‘नामै काफी छ’ भन्ने एउटा विज्ञापनको स्लोगन सर्वसाधारणमाझ लोकप्रिय छ । दीपकराज गिरीको व्यक्तित्वमा उक्त स्लोगन ठ्याक्कै मेल खान्छ । वास्तवमा दीपकराज गिरी भन्नेबित्तिकै उनको नामै काफी छ, धेरै कुरा बताइरहनै पर्दैन । नेपाली चलचित्रको इतिहासमा सर्वाधिक आम्दानी गर्न सफल चलचित्र ‘छक्का पञ्जा’ का अभिनेता तथा निर्माता दीपकराज गिरीले रेडियो, टेलिभिजनदेखि चलचित्रको पर्दामा समेत आफ्नो प्रभाव प्रमाणित गरिसकेका छन् ।
कुनै बेला रेडियो नेपालका नाटकमा अभिनय गर्ने दीपकराज नेपाली टेलिभिजन इतिहासकै सबैभन्दा सफल हास्यश्रृंखला ‘तीतो सत्य’ का कारण पनि लोकप्रिय छन् । ६ एकान ६ मार्फत चलचित्रको निर्माण तथा अभिनयमा सक्रिय भएका दीपकराजले त्यसपछि ‘वडा नम्बर ६’ तथा ‘छक्का पञ्जा’ मार्फत आफ्नो क्रेज स्थापित गरिसकेका छन् । छक्का पञ्जापछिको प्रोजेक्टका बारेमा सोच्न नभ्याएका दीपकराजले साप्ताहिकमार्फत आफ्ना केही सेक्रेट सार्वजनिक गरेका छन् ।
रेडियो जक्की
हुन त यो सेक्रेट होइन, तर म अहिले पनि रेडियो कान्तिपुरमा रेडियो जक्कीका रूपमा साताको दुई दिन कार्यक्रम सञ्चालन गरिरहेको छु भन्ने कुरा धेरैले पत्याउँदैनन् । रेडियो कान्तिपुरको पुरानो कार्यक्रम ‘नो टेन्सन’ सुन्ने श्रोताहरूलाई भने यो कुरा नौलो लाग्दैन । शनिबार दिउँसो प्रसारण हुने चलचित्रको काउन्टडाउन कार्यक्रम पनि चलाइरहेको छु ।
असइ
म जम्मा चार दिनका लागि प्रहरी सहायक निरीक्षक (असई) भएको थिएँ । रेडियोमा आउनुभन्दा अघि नै म प्रहरीमा भर्ना भएको थिएँ । पहिलो चार दिनको प्रशिक्षण नै यति कठोर लाग्यो कि म त्यहाँ टिक्न नसकेर टाप ठोकें । प्रहरी अधिकृत बन्ने रहरले भर्ना त भएको थिएँ तर प्रशिक्षणको कठोरताका कारण म त्यहाँबाट टाप ठोक्न बाध्य भएँ ।
मास्टर
प्रहरीमा भर्ना हुनुभन्दा अघि म मास्टर थिएँ । भक्तपुरको झौखेलस्थित एउटा बोर्डिङ स्कुलको शिक्षकका रूपमा काम गरेको अनुभव छ मसँग । मास्टरीमा पनि म फेल भएको व्यक्ति हुँ । मैले पढाएका सबै विद्यार्थी फेल त भएनन् तर यो पेसाबाट वाक्क भएपछि पढाउन छाडिदिएँ । नेपाली र अंग्रेजी विषय पढाए पनि मास्टरी पेसामा म कहिल्यै रमाउन सकिनँ ।
स्वास्थ सहायक
प्रहरी र मास्टरी पेसामा आउनुभन्दा अघि मैले स्वास्थ सहायकका रूपमा काम गरेको थिएँ । त्यो जागिर त झनै झुर थियो । ट्युबरक्लोसिस कन्ट्रोल प्रोजेक्टमा जुनियर हेल्थ वर्करका रूपमा काम गर्ने क्रममा गाउँ–गाउँ पुगेर बिरामीको खकार संकलन गरेर ल्याउनुपथ्र्याे । अरु खराक फ्याँक्छन्, मैले चाहिं अरू मानिसको खकार संकलन गरेर ल्याउनुपर्ने जागिर खाएको थिएँ, आफैं सोच्नुस्, कति गाह्रो थियो ?
सलमान खान
हिन्दी चलचित्र हेर्ने प्राय: सबै दर्शक सलमान खानको फ्यान छन्, म पनि हुँ । एउटा फ्यानकै नाताले चलचित्र ‘६ एकान ६’ मा मैले सलमान खानको चरित्र निर्वाह गरेको थिएँ । त्यस क्रममा हरेक रात सलमान खानका थुप्रै गीत हेरेर सुत्थें । बिहान उठेपछि पनि उनकै गीत हेर्थें । कतिसम्म भने श्रीमतीले समेत मलाई ‘सलमानजी भात खान आउनुस्’ भनिन् । राति सुत्दासमेत सलमानकै जस्तो शरीर तनक्क तन्काएर, हल्का फुलाएर सुत्ने बानी परेको थियो ।
राजा
चलचित्र ‘छक्का पञ्जा’ मा मैले राजाको भूमिका निर्वाह गरेको छु । उक्त भूमिकाका लागि मैले आफू नजिकका एक जना मित्रको चरित्रलाई उतारेको छु । चलचित्रको पर्दामा राजाको भूमिकाका लागि मैले वास्तविक जीवनकै राजाको नक्कल गरेको छु । ती मित्र हुन्– अनुराग कुँवर । अहिले चलचित्र सफल भएपछि अनुरागले म्यासेन्जरमार्फत मसँग रोयल्टीको दावी गरिरहेका छन्, मैले केही जवाफ दिइरहेको छैन ।
सुरजसिंह ठकुरी
छक्का पञ्जाको चरित्रका लागि मैले अनुराग कुँवरसँग लामै संगत गरें । राजाले लगाउने पहिरनका लागि भने मैले लोकप्रिय टेलिभिजनकर्मी सुरजसिंह ठकुरीलाई फलो गरें । उनले वास्तविक जीवनमा लगाउने पहिरन नै राजाको जस्तो हुन्छ । बुलेट बाइकमा चढ्ने राजाको पहिरन वास्तविकतासँग नजिक हुनुपर्छ भन्ने लागेर मैले ड्ेरसअपका लागि सुरजसिंह ठकुरीलाई फलो गरेको हुँ । सुरजले लगाउने जस्तै पहिरन डिजाइन गरेर नै तयार पारिएको हो ।