सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेको छ । पार्टीहरू प्रस्तावको समर्थनमा तँछाड र विरोधमा मछाड गर्दैछन् । गजुरियल विश्लेषक भने तेस्रो प्रस्ताव दर्ता गर्दैछ, नियत संशोधनको प्रस्ताव । संविधान संशोधन गर्नु वा गर्न नचाहनुको भित्री नियत संशोधन नगरेसम्म संविधान संशोधनले मुलुकको मूल समस्यालाई सम्बोधन गर्न सक्दैन भन्ने गजुरियल ठम्याइ छ । आशा छ, जनताको संसद्ले नेताको नियत संशोधनमा प्रभावकारी दबाब दिनेछ ।
विश्लेषक सानो दिमागले देख्दैछ, संशोधन दर्ता गर्नेको पनि नियत प्रस्ट छैन । संशोधनको विरोध गर्नेको पनि नियत स्पष्ट देखिंदैन । समर्थन गर्नेको पनि शंकास्पद छ । संशोधनको सुझाव दिने मित्रहरूको नियतमा पनि स्वार्थ देखिन्छ । अलमल्याउने मित्रराष्ट्रमा अनौठा विरोधाभास देखिन्छ । त्यसैले संविधान संशोधनभन्दा पहिले सबैले सरोकारवालाहरूको नियत संशोधन गर्नुपर्ने गजुरियल ठम्याइ छ ।
दुनियाँलाई थाहा भएको कुरा हो, बलियो राष्ट्रले कमजोरलाई आफ्नो इसारामा चलाउन चाहन्छ । जसले पनि सबैभन्दा पहिलो आफ्नो देशको हित हेर्छ । त्यसैले होला, संविधान संशोधनमा भारतको धेरै रुचि देखिएको छ । भारतको नियत प्रस्ट छ, नेपालको संविधान आफूअनुकूल भएमा चलखेल गर्न सजिलो हुन्छ ।
गजुरियल विश्लेषक भन्छ, हाम्रो संविधान संशोधनभन्दा पहिले भारतले आफ्नो नियत संशोधन गर्यो भने दुवै देशलाई फाईदा हुन्छ । एउटा मान्छेलाई त आफूजस्तो बनाउँछु भन्दा सकिंदैन भने सिंगै देशलाई आफ्ना इसारामा नचाउने कुरा प्राकृतिक धर्म विपरीत हो । नेपाल स्वविवेकले जसरी चल्छ त्यसमा भारत सहयोगी भैदिने हो भने सिंगै दक्षिण एसियाको हित हुने गजुरियल ठम्याइ छ ।
संशोधनको विरोध गर्ने एमालेले पनि आफ्नो नियत प्रस्ट गर्नु जरुरी छ । संविधान संशोधनको मुद्दामा प्रचण्डलाई सिध्याएरै छाड्ने सोच हो भने त्यो नियत संशोधनको प्रस्ताव गरिन्छ । प्राकृतिक धर्मले भन्छ, सृष्टिमा केही पनि समाप्त हुँदैन, त्यसको रूपमात्र बदलिन्छ । यो मुद्दामा माओवादीलाई नङ्ग्याउन पाए आफ्नो पार्टी बलियो हुन्छ भन्ने नियत संशोधन एमालेको मुख्य एजेन्डा हुनुपर्ने गजुरियल ठम्याइ छ ।
एमाओवादीको नियत संशोधन अर्को मूल मुद्दा हो । खिइँदै गएको पार्टीलाई बलियो बनाउने नाउँमा ‘राष्ट्रिय एकता’ कमजोर हुने गरी सीमांकनको कच्चा खेल नखेल्नु एमाओवादी र देश दुवैको हितमा छ । संविधान संशोधनको कलेवरमा मधेसवादीको मन जित्ने र भारतको प्यारो बन्ने नियतलाई तुरुन्तै संशोधन गर्नुपर्ने गजुरियल ठम्याइ छ ।
मधेसवादीको नियत संशोधन अर्को प्रमुख एजेन्डा हो । संविधान संशोधन गरेपछि मुख्यमन्त्री बन्न पाइएला भन्ने लोभी नियतलाई क्षमा गर्न सकिएला तर आफूअनुकूल संशोधन गर्नाले देशको होइन, विदेशको हित हुन्छ र त्यो हितले मलाई पनि फाइदा पुग्छ भन्ने नियत संशोधन गर्नु जरुरी छ । नागरिकता, सीमांकन, प्रतिनिधित्वको सवाल ठूलो होइन, जति संशोधन गरे पनि हुन्छ तर त्यो संशोधनले मधेसका जनताको जीवनस्तर उठाउँछ कि नेताको आर्थिक हैसियतमात्रै बढाउँछ, प्रस्ट हुन जरुरी छ ।
कांग्रेसको नियतको त के कुरा गर्नु, पार्टीकै सांसद चन्द्र भण्डारीले भनिसके, म भोट हाल्दिनँ । सशांकलाई हिन्दूराष्ट्र चाहिने, विमलेन्द्रलाई मधेस प्रान्त चाहिने, शेरबहादुरलाई अखण्ड सुदूर पश्चिम चाहिने । गगन थापालाई गणतन्त्र नेपाल चाहिने । पार्टी एउटै भए पनि प्रत्येक नेताका नियत फरक छन् । उनीहरूले सबैभन्दा पहिले आफ्नो लाइन प्रस्ट पार्न सके उनीहरूको खास नियत बुझ्न सजिलो हुन्थ्यो ।
गजुरियल विश्लेषक भन्छ, अहिलेको समस्या संविधान संशोधन होइन । संशोधनको विरोध पनि मूल समस्या होइन । समयअनुसार देशको संविधान मात्र होइन, प्रकृतिको विधान पनि संशोधन हुन सक्छ । मुख्य कुरा, नियतको हो ।नेताहरूको नियत प्रस्ट हुने हो भने जनताले पनि प्रस्ट बुझ्ने थिए ।