साप्ताहिक संवाददाता
चलचित्र ‘प्रेमगीत २’ को छायांकन सुरु भएको छ । चावहिल गणेश मन्दिरमा पूजाअर्चना सहित शुभसाइत गरिएको छ । अबको दुई महिना नेपाल सहित विदेशी रमणीय थलोमा यो कस्मोपोलिटन लभस्टोरी फिल्मांकन हुनेछ ।
दुई करोड रुपैंयाँ बजेटको प्रोजेक्टलाई रामशरण पाठकले निर्देशन गर्दैछन् । आशुसेन ब्यानरको यो तेस्रो सिनेमा हुनेछ । यसअघि चंखे शंखे पंखे र प्रेमगीतले बक्स अफिसमा आफूलाई स्थापित गरिसकेका छन् । निर्माता सन्तोष सेनले सिनेमालाई स्तरिय बनाउन कोशिष गर्ने बताए । ‘मेकिङलाई क्वालिटी तुल्याउनेतर्फ हामी केन्द्रित छौं’ उनले भने ।
चलचित्रमा प्रदीप खड्का, अश्लेष ठकुरी, भुवन चन्द, श्रद्धा प्रसाई, कैलाश कट्वाल, राजाराम पौडेल, प्रशान्त घिमिरे, संगीता नापित, कविता रेग्मी, कुमार कार्की, मुक्तबाबु आचार्य र सौरभ क्षेत्री कलाकार हुन् । डेब्यु एक्ट्रेस ठकुरीले सिनेमालाई लिएर उत्साहित भएको बताइन् ।
काठमाडौं, रारा ताल, लुम्बिनी, थाइल्यान्डको पताया र बैंकक हुँदै नेपालीभाषीको बसोबास रहेको म्यानमारको रंगुनलगायतका थलोमा चलचित्रको छायाँकन हुनेछ । आशुसेन फिल्मका जनसम्पर्क अधिकृत रेशम शाहका अनुसार दोस्रो विश्वयुद्धदेखि तत्कालिन बर्मा (म्यानमार) मा बस्दै आएका नेपालीलाई सांस्कृतिक र भावनात्मक सम्बन्ध गाँस्ने कडीको रुपमा प्रेमगीत २ स्थापित हुने विश्वास छ ।
फिल्ममा रिनशा राईको नृत्य, अष्ट महर्जनको द्धन्द्ध, पुरुषोत्तमप्रधानको छायांकन समावेश हुनेछ । यसपटक प्रेमगीतको दोस्रो संस्करणलाई लिएर दर्शकमाझपर्खाइ छ । आगामी भदौमा रिलिज डेट लक्ष्य राखिएको छ ।