साप्ताहिक संवाददाता
लामो समयदेखि नेपाली फुटबलसँग कुनै न कुनै रूपमा जोडिएको नाम हो— राजुकाजी शाक्य । राजुले राष्ट्रिय खेलाडीदेखि कप्तानसम्मको भूमिका निर्वाह गरे । अहिले उनी प्रशिक्षकको भूमिकामा छन् । नेपालले भारतमा भएको दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलमा स्वर्ण पदक जित्दा राजु मुख्य प्रशिक्षक थिए । नेपालले मलेसियाको कुचिङमा सम्पन्न एएफसी सोलिडारिटी कप जित्दा उनी टिमका प्रशिक्षक थिए । त्यही प्रतियोगिता र अहिलेको नेपाली राष्ट्रिय टिमसँग जोडिएर शाक्यसँग गरिएको तीन प्रश्न :
नेपालले समय लगातार तीन प्रतियोगिता जितेको छ । यसको प्रमुख कारण के हुन सक्छ ?
यो नतिजा लामो समयको मेहनतबाट प्राप्त भएको हो । एकै दिनमा यस्तो नतिजा आउँदैन । यसका लागि अखिल नेपाल फुटबल संघ (एन्फा), क्लब तथा खेलाडीहरूले धेरै मेहनत गरेका छन् । यस्तै नतिजा हाम्रो पालोमा आएन । त्यसपछिको पुस्ताको पालोमा पनि आएन, तर अहिले सुखद नतिजा प्राप्त भएको छ । यो सबै लामो समयको योजनाका कारण सम्भव भएको हो । एउटा तथ्य के भने यस्तो राम्रो नतिजाका लागि हामीले लामो समय कुर्नुपर्यो ।
अहिलेको टिममा युवा खेलाडीहरूको बाहुल्य छ, यो टिम कतिसम्म अघि बढ्न सक्छ ?
टिममा परिवर्तन भैरहन्छ र यो स्वभाविक पनि छ । हाम्रो सफलताको एउटा प्रमुख कारण यिनै युवा पुस्ताका खेलाडी हुन् । यो टिममा पनि अहिले केही परिवर्तन आवश्यक भैसकेको छ । यसका खेलाडी बढी उमेरका भए । यस्तो परिवर्तनका लागि हाम्रो उमेर समूहको फुटबल पनि बलियो हुनुपर्छ । जस्तो, यू–१४, यू–१६ र यू–१९ को फुटबल पनि बलियो हुुन पर्छ । हामीसँग राष्ट्रिय टिमसँगै उत्तिकै क्षमताको दोस्रो रोजाइको टिम पनि हुनु पर्छ ।
अहिलेको टिमको राम्रा–नराम्रा पक्ष के–के हुन् ?
अहिलेको टिमको सबैभन्दा राम्रो पक्ष हो— हामीले गोल गर्न थालेका छौं । गोल स्कोरिङ पावर बढेको छ र त्यसै कारण यो सुखद नतिजा सम्भव भएको हो । फुटबलमा सिक्ने काम कहिल्यै सकिँदैन । हाम्रो फुटबलले पनि सिक्न बाँकी धेरै छ । हालै जापानी टिम मैत्रीपूर्ण खेलका लागि नेपाल आएको थियो । काठमाडौंमा जापानी खेलाडीले जसरी फुटबल खेले, त्यो निकै राम्रो थियो । बलमा नियन्त्रण तथा पासलाई लिएर पनि हामीले धेरै कुरा सिक्न बाँकी नै छ ।