साप्ताहिक संवाददाता
सामाजिक सञ्जाल यु–ट्युब अहिले निकै फस्टाएको छ । यु–ट्युबको पछिल्लो रिपोर्टअनुसार यसका करिब १ अर्बभन्दा बढी प्रयोगकर्ता छन् । तीमध्ये ८० प्रतिशतभन्दा बढी प्रयोगकर्ता अमेरिकाबाहिरका छन् । मासिक ६ अर्ब घण्टा भिडियो हेरिने यु–ट्युबमा दैनिक हजारौंको संख्यामा विभिन्न प्रकारका भिडियो अपलोड हुन्छ । यसरी अपलोड गरिएका भिडियोमध्ये कतिपय निकै भाइरल हुने गरेको छ, जसले एकातिर यु–ट्युबको बजार विस्तार भैरहेको छ भने अर्कातिर प्रयोगकर्ताहरूले पनि राम्रै आम्दानी गरिरहेका छन् । यु–ट्युबले सन् २०१६ मा अपलोड गरिएका भिडियोहरूमध्ये सर्वाधिक हेरिएका म्युजिक भिडियो तथा अन्य भिडियोको सूची सार्वजनिक गरेको छ ।
1. फिफ्थ हार्माेनीको वर्क फ्रम होम
अमेरिकी युवतीहरूको समूह फिफ्थ हार्मोनीको प्रस्तुति वर्क फ्रम होम यो वर्ष यु–ट्युबमा सबैभन्दा बढी हेरिएको छ । २६ फेब्रुअरी २०१६ मा अपलोड गरिएको यो भिडियो अहिलेसम्म १ अर्ब १९ करोड ४५ लाख ७० हजार ९ सय १२ पटक हेरिसकिएको छ । जुलाई २०१२ मा गठन भएको यो समूहमा एल्ली ब्रोक, नर्मनी कोर्डेइ, डिन्ह जभन, क्यामिला क्याबेल्लो तथा लुरेन्स छन् । यो भिडियोले टिन च्वाइस एवार्ड समेत जितेको थियो ।
2. काल्भिन ह्यारिसको दिस इज ह्वाट यु केम फर
काल्भिन ह्यारिसको नामले चिनिने एडम रिचार्ड वाइल्सको दिस इज ह्वाट यु केम फर भिडियो २०१६ मा सर्वाधिक हेरिएका मध्ये दोस्रो नम्बरमा छ । रिहानाले अभिनय गरेको यो भिडियो अहिलेसम्म १ अर्ब ४ करोड ५४ लाख ४३ हजार ५ सय ९४ पटक हेरिएको छ । यो भिडियोले एमटिभी भिडियो म्युजिक एवार्ड समेत प्राप्त गरेको थियो ।
3. निक्की जामको हस्टा एल एमानेसर
गायिका तथा गीतकार निक्की जामको हस्टा एल एमानेसर भिडियो पनि यो बर्ष निकै चर्चामा रह्यो । १४ जनवरीमा अपलोड गरिएको यो भिडियो अहिलेसम्म ८८ करोड ३० लाख ६३ हजार ९३८ पटक हेरिएको छ । यो भिडियो लु न्यूएस्ट्रो एवार्डका लागि मनोनीत भएको थियो ।
4. चेन स्मोकर्सको क्लोजर
द चेन स्मोकर्स ग्रुपको क्लोजर नामक भिडियो यो सूचीको चौथो स्थानमा छ । २९ जुलाई २०१६ मा अपलोड भएको यो भिडियो अहिलेसम्म ८३ करोड ६३ लाख ८० हजार ४ सय ४७ पटक हेरिएको छ । यो समूहमा एन्ड्री टाग्गार्ट, एलेक्स पल, र्हेट बिक्लर आदि छन् । यो भिडियो ग्रेमी एवार्डका लागि समेत मनोनयनमा परेको थियो ।
5. रिहान्नाको वर्क
रिहान्नाको वर्क एक्सप्लिसिट शीर्षकको भिडियो अहिलेसम्म ७९ करोड ९२ लाख ६२ हजार २ सय ४९ पटक हेरिएको छ । यो भिडियो २२ फेब्रुअरीमा अपलोड भएको थियो ।
6. माइक पोस्नरको आइ टुक अ पिल इन इबीजा
२६ फेब्रुअरीमा अपलोड भएको गीतकार तथा गायिका माइक पोस्नरको आइ टक अ पिल इन इबिजा नामक भिडियो अहिलेसम्म ७० करोड ७० लाख ४८ हजार १ सय २१ पटक हेरिएको छ । यो भिडियो एमटिभी भिडियो म्युजिक एवार्डका लागि मनोनयनमा परेको थियो ।
7. साइयाको चिप थ्रिल्स
अस्ट्रेलियन गायिका साइयाको चिप थ्रील्स भिडियो यो सूचीको सातौं स्थानमा छ । १० फेब्रुअरी २०१६ मा अपलोड भएको यो भिडियो दिस इज एक्टिङ एल्बममा समावेश छ । मच म्युजिक भिडियो एवार्डको मनोनयनमा पर्न सफल यो भिडियो अहिलेसम्म ६८ करोड ८४ लाख २३ हजार ६७ पटक हेरिएको छ ।
8. जाइयनको पिल्लो टक
अमेरिकी कलाकार जाइयनको पिल्लो टक शीर्षकको भिडियो अहिलेसम्म ६५ करोड १८ लाख ६६ हजार ७ सय १४ पटक हेरिएको छ । माइन्ड अफ माइन एल्बममा समावेश यो भिडियो २८ जनवरी २०१६ मा अपलोड भएको थियो ।
9. कोल्ड प्लेको हाइम्न फर द विकेन्ड
सन् १९९६ मा स्थापना भएको ब्रिटिस रक ब्याण्ड कोल्डप्लेले गत २९ जनवरीमा सार्वजनिक गरेको हाइम्न फर द विकेन्ड नामक भिडियो यो सूचीको नवौं स्थानमा छ । अ हेड फूल अफ ड्रिम्स एल्बममा समावेश यो भिडियोमा कलाकार बियोन्सले मूख्य भूमिका निर्वाह गरेकी छिन् । बीबीसी म्युजिक एवार्ड फर सङ अफ द इयरको नोमिनेसनमा पर्न सफल यो भिडियो अहिलेसम्म ६२ करोड ४५ लाख ९३ हजार ५ सय ४२ पटक हेरिएको छ ।
10. ट्वेन्टी वान पाइलट्सको हेथेन्स
अमेरिकी ब्यान्ड ट्वेन्टी वान पाइलट्सको हेथेन्स नामक भिडियो २१ जुन २०१६ मा अपलोड गरिएको थियो । सुसाइड स्क्वाड एल्बममा समावेश यो भिडियोले एमटिभी भिडियो म्युजिक एवार्ड फर रक भिडियो एवार्ड समेत जितेको थियो । ग्रेमी एवार्डका लागि समेत नोमिनेसनमा परेको यो भिडियो अहिलेसम्म ४९ करोड १ लाख ३५ हजार ३६ पटक हेरिएको छ