने अहिले त्यो नगद पुरस्कार जित्ने अवसर दिलाउने खेलमा परिणत भएको छ । एक दशकअघि अफगानिस्तानमा तालिवानले आफ्नो पकड कायम गरेपछि बट्टाई भिडन्तमा प्रतिबन्ध लगाएको थियो । तालिवानको पतनसँगै यो खेल अहिले फेरि बौरिँदै आएको छ । पाकिस्तान तथा अफगानिस्तानको सीमा क्षेत्रमा बट्टाईको भिडन्त गराउन बुढापाकाहरू अझै पनि युवा जोशका साथ उपस्थित हुन्छन् । बट्टाई भिडन्तको एउटा खालमा लाखौं रुपैयाँको बाजी लाग्ने गरेको छ । यस्तो भिडन्तमा जित्ने बट्टाई पालकले पैसा मात्र होइन, इज्जतसमेत कमाउँछन् ।