साप्ताहिक संवाददाता
गायक, संगीतकार तथा गीतकार शम्भुजित बासकोटालाई सुनसरीको इटहरीमा सार्वजनिक अभिनन्दन गरिएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपतिसमेत रहेका बासकोटालाई राष्ट्रिय जागृति क्लब इटहरीको स्वर्णवार्षिकोत्सवका अवसरमा आयोजित समारोहबिच अभिनन्दन गरेको हो ।
संघले संगीतकार बासकोटाले साढे चार दशकभन्दा लामो समयदेखि नेपाली संगीतको अन्तर्राष्ट्रियस्तरमा गरिमा बढाउन योगदान पुर्याएको भन्दै उनलाई सार्वजनिक अभिनन्दन गरिएको जनाएको छ । क्लबका अध्यक्ष सञ्जिव ढुंगानाको सभापतित्वमा सम्पन्न कार्यक्रममा बासकोटालाई विभिन्न राजनैतिक दलका नेताहरुका बिच सांसद कल्पना चौधरीले अभिनन्दनपत्रद्वारा अभिनन्दन गरेकी थिइन् ।
लोक नृत्य प्रतियोगिता एवं स्रष्टा सम्मान कार्यक्रममा कलाकार नीलम ढुंगाना, गजलकार टीका आत्रेय, समाजसेवी रामबहादुर ताल्चा भण्डेला, नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष बेदराज पौडेल र सचिव बाबुराम सुवेदीलगायतलाई सम्मान गरिएको थियो । नृत्य प्रतियोगितामा नागी डान्स सेन्टर प्रथम, सेभेन स्टार क्लब द्वितीय र लक्ष्मी डान्स सेन्टर तृतिय भएका छन्। विजयीहरुलाई पुरस्कारस्वरुप क्रमश: १२, ८ र ५ हजार रुपैंयाँ नगद प्रदान गरिएको छ ।