साप्ताहिक संवाददाता
पुस १५, २०७३
पोखरा यतिबेला अंग्रेजी नयाँ वर्ष–२०१७ को स्वागत गर्न आतुर छ । नयाँ वर्ष मनाउन पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न यसपटक पनि विभिन्न कार्यक्रम आयोजित हुँदैछन् । ४ लाख ५० हजार पर्यटक पोखराको लेकसाइडमा आयोजित नयाँ वर्ष विशेष कार्यक्रममा सहभागी हुने अपेक्षा गरिएको पर्यटन व्यवसायी गोपीबहादुर भट्टराई बताउँछन् ।
अहिले लेकसाइडको आसपासमा रहेका ठूला तथा साना होटलको अकुपेन्सी ८० प्रतिशत नाघिसकेको छ भने मुख्य पर्यटकीय क्षेत्र लेकसाइड झिलिमिली छ । क्रिसमसदेखि नै झकिझकाउ लेकसाइड नयाँ वर्षको मुख्य दिन नजिकिँदै जाँदा थप उज्यालो भएको छ । नयाँ वर्षको अवसरमा यहाँका व्यवसायीले रेस्टुराँको नियमित मेनुमा १५ प्रतिशतसम्म तथा होटलमा २० प्रतिशतसम्म छुटको व्यवस्था गरेको रेवान पोखराका अध्यक्ष चौ बहादुर गुरुङले बताएका छन् ।
- शनिबार न्यू इयर इभमा दर्शककहरू होटल फूलबारी रिसोर्टमा अभय एन्ड द स्टिम इन्जन्सको प्रस्तुतिसँगै झुम्न पाउनेछन् ।
- कैलाश रिसोर्ट लेकसाइडमा कालि प्रसाद बाँसकोटाको लाइभ म्युजिक, कल्चरल डान्स तथा डिजे छेवाङको डिजे सेसन आकर्षणमा रहनेछ ।
- खहरेस्थित औरोरा ब्रोयल्समा अल्बाटोस ब्यान्डका साथमा डिजे किच्चाले मनोरञ्जन प्रदान गर्नेछन् ।
- क्लब ओजनमा डिजे कान्छी, डिजे मिगुल, डिजे रस तथा भिडियो डिजे लामाको प्रस्तुतिसँगै नयाँ वर्षको स्वागत गरिनेछ ।
- स्पोर्टबारले नयाँ वर्षको अवसरमा विशेष पार्टीको आयोजना गरेको छ ।
- रेस्टुरेन्ट एन्ड लाउञ्ज बारमा फेसन नाइट सञ्चालन हुनेछ ।